नागरिक लगानी कोषको १३ प्रतिशत शेयर बेच्दै राष्ट्र बैंक, नियामकीय अधिकारमा अर्थमन्त्री सकारात्मक

  २०७५ चैत ४ गते १३:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको १३ प्रतिशत स्वामित्व रहेको नागरिक लगानी कोषको स्वामित्वबाट नेपाल राष्ट्र बैंक बाहिरिने भएको छ । बैंकले कोषको स्वामित्वबाट बाहिरिने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । सोमबार अर्थमन्त्री युवराज खतिवडाले नागरिक लगानी कोषबाट राष्ट्र बैंक बाहिरिएको बताउँदा नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंक बाहिरिने प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै त्यो अवस्थाका लाथि तयार रहन कोषलाई सुझाव दिएका छन् ।

शेयर स्वामित्वबाट बाहिरिए पनि कोषको नियामकीय अधिकार राष्ट्र बैंकलाई दिन भने अर्थमन्त्री सकारात्मक देखिएका छन् । कर्मचारी सञ्जय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष जस्ता गैरबैंकिङ वित्तीय संस्थाको नियमन गर्ने अधिकार माग गरेको नेपाल राष्ट्र बैंकको प्रस्तावप्रति अर्थमन्त्री सकारात्मक देखिएका हुन् । अर्थमन्त्री खतिवडाले ती कोषहरुको प्रभावकारी नियमनका लागि राष्ट्र बैंकलाई जिम्मा दिने सम्बन्धमा छलफल भइरहेको र यसमा मन्त्रालय सकारात्मक रहेको जानकारी दिएका हुन् ।

‘तपाईँहरु हाम्रो नियामक नै छैन भन्ने नसोच्नुस्, तपाईँका गतिविधिहरुलाई हामीले नजिकबाट नियालिरहेका छौं, नागरिक लगानी कोष र यस्तै अन्य गैरबैंकिङ संस्थालाई नियमन गर्न पनि राष्ट्र बैंकलाई जिम्मा दिने कि भन्ने छलफल भइरहेको छ ।’ नागरिक लगानी कोषको २९ औं वार्षिकोत्सव तथा भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अर्थत्रन्ी युवराज खतिवडाले भने । उनले नागरिक लगानी कोषको स्वामित्वबाट नेपाल राष्ट्र बैंक बाहिरिएसँगै आउने नयाँ र जागरुक लगानीकर्ताहरुसँग नयाँ ढंगले काम गर्न समेत निर्देशन दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंक ऐन संशोधनको क्रममा रहेको भन्दै उक्त संशोधनमार्फत् नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका गैरबैंकिङ संस्थाहरुको नियमन गर्ने प्रस्ताव गरेको भन्दै त्यो ऐन संशोधन भएपछि नागरिक लगानी कोषको नियामक समेत नेपाल राष्ट्र बैंक हुने बताए । उनले नियामक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकसँग रहेको शेयर राखिनरहने भन्दै राष्ट्र बैंक स्वामित्व फिर्ताको अन्तिम चरणमा रहेको जानकारी दिए ।

‘नागरिक लगानी कोषबाट नेपाल राष्ट्र बैंकले शेयर झिक्छ, शेयर स्वामित्व परिवर्तन हुँदा कोषमा समस्या नआओस्, त्यसको लागि तयारी गर्नुस् ।’– कामु गभर्नर शिवाकोटीले भने । उनले सामाजिक सुरक्षा कोषले नागरिक लगानी कोषको क्षेत्रधिकारमा पार्नसक्ने प्रभावलाई पनि विचार गर्दै त्यसको पूर्वतयारी गर्न समेत कोषलाई सुझाव दिए ।

हाल १ अर्ब १० करोड रुपैंया चुक्ता पुँजी रहेको नागरिक लगानी कोषमा नेपाल राष्ट्र बैंकको १३ प्रतिशत शेयर स्वामित्व छ । यसबाहेक नेपाल सरकारको १० प्रतिशत, नेपाल स्टक एक्सचेञ्जको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको २७ प्रतिशत, बैंक तथा वित्तीय संस्थाको २० प्रतिशत र सर्वसाधारणको १० प्रतिशत शेयर हिस्सा नागरिक लगानी कोषमा छ । नेपाल राष्ट्र बैंकसँग त्यसबाहेक नेपाल स्टक एक्सचेञ्ज, राष्ट्रिय बीमा संस्थान लगायतका कम्पनीहरुको समेत शेयर स्वामित्व छ ।

नियामकका रुपमा कुनै पनि संस्थाको स्वामित्व लिँदा स्वार्थ बाझिने भन्दै राष्ट्र बैंकलाई त्यस्ता संस्थाहरुको स्वामित्वबाट बाहिरिन दबाब पर्दै आएको थियो । हाल त्यसका लागि प्रक्रिया निकै अघि बढिसकेको र चरणबद्ध रुपमा स्वामित्व हस्तान्तरण गर्दै जाने योजना रहेको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.