‘खल्ती डिजिटल वालेट’ले शुरु गर्यो क्यु–आर कोडमा आधारित इभेन्ट्स टिकेटिङ सेवा

  २०७५ चैत ४ गते १२:२८     विकासन्युज


काठमाडौँ । ‘खल्ती डिजिटल वालेट’ले आज चैत्र ४ गते सोमबारबाट क्यु–आर कोडमा आधारित डिजिटल टिकेटिङ सेवाको औपचारिक रुपमा सुरुवात गरेको छ ।

अब देशभरका सबै प्रकारका कार्यक्रम आयोजकहरुले आफ्नो कार्यक्रम तथा इभेन्ट्सको बारेमा खल्तीको टिकेटिङ प्रणालीमा जानकारी प्रकाशन गर्न सक्नुका साथै कार्यक्रमका दर्शक तथा सहभागिहरुले खल्ती एप तथा वेबसाइट प्रयोग गरी उक्त कार्यक्रमहरुको डिजिटल टिकट किन्न र अनलाईनबाटै पैसा भुक्तानी गर्न सक्ने छन् ।

डिजिटल प्रणालीमा आधारित यस टिकेटिङ र भुक्तानी सेवाले कार्यक्रम आयोजकका साथै उक्त कार्यक्रमका दर्शक तथा सहभागीहरुलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । खेलकुद प्रतियोगिता, म्युजिक कन्सर्टका साथै अन्य थुप्रै प्रकारका कार्यक्रमहरुको टिकट अब खल्तीको उक्त सिस्टममा उपलब्ध हुने जनाइएको छ ।

अनलाईन टिकेटिङ सेवाको औपचारिक सुरुवात गर्दै खल्तीका निर्देशक अमित अग्रवालले भने, ‘खल्तीले संचालनमा ल्याएको यस सेवाले कार्यक्रम आयोजकहरुको टिकट छपाई तथा वितरण गर्ने झन्झट केहि हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ ।’

साथै, उक्त कार्यक्रमका दर्शकहरुले पनि अन्लाईन मार्फत टिकट किन्दा पैसा बचत गर्न सक्नेछन् । खल्ती मार्फत टिकट किन्दा प्रत्येक टिकटमा टिकटको मूल्यको पचास प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ । टिकट किनिसकेपछि प्रयोगकर्ताले हरेक टिकटको लागि एउटा क्यु–आर कोड प्राप्त गर्नेछन् जुन ‘पिडिएफ’ को फम्र्याटमा डाउनलोड गर्न पनि सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.