हेटौँडामा २० दिने जुत्ता चप्पल मेला, छुटै छुटको वहार

२०७५ चैत १ गते १८:२९ विकासन्युज

हेटौंडा । ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा २० दिने चुत्ता चप्पल मेला सुरु भएको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नारासहित जुत्ता चप्पल व्यापार मेला–२०७५ सुरु भएको हो । मकवानपुर उद्योग वाणिज्य संघ र जुत्ता चप्पल उद्योग संघले मेला आयोजना गरेका हुन् ।

फागुन २९ गते प्रदेश नम्बर ३ का उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले उद्घाटन गरेका थिए । हेटौंडा–२ स्थित पल्पसा हलमा जारी मेलामा मकवानपुरबासीको उत्साहप्रद सहभागीता रहेको मेलाका संयोजक होमनाथ उपाध्यायले जानकारी बताए । मेलामा देशभरका ७ वटा जुत्ता चप्पल उत्पादन गर्ने कम्पनीका ६० वटा र अन्य स्थानीय व्यवसायी गरि करिब ८५ वटा स्टल रहेका छन।

छुट र अफरहरु
मेलामा १५ देखि ६० प्रतिशतसम्म जुत्ता चप्पल खरिदमा छुट उपलब्ध रहेको छ । निःशुल्क प्रवेश पाइने मेलामा बालबालिकादेखि युवा पुस्ता र वृद्धवृद्धाहरुलाई समेत उपयुक्त हुने जुत्ता चप्पलहरु राखिएका छन् । ३ नम्बर प्रदेशको राजधानी समेत रहेको औद्योगीक नगरी हेटौँडामा नेपाली जुत्ता चप्पलहरुका बजार प्रवद्र्धनका लागि मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास मेला संयोजक उपाध्यायले व्यक्त गरे । यस अघि उनीहरुले विराटनगरमा नेपाली जुत्ता चप्पलको वृहत मेला सफल रुपमा सम्पन्न गरिसकेका थिए ।

के के पाइन्छन मेलामा ?
मेलामा नयाँ डिजाइनका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु अवलोकन तथा खरिद गर्न पाइन्छ । नयाँ शैक्षिक सत्र सुरु हुन लागेकाले युनिफर्म, जुत्ता तथा शैक्षिक सामग्री प्रदर्शनीमा राखिएका छन् । मेलामा खरिद गरिएका जुत्ता चप्पलहरुम ६ महिनाको वारेण्टी सुविधा समेत उपलब्ध् रहेको छ । मेलामा बिएफ डियर हिल सुज, कोशेली, हाईलाईफ, क्रस रोड, रोयल सुज, रन सुज र सु ल्याण्डका जुत्ता चप्पलहरु समावेश छन् ।