टेलिकमले हटाएको छैन सापटी सेवा, ‘आवश्यक परे यसो गर्नुस्’

  २०७५ चैत ५ गते १४:५६     नबिन पोखरेल

काठमाडौ । नेपाल टेलिकमले सापटी सेवामा परिमार्जन गरेको छ । ग्राहकले ईच्छाएको अवस्थामा मात्र सेवा प्रदान गर्ने उद्देश्यले टेलिकमले यस्तो योजना ल्याएको हो ।

‘आवश्यक पर्दा तथा चाहेको अवस्थामा सापटी सेवा राम्रो भएपनि नचाहेको अवस्थामा प्रयोग गर्नुपर्ने बाध्यता भने राम्रो होइन भन्ने गुनासो ग्राहकवर्गले गर्दै आएका थिए’- नेपाल टेलिकमका सहायक–प्रवक्ता सोभन अधिकारीले विकासन्यूजसँग भने । अधिकारीले आगामी दिनमा समेत ग्राहकको माग अनुसार काम गर्दै जाने बताए । उनले अघिल्लो सिस्टमभन्दा पछिल्लो सिस्टममा केही भिन्नता रहेको समेत जानकारी दिएका छन् ।

यसरी लिन सकिन्छ सापटी:
नेपाल टेलिकमको सिम कार्ड प्रयोग गर्ने ग्राहकहरुले सापटी सेवामा सहभागी हुन सक्ने छन् । सापटी सेवा सुचारु गर्नको लागि १४७७ मा सन्देश पठाउनु पर्नेछ । सन्देश पठाएपछि एसटिएआरटी(स्टार्ट) थिचेमा सेवा सुचारु हुन्छ । यस्तै, सुचारु गरिएको सेवा बन्द गर्न चाहेमा १४७७ मै एसटीओपि(स्टप)थिच्नु पर्नेछ ।

आफूले लिएको सेवाको बारेमा थप केही जानकारी लिन चाहेमा एसटिएटियूएस(स्टयाटस)थिचेर १४७७ मै सन्देश पठाउनु पर्नेछ । सेवा सुचारु भएको अवस्थामा २० रुपैयाँसम्म सापटी लिन सकिने छ । यसरी सापटी लिएको पैसा भ्वाईस कल तथा डाटा दुवैको लागि उपयोगी हुनेछ ।

पहिले यस्तो थियो:
नेपाल टेलिकम मार्फत पाईने सापटी सेवाको लागि अहिले केही प्रकृया राखिएको भएपनि पहिले स्वतः सेवा सञ्चालन हुन्थ्यो । पहिले ग्राहकले मोवाइल फोनमा बोल्दै गर्दा ब्यालेन्स सकिएमा कल काटिदैन थियो । पछिल्लो सिस्टममा समेत कल नकाटिने भएपनि सापटीको रुपमा २० रुपैयाँ मात्र रहेको छ । तर, सो भन्दा अगाडि ४० रुपैयाँसम्म सापटी पाईने व्यवस्था नेपाल टेलिकमले गरेको थियो ।

नेपाल टेलिकमले सापटी सेवा गत माघ २९ गतेदेखि बन्द गरेको थियो । टेलिकमले सबै मोवाईल फोन प्रयोगकर्ताहरुलाई सन्देश पठाएर सापटी सेवा बन्द गरेको हो । टेलिकमले सिस्टम मर्मत सम्भार गर्नु पर्ने भएकाले २ दिनको लागि सेवा अवरुद्ध गरेको बताएको थियो ।

साथै, फागुन २ गते देखी परिमार्जित रुपमा सापटी सेवा उपलब्ध गराउने समेत जनाएको थियो । तर, परिमार्जन भएको सापटी सेवा भने गत फागुन १६ गतेबाट मात्र सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ । अहिले नयाँ सिस्टम अनुसार सापटी सेवा सञ्चलनामा रहेको छ । टेलिकमबाट सापटी लिईएको शुल्क आफूले रिचार्ज गर्दा कट्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.