पोखराका २६ प्याराग्लाइडिङ कम्पनी आजदेखि बन्द

  २०७५ चैत ३ गते ८:१२     विकासन्युज

काठमाडौँ । अल्टिमेटम दिएको समयमा पनि नवीकरण नगर्ने पोखराका २६ प्याराग्लाइडिङ कम्पनीको उडान आज (आइतबार)देखि बन्द हुँदै छ । पोखरा महानगरपालिका राजश्व परामर्श समितिको शनिबारको बैठकले नवीकरण नगर्ने प्याराग्लाइडिङलाई उड्न नदिने निर्णय गरेको हो । मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले नवीकरण नगर्ने २६ कम्पनीलाई आइतबारबाट उडान भर्न नदिने निर्णय भएको बताए ।

महानगरपालिकाको पटक–पटकको सुचना र पत्राचारपछि एक साताभित्र नविकरण गर्ने प्रतिबद्धता जनाए पनि व्यवसायीले आफ्नै प्रतिबद्धता लत्याउँदा उडान नै बन्द हुने अवस्था निम्तिएको हो । पोखराको आकाशमा उडान भर्ने ५६ मध्ये ३० कम्पनीले भने नविकरण गरिसकेका छन् । आइतबारपछि आउने कम्पनीलाई थप जरिवाना लिएरमात्रै नविकरण गर्ने निर्णय बैठकले गरेको छ ।

पोखरका सबै प्याराग्लाडिङ कम्पनीले चार वर्षदेखि कम्पनी नविकरण नगरि उडान भर्दै आएका थिए । दुई साताअघि लगातार प्याराग्लाडिङ दुर्घटनामा पर्यटकले ज्यान गुमाएपछि महानगरले ती कम्पनीको आधिकारिकता बुझ्दा उनीहरूले सरकारी निकायको सूचनालाई बेवास्ता गर्दै विना नविकरण उडान भरिरहेको खुलेको थियो ।

त्यसपछि महानागरले नविकरण नगर्ने कम्पनीलाई २२ फागुनदेखि उडान बन्द गर्ने चेतावनी दिएको थियो । महानगरको निर्णयसँगै २१ फागुनमा नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराईसँगै कम्पनीका संचालकहरूले नविकरणका लागि एक साता समय मागेका थिए । सोहीअनुसार महानगरले एक साताको समय थिएको थियो । तर उनीहरूले मागेको समयमा पनि जम्मा ३० कम्पनी नविकरण गर्न आएको पोखरा महानगरका मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले बताए ।

असारसम्म नविकरण नगर्नेको उडान सधैंलाई बन्द
महानगरले चैत्रभित्र नविकरण गर्नेलाई थप ५ हजार जरिवाना तोकेको छ । यस्तै, वैशाखमा आउनेलाई १० र त्यसपछि असारसम्म आउनेलाई १५ हजार जरिवाना लिने निर्णय बैठकले गरेको पोखरा महानगरपालिका राजश्व शाखाका कर अधिकृत छवि शर्माले बताए । असारसम्म पनि नविकरण गर्न नआउने कम्पनीको नविकरण नै नगर्ने र पोखरा क्षेत्रमा उडान भर्न नदिने निर्णय भएको उनले बताए–आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.