दुई अर्ब बक्यौता नतिर्नेमा अधिकांश एयरलाइन्स कम्पनी, बैंकहरू पनि अटेरीकाे सूचिमा

  २०७५ चैत ३ गते १९:१४     विकासन्युज

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण्णले २ अर्ब भन्दा बढी बक्यौता रकम उठाउन सकिरहेको छैन । यसरी प्राधिकरणलाई बक्यौता रकम नतिर्नेमा सबै जसो एयरलाईन्स कम्पनी परेका छन् भने विमानस्थलमा आफ्ना शाखा र एटिएम सञ्चालन गरिरहेका बैंकहरु समेत परेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल अन्तराष्ट्रिय तथा आन्तरिक उडान भर्ने सबै जसो एयरलाईन्ससँग बक्यौता रकम उठाउन बाँकी छ । कफी सपदेखि ट्वाईलेट सफा गर्ने कम्पनीले पनि प्राधिकरणलाई अटेर गरेका छन् ।

विमानस्थल दस्तुर नियमावलीको व्यवस्थाअनुरुप विभिन्न प्रयोजनका लागि भाडामा दिएका वा लगाइएका पसल कम्तीमा तीन वर्षको ठेक्का सम्झौता हुन्छ । कतिपय कम्पनीको विगत पाँच वर्षदेखि मुद्दा चलिरहेकाले शुल्क उठाउन गाह्रो परिरहेको छ । यस्ता कम्पनीबाट २१ करोड बक्यौता उठाउन बाँकी छ ।

प्राधिकरणले संसदको सार्वजनिक लेखा समितिमा बुझाएको विवरण अनुसार अधिकांश एयरलाईन्सले बक्यौता रकम तिरेका छैनन् । प्राधिकरणका निमित्त महानिर्देशक राजन पोखरेल र विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलगायत पदाधिकारीले विमानस्थलको बक्यौता, विभिन्न संस्थालाई भाडामा प्रयोग गर्न दिएको विषयबारे प्रष्ट पार्दै बक्यौता बाँकी रहेका अधिकांश एयरलाइन्सले किस्ताबन्दीमा समयावधि तोकेर रकम बुझाइरहेको तथा विभिन्न प्रयोगका लागि भाडामा लिएका कम्पनीको केही मुद्दा मामिलाका कारण रकम उठाउन ढिलो भएको बताए ।

विमानस्थलले भाडामा लगाएका सटर तीन वर्षका लागि सम्झौता भए पनि १२ वर्षसम्म नवीकरण नभएको, सञ्चालित पसलले यात्रुलाई चर्को मूल्य तिर्न बाध्य बनाएको तथा विमानस्थलको ट्याक्सी सेवाले यात्रुलाई सास्ती दिईरहेका छन् ।

निमित्त महानिर्देशक पोखरेलका अनुसार २०७५ पुस मसान्तसम्म एयरलाइन्स र विभिन्न कम्पनीबाट विमानस्थललाई एक अर्ब ९९ करोड ६८ लाख तिर्न बाँकी रहेको देखिन्छ । फागुन महीनासम्म सौर्य, हिमालय र सिम्रिकले एक/एक करोड रुपैयाँको हाराहारीमा बक्यौता बुझाएको छ ।

निमित्त महाप्रबन्धक राजन पोखरेलले जहाज ग्राउण्डेड गरेर बक्यौता उठान कठिनाइ हुने भएकाले किस्ताबन्दी वा समयावधिको सम्झौताअनुरुप सेवा सञ्चालन गर्न दिइएको बताए । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले तीनदेखि छ महीनाभित्र विमानस्थलको बाँकी बक्यौता उठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल अन्तराष्ट्रिय तथा आन्तरिक उडान भर्ने सबै जसो एयरलाईन्ससँग बक्यौता रकम उठाउन बाँकी छ । कफी सपदेखि ट्वाईलेट सफा गर्ने कम्पनीले पनि प्राधिकरणलाई अटेर गरेका छन् ।

महाप्रबन्धक क्षेत्रीका अनुसार विमानस्थलले हालसम्म पुरानो बक्यौता करीब ५३ करोड उठाएको छ । बढी बक्यौता भएका एयर एशिया, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, सौर्य एयरलाइन्स लगायतलाई बारम्बार ताकेता गरिएको छ ।

भन्सारले पनि तिरेन पैसा
भन्सार विभागको करीब ५५ करोड बक्यौता छ भने नेपाल वायुसेवा निगमको करीब ३२ करोड छ । निगमले किस्ताबन्दीमा रकम तिरे पनि भन्सार विभागले भने लामो समयदेखि रकम नतिरेको विमानस्थलले जनाएको छ ।

यी हुन बक्यौता धेरै भएका एयरलाईन्स
एयर एशियाको विलम्ब शुल्कसहित २० करोड बक्यौता तिर्न बाँकी छ । हिमालय एयरलाइन्सबाट १९ करोड बढी बक्यौता उठाउनुपर्ने छ । हिमालयले किस्ताबन्दीमा रकम तिर्ने वचन दिएको छ । सौर्य एयरलाइन्सको करीब तीन करोड बक्यौता छ । उक्त कम्पनीले हालै एक करोड बुझाएर सेवा पुनःसञ्चालन गरेको छ ।

बैंक पनि देखिए नटेर्ने सूचिमा
प्रभु बैंक र ग्लोबल आईएमई बैंकले पनि विमानस्थललाई बक्यौता रकम तिरेका छैनन् । प्रभु बैंकले एटिएम बुथ सञ्चालन गरे वापत ८ लाख ४० हजार र ९ लाख ४८ हजार तिर्न बाँकी छ । त्यस्तै, शाखा कार्यालय सञ्चालन वापतको ४५ लाख रुपैंयाँ तिर्न बाँकी छ । ग्लोबल आईएमई बैंकले पनि एटिएमको शाखाको ४५ लाख १२ हजार र एटिएम वापतको १७ लाख र ८ लाख ५० हजार रुपैंयाँ तिर्न बाँकी रहेको छ ।

के छ कारवाहीको व्यवस्था ?
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को विमानस्थल सेवा शुल्क नियमावली अनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ‘ग्राउन्डेड’ गर्न सकिने प्रावधान छ । सावा रकम नबुझाएपछि ३० प्रतिशतका दरले विलम्ब शुल्क लाग्छ । समयमा बुझाउँदा छुटको व्यवस्था छ । विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिल जारी गरेको सात दिनभित्र बक्यौता रकम तिरेमा तीन प्रतिशत शुल्क छुट दिने व्यवस्था छ ।

त्यस्तै ३० दिनभित्र बक्यौता रकम तिरेमा जरिवाना शुल्क तिर्नुपर्दैन । ३० दिनदेखि ४५ दिनसम्म पाँच प्रतिशत जरिवाना लाग्ने गरेको छ । ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिवाना तिर्नुपर्ने नियमावलीमा व्यवस्था छ । यसैगरी ६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्नेछ ।

विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई परिवहन, सुरक्षा शुल्क, कार्यालय सञ्चालन कोठा, काउन्टर, होडिङ बोर्ड विमानस्थलभित्र सञ्चालन भएका पसल, भण्डारण, यात्रुलाई सेवा प्रवाहलगायतमा विमानस्थलले शुल्क लिने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.