१० वर्षमा बीमा बजारको दायरा निकै माथि पुग्छ-कुमारबहादुर खत्री

  २०७५ चैत ४ गते १४:२६     विकासन्युज


बीमा बजारमा अजोड इन्स्योरेन्सले उपस्थिति जनाएको ८ महिना भएको छ । यो छोटो अवधिमा पनि निर्जीवन बीमाको क्षेत्रमा अजोडले आफ्नो दह्रो उपस्थिति देखाएको छ । आगामी दिनमा अझै नयाँ र प्रभावकारी कार्यक्रम ल्याउने तयारीमा छ अजोड इन्स्योरेन्स । प्रस्तुत छः नेपाली बीमा बजारका संभावना र चुनौति सहित अजोड इन्स्योरेन्सका भावी योजना र कार्यक्रमका बारेमा प्रमुख कार्यकारी अधिकृत(सिइओ) कुमारबहादुर खत्रीसँग विकासन्यूजका लागि नबिन पोखरेलले गरेको कुराकानी ।

बीमा सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउन, प्रभावकारी, आकर्षक र विश्वसनीय बनाउन अजोड इन्स्योरेन्सले कस्तो भूमिका खेलिरहेको छ ?

अजोड ईन्स्योरेन्स आफैैंमा एउटा नयाँ कम्पनी हो । गत असार २१ बाट हामी सञ्चालनमा आएका हौं । पहिलो चरणको शाखा स्थापना गर्ने कामहरु लगभग सकाएका छौं । यसको साथसाथै हामी बिजनेशमा पनि जाँदैछौँ । हामीले बीमा चेतानामा सघाउ पुरयाउने खालका विज्ञापन तथा जनचेतनाका कार्यक्रममा सहभागिता जनाउँदै आएका छौं । एफएनसिसिआईबाट आयोजना हुने मेला लगायतका कार्यक्रममा अजोड ईन्स्योरेन्स पार्टनरका रुपमा रहन्छ । बीमाको बारेमा जनचेतना जगाउने तथा अजोडको चिनारी गराउने कुरामा हामी लागि परेका छौँ ।

१७ वटा निर्जीवन बीमा कम्पनीहरु थिए । २०७५ सालमा नयाँ ३ वटा कम्पनीहरु थपिएपछि बजारमा कस्तो असर देखियो ?

तीन वटा कम्पनीहरु बजारमा आउँदैमा असर देखिने कुरा हुँदैन । आफ्नो हिसाबामा बिजनेश गर्ने हो, आफ्नै सञ्जाल बनाएर काम गर्ने हो । बजारको साईज बढाउदै जाने हो । तर, तत्काल देखिएको समस्या भनेको लिक्यूडिटीको समस्या हो । नयाँ कम्पनी आउँदैमा पुरानोमा कुनै असर भएको देखिदैन । तैपनि नेपालमा २० वटा कम्पनी आएपनि सर्वसाधारणमा त्यति पहुँच पुगेको छैन । बजारको दायरा बढाउने सम्भावना प्रशस्तै रहेका छन् । यसको साथ साथै गर्नुपर्ने काम समेत निकै छ । गर्दै जाँदा बजारको आकार बढ्ने हो । भोलिका दिनमा बीमाको दायरा बढाउँदै जाने हाम्रो लक्ष्य हो ।

नयाँ कम्पनीको लागि अवसर र चुनौति के–के छन् ?

नयाँ कम्पनीका लागि अवसर/चुनौति दुवै छन् । हामी धेरै ठाउँमा गएर ग्राहकहरुलाई बीमाको बारेमा सचेत गराउन पाईरहेका छौँ । यो अवसर हो । यस्तै, चुनौतिपनि छन्न । नयाँ कम्पनीलाई के हुँदो रहेछ भने नआउनु पर्ने खालका समस्या समेत आउँदा रहेछन् । बीमा समितिबाट लाईसेन्स लिएर हामीले कारोबार शुरु गरेको हो । व्यवस्थापनमा समेत पुराना तथा युवाहरुको टिम रहेको छ । यी कुरा हुँदा हुँदैपनि हरेक संस्थाहरुले २/३ वर्षको अनुभव माग गर्ने गरेको कुरा हामीले चुनौतिको रुपमा हेरेका छौँ । अरु चुनौतिको रुपमा हेर्ने हो भने बीमाको बारेमा बजारमा जानकारी नै कम भएको देखिन्छ । यसमा एउटा मात्र कम्पनी लागेर हुँदैन । समग्र सरोकारबाला निकायको यसमा ध्यान जान जरुरी हुन्छ । जस्तो, बीमा समिति, बीमा कम्पनी, बीमक संघले जनचेनामूलक काम गर्न बाँकी रहेको देखिन्छ । कामै नगरेको त होइन, तर गर्नु पर्ने ठाउँहरु प्रशस्तै रहेका छन् । यसमा नेपाल सरकार समेत लाग्नु पर्छ ।

अजोड इन्स्योरेन्सको मौलिकता एवम् फरकपन के-के हुन् ?

यसमा पनि २/४ वटा कुराहरु छन् । सर्वप्रथम त हाम्रो व्यवस्थापन टिम आफैँमा बलियो छ । युवा जनशक्ति सहभागी भएकाले टिम बलियो छ । त्यसपछि स्थापनाको ८ महिनाको अन्तरालमा आईपुग्दा शाखा सञ्जाल १६ वटा, बीमा काउन्टरका साथसाथै एउटा ग्राहक सेवा केन्द्र शुरु गरिसकेका छौँ । कम्पनीमा आवद्ध प्रवद्र्धकहरु सामाजिक रुपमा स्थपित छन् । हाम्रोमा नेपाल सरकारबाट अवकाश प्राप्त उच्च पदस्त व्यक्तिहरु हुनुहुन्छ । यो प्लस प्वोईटको रुपमा रहेको छ । भोलिका दिनमा अनलाईन सिस्टममा जाँदैछौ । नयाँ कम्पनी भएकाले पनि हामी कहाँ काम नसकिएका पुरानो फाईल हुदैनन् । साथै, आएका फाईललाई समेत हामीले छिटो छरितो बनाउन लागि परेका छौँ । अनलाईनमा जाने तथा ई-पेमेन्टमा जाने कुराले नै अजोड भोलिका दिनमा विषेश रहन्छ ।

‘शान्तिको धुनसँगै सुरक्षाको सुरुवात’ भन्ने यहाँहरुले मूल नारा राख्नु भएको छ । यसले दिन खोजेको सन्देश चै के हो ? नारा अनुसार काम भएका छन् त ?

जोखिम भनेको कुन बेला हुन्छ, कति बेला हुन्छ थाहा हुन्न । जोखिम जहिलेपनि अनिश्चित हुन्छ । सोही कारण बीमा गर्दा आफ्नो प्रगतीमा, आफूले गरेको बीमाका कारण शान्तिपूर्ण रुपमा काम गर्न सकिन्छ भन्ने हाम्रो आशय हो । यस किसिमको शान्ति कायम गर्न अजोडको भूमिका रहन्छ भन्ने हाम्रो बुझाई रहेको छ । साथै, नारा अनुसार हामी सफल पनि भएका छौँ । ठ्याक्कै सोच अनुसारको काम हुन सकेको त छैन, तैपनि शाखा खोल्ने काममा हामी निकै लागि पर्यौ । अहिले आएका तीन कम्पनीहरु मध्येमा हामी अगाडि छौँ ।

बीमा सेवा बिस्तारको क्रममा पछिल्लो समय बीमा कम्पनी र बैंकहरुबीच साझेदारी बढेको छ । यसले बजारमा कस्तो प्रभाव पारेको पार्छ ?

निर्जीवनमा त्यति फरक पर्दैन । बीमा बैंक मार्फत नै हुँदा पनि आम्दानी बीमा कम्पनीहरुले नै पाउँछन । बैंकले अनिवार्य गर्दा पनि ईन्स्योरेन्स कै पोलिसी नै बिक्री हुने त हो ।

बैंकहरुले निक्षेप प्रडक्ट बनाउँदा ‘बीमा निःशुल्क’ भनेर प्रचार प्रसार गरेका छन् । के बीमा सेवा निःशुल्क सम्भव छ ? बैंकहरुले बीमालाई निःशुल्क भनेर प्रचार गर्दै गर्दा बीमा कम्पनीहरुले आफ्ना प्रडक्ट कसरी मूल्य राखेर बिक्री गर्न सक्छन् ?

निःशुल्क भन्नाले बैंकले बीमा प्रिमियम नै नतिर्ने भन्न खोजेको होइन । बैंकका ग्राहकले कारोबार गर्दा बीमा सुविधा पाउने भनेको हो, तर बीमा कम्पनीले बैंक मार्फत प्रिमियम पाउँछन् । बैंकले बीमामा प्रवेश गर्दा त्यसले ईन्स्योरेन्स कम्पनीलाई असर पार्दैन । हाम्रो कम्पनी मार्फत बैंकले बीमा गर्दा प्रिमियम तिर्नुपर्छ । जहाँ प्रिमियम तिरिदैन, त्यसलाई बीमा नै भन्न मिल्दैन । पछिल्लो समय बैंकहरु बीमाका कार्यक्रममा सहभागी हुनुलाई उनीहरुले डिपोजीट संकलन गर्न मार्केटिङ स्ट्राटिजिको रुपमा लिएको मान्न सकिन्छ । यसले हाम्रो बजार बिस्तारमा सहयोग गरेको छ । त्यसैले हामी यसमा सकारात्मक नै छौँ ।

चुक्ता पुँजी १ अर्ब पुर्याउन ३० करोडको साधारण सेयर जारी गर्ने तपाईँको कम्पनीको योजना छ । साधारण सेयर निष्काशन कहिले हुन्छ ? कुन-कुन प्रक्रिया पूरा भए ?

तत्कालको लागि धितोपत्र बोर्डले ताेकेकाे प्रकृया पूरा भईसकेको छैन । प्रमोटरबाट हाम्रो ७० करोड संकलन भईसकेको छ । ३० करोड चै पब्लिकको आईपिओमा जान्छ । गत आर्थिक बर्षमा हामीले यसको लागि नै भनेर ८, १० दिन भएपनि काम गरेका छौँ ।  सो पास गरेर साधारण सभा गरेपछि हामी आईपिओमा प्रवेश गर्न पाउँछौ । यसरी नै काम गर्न पनि हामीलाई घटीमा १ वर्ष भने लाग्ने देखिन्छ ।

बजार विकासको लागि बीमा समितिले नयाँ के–के काम गर्नुपर्छ ? तपाईँको सुझाव के छ ?
बजार बढाउन बीमा समिति मात्र लागेर हुँदैन । यसमा सबै संयुक्त रुपमा लाग्नु आवश्यक छ । बीमा समिति, बीमा कम्पनी, बीमक संघ, साथसाथै नेपाल सरकारले पनि सहकार्य गर्नुपर्यो । यही कुरा मैले निकैपल्ट दोहोर्याईरहेको छु । पछिल्लो समय सरकारको अग्रसरता बीमामा देखिन्छ । मानिसलाई बीमा भएमा मात्र सुरक्षित भइन्छ भन्ने बुझाउन पर्छ । यसले राष्ट्र निर्माणमा समेत सहयोग पुर्याउने देखिन्छ । स्थानीय तहमा गएर बीमाका महत्वको बारेमा हामीले पनि अभ्यास गर्ने तयारी गरेका छौँ । सम्पत्ति बीमाको दायरा बढाउन र यसलाई व्यवहारिक बनाउन बीमा समितिले समेत जनचेतनामा कार्य गरिरहेको देखिन्छ ।

नेपाल सरकाले समेत मोटर बीमा अनिवार्य गरेको जस्तै सम्पत्ति बीमा समेत अहिलेको प्राथमिकता तथा अनिवार्यतामा रहेको देखिन्छ । बीमाले सुरक्षणमा कार्य गर्ने भएकाले कर तिर्ने तथा नक्सा पास गर्ने निकायमा समेत यस्ता कुरा पुगेमा धेरैलाई पीडित बन्नु पर्दैन । थोरै रकममा धेरैको जोखिम व्यहोरिने कुरामा सबै सचेत बन्नु आवश्यक छ । अहिले १ करोडको घर बार्षिक रुपमा जम्मा ४ हजार रुपैयाँमा बीमा हुन्छ । हुल दंगाको अवस्थामा मूल्य केही समायोजन भएपनि अन्य बेलामा हुने यहीँ नै हो । थाहा हुँदा हुँदै पनि कतिपयले बीमा गरेका हुँदैनन् । यो एक किसिमको बानीको रुपमा स्थापित छ । बीमा गर्ने कुरामा हेलचेक्राई गर्नु हुँदैन भनेर सर्बसाधारणलाइ बुझाउनुपर्छ।

आगामी दश वर्षमा बीमा बजारको विकास कसरी होला ? तपाईँको प्रक्षेपण कस्तो देखिन्छ ?
यसमा बीमाको पहुँच, सेवाको विविधता, प्रविधिको प्रयोगको, जनशक्तिको संलग्नताको, पुँजी वृद्धि, लगानीकर्ताले पाउने लाभांशलाई समावेश गरेर हेर्दा आगामी १० बर्षमा मलाई लाग्छ बीमा बजारको दायरा निकै माथि पुग्छ । हाम्रो बीमा बजार प्रविधि मैत्री भईसकेको हुनेछ भने घरमा बसेर नै बीमाका पोलिसी खरिद बिक्री गर्ने वातावरण सिर्जना भईसकेको हुनेछ । यसरी नै दाबीका कुरामा समेत सहज अवस्था आईसक्छ ।

सबैभन्दा ठूलो कुरा स्वास्थ्य बीमाको पँहुच बढेर निकै माथि जान्छ । पेनिट्रेशन नेपाल सरकारले आगामी ५ बर्षमा २५ प्रतिशत पुर्याउने भनेको छ, मेरो विचारमा आगामी १० वर्षमा भने ३० प्रतिशत पुरयाउन सकिएला कि भन्ने छ । साथै, प्रविधिमा आधारित बीमा बजारको विकास नै मुख्य कुरा हो । अहिलेको भन्दा जनशक्ति बढ्ने छन् । प्रविधिले छिटो छरितो सेवा समेत प्रदान गर्नेछ। समयमा सेवा उपलब्ध हुनेछ तर जनशक्ति विस्थापित भने हुँदैन । हामीलाई थप जनशक्तिको आवश्यकता पर्दछ । प्रविधिले जनशक्ति निमार्णमा चै सहयोग पुर्याउँछ । साथै, बीमा ईन्स्टीच्यूटको स्थापना भई सकेकाले आगामी दिनमा बीमा चेतनामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । नेपालमा आवश्यक पर्ने जनशक्ति नेपालमा नै उत्पादन हुन्छन् ।

लाभांशको सन्दर्भमा यो सेवामुखी व्यवसाय भएकाले यसमा आफ्नो सामाजिक कुरा हुन्छ । सोही कारण संसारका कुनै बीमा कम्पनीहरुले १५ देखी २० प्रतिशतको हाराहारीमा लाभांश प्रदान गर्ने हो । यसमा लिलामीबाट भन्दापनि लगानीबाटै कमाउने हो । हालसालै बीमा समिति लगानी निर्देशिका सार्वजनिक गरेको छ, यसले लगानीको दायरा खुल्ला गरेको छ । ईन्भेष्टमेन्ट व्यवस्थापनबाट ईन्स्योरेन्सले पैसा कमाउने हो । ईन्स्योरेन्स कम्पनीहरुलाई हामीले हाम्रो पैसाको व्यवस्थापन कति गर्न सक्छौ भन्ने कुराले निकै प्रभाव पार्ने गर्छ ।

सर्बसाधारणलाई बीमाको महत्व बुझाउन र स्वेच्छिक रुपमा बीमा गर्ने वातावरण निर्माण गर्न कसले के गर्नुपर्छ ?
निश्चित रुपमा यस कार्यका लागि केही समय त लाग्छ नै । नेपाल सरकारले केही समय बीमालाई अनिवार्य गराउन पर्छ । स्वास्थ्य बीमामा कर छुट दिएको छ । भोलि केही समयलाई खर्चमा पनि छुट दिने व्यवस्था मिलाउन सक्छ । यसको साथै सरकारले आफैँले समेत बीमाका कार्यक्रममा सहभागी हुन जरुरी छ । हामीले व्यवहारिक रुपमा बीमा नगरेमा स्वतः रुपमा स्थानीय तहबाट बीमा गर्नेको संख्या बढ्न त्यति सहज छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.