मूलधारमा सिके राउत, ‘जनमत पार्टी’ घोषणा

  २०७५ चैत ५ गते ८:३३     विकासन्युज

 

लहान । सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठगन्धनको राष्ट्रिय परिषद् बैठक(केन्द्रिय भेला) ले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ ।

आइतबारबाट लहानको माडवारी सेवा सदनमा जारी भेलाको दोस्रो दिन जनताको हक अधिकारको लागि संघर्ष गर्न नेपालको संविधानभित्र रहेर पार्टी स्थापना गरी अघि बढ्ने निर्णय गरिएको छ । यसअन्तर्गत पार्टीको नाम जनमत पार्टी राख्ने निर्णय गरेको भेलापछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। भेलाले पार्टीको नामसँगै झन्डा पनि फर्ने निर्णय गरेको छ।

जनमत पार्टीको झन्डा रातो, सेतो, हरियो रंगमिश्रित ठाडो धर्के रहने छ। झन्डाको बीच भागमा रातो रंगको अष्टकोण(अष्टदल) रहने निर्णय गरेको छ। भेलाले पार्टीको लोगो पनि तय गरेको छ । पार्टीको लोगोमा अष्टदलको छेउमा देवनागरी र रोमन भाषामा पार्टीको नाम लेखिने भएको छ। पार्टीको चुनाव चिह्न पनि अष्टदल नै रहने विज्ञप्तिमा उल्लेख छ।

भेलाले ३५ सदस्य केन्द्रीय कार्यकारणी समितिसमेत चयन गरेको छ। निर्वाचन आयोगमा दल दर्ता भएसँगै केन्द्रीय कार्यकारणी समिति विस्तार गरिने उल्लेख छ । केन्द्रीय समितिमा थप सदस्य मनोनित गर्ने अधिकार सर्वसम्मतरूपले राष्ट्रिय अध्यक्षलाई दिइएको छ। पार्टीको राष्ट्रिय अध्यक्षमा सिके राउत चयन भएका छन् । बाँकी ३५ जना सबै केन्द्रीय सदस्य छन् । जिल्लागत हिसाबले २५ जना केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ भने बाँकी १० जना सदस्यमा महिला, दलित, जनजाति, अलपसंख्यकसहितको प्रतिनिधित्व हुनेगरी मनोनित गर्ने जिम्मेवारी पनि पार्टी अध्यक्ष राउतलाई दिइएको छ।

स्वतन्त्र मधेस गठबनधन र नेपाल सरकारबीच फागुन २४ गते भएको ११ बुँदे सहमतिअनुरूप गठबन्धनका समर्थकमाथि लगाइएका मुद्दा अविलम्ब फिर्ताका लागि पहल गर्न चन्दन सिंहको संयोजकत्वमा तीन सदस्य सहमति कार्यान्वयन समिति गठन गरिएको छ । प्रहरी हिरासतमा मारिएका गठबन्धनका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँग भएको सहमतिअनुसारको क्षतिपूर्ति तथा परिवारका एकजना सदस्यलाई रोजगारीको पहलका लागिसमेत सिंह संयोजकत्वकै समितिलाई जिम्मेवारी दिएको जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.