चैत ८ देखि भृकुटीमण्डपमा पुष्प मेला, ६० लाख रुपियाँको कारोबार हुने आयोजकको अपेक्षा

  २०७५ चैत ४ गते १८:०१     विकासन्युज


काठमाडौँ । फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) ले ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय’ २२ औं फ्लोरा एक्स्पो (पुष्प मेला) २०७५ आयोजना गर्ने भएको छ । भृकुटी मण्डपमा चैत ८ गतेदेखि १० गतेसम्म आयोजना हुने सो एक्स्पोबाट ६० लाख रुपियाँ बराबराको कारोबार हुने रहेको फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।

एक्स्पोमा जम्मा ८४ वटा स्टल रहनेछन्, जसमा अफिसिल स्टलका लागि १० वटा हुनेछन् भने प्रतियोगितात्मक प्रदर्शनीका लागि ४, ल्याण्ड स्केपिङ्गका लागि ४ वटा र व्यवसायिक स्टलका लागि ६५ स्टल राख्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । मेलामा सहभागि भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु बीच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद १० हजार र पाँच हजार, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने उनले जानकारी दिए ।

फ्यानले सोमवार आयोजना गरेको पत्रकार सम्मोलनमा अध्यक्ष श्रेष्ठले लामो समयदेखि निरन्तर रुपमा पुष्प व्यवसाय सञ्चालन गरिरहेको पुष्प व्यवसायीहरु मध्येबाट वरियातको आधारमा १ जना छनौट गरी सो नर्सरी लाई कदर–पत्रद्वारा सम्मान समेत जानकारी दिए । देशका बिभिन्न उत्पादन भएको पुष्प तथा पुष्पजन्य बस्तुहरुको प्रबद्र्धन, विस्तार, नयाँ प्रविधि अनुसन्धानको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार तथा जनचेतना जगाउनेको उद्देश्यले मेला आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

प्रदेश सरकार, प्रदेश नं. ३, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि ज्ञान केन्द्र ललितपुर र फ्यानको संयुक्त आयोजनामा हुने मेलाको उद्घाटन संघीय सरकार कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरी र प्रदेश ३, भूमि व्यवस्था, कृषि तथा सहकारी माननीय मन्त्री दावा दोर्जे लामाले गर्ने जानकारी गराएको छ ।

अध्यक्ष श्रेष्ठले भने, पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी मेला स्थलमा नै प्राप्त गर्नुको साथै अन्तराष्ट्रिय स्तरमा प्रयोग भईरहेको प्रविधिको बिषयमा समेत मेला स्थलमा जानकारी प्राप्त हुनेछ ।’ कृषि क्षेत्रमा काम गर्ने व्यावसायी, अनुसन्धानकर्ता, विद्यार्थीका लागि मेला उपयोगी हुने विश्वास गरिएको छ । साथैमेलामा मौसमी फूल, आलंकारीक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी, आधुनिक खेती प्रबिधी र जैबिक विषादीका प्रदर्शनी तथा विक्री कक्षहरु पनि रहने आयोजकले जनाएको छ ।

देशका ४३ जिल्लामा लगभग ६९७ पुष्प व्यवसायी रहेका छन् । करिव १५३ हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा खेती भइरहेको फ्यानले जानकारी दिएको छ । यो व्यावसायीमा ४३ हजार भन्दा बढी व्यक्ति लागेका छन् । यस व्यवसायले आर्थिक वर्ष २०७४/७५ मा २ अर्व भन्दा बढीको कारोवार गरेको जनाएको छ । २०७४/७५ मा ११ करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ भने निर्यात तर्फ २.३७ करोड बराबरको रहेको छ । समग्रमा पुष्प व्यवसाय वार्षिक १० देखि १५% को हाराहारीमा बार्षिक बृद्धिदर रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.