विदेशी लगानी ऐन हुबहु आए भारत र चीनले दुःख दिन्छः बिनोद चौधरी

  २०७५ चैत १ गते १३:५८     विकासन्युज


काठमाडौँ । संघीय सांसद तथा उद्योगपति बिनोद चौधरीले संसदमा विचाराधीन रहेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ संधोधन बिना पारित भए यसले दीर्घकालीन प्रभाव पार्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको बैठकमा सांसद चौधरीले भने-‘यो विधेयक पारित भए हामीलाई दुःख दिन्छ ।’

हाम्रो छिमेकमा चीन र भारत जस्ता ठूला देश छन्, उनीहरुले उत्पादन गरेको सामानसँग नेपाली उत्पादनले प्रतिष्पर्धा गर्न सक्दैनन् । सरकारको आयातमुखी नीतिका कारण नेपाली उत्पादन फस्टाउन नसक्ने सांसद चौधरीले बताए ।

विधेयकमाथि विशेषज्ञको हैसियतले धारणा राख्दै सांसद चौधरीले नेपालमा वैदेशिक लगानी बढ्न नसक्नुका कारणबारे गहिरो अध्ययन हुनुपर्ने र सोही आधारमा कानून निर्माण गर्नुपर्ने बताए ।

‘वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन (फिटा) लगानीको क्षेत्रमा दूरगामी असर गर्ने ऐन हो । लगानीको भविष्य कोर्ने ऐनलाई पर्याप्त मात्रामा छलफल गरेर मात्रै ल्याउनुपर्छ ।’ सांसद चौधरीले भने- ‘अन्यथा सरकारले सोचेको जस्तो तथा निजीक्षेत्रले चाहेको जस्तो लगानी भित्रिन सक्दैन ।’

नेपालमा विदेशी लगानी प्रवर्धन गर्न सकिएको छ भने त्यसको अनुभव र सकिएको छैन भने त्यसका कारण पहिल्याएर मात्रै आगामी दिशा तय हुनसक्ने विश्लेषण गर्दै सांसद चौधरीले भने– यदि हामीले हतारमा कानून ल्याउनका लागि मात्रै कानून बनायौं भने त्यो अर्को गल्ती हुनेछ । हामी पुरानै समस्यामा रुमलिईरहनेछौँ ।

लगानी सम्मेलन अगाडि आर्थिक क्षेत्रमा सुधारका धेरै कामहरु गर्नु राम्रो रहेको धारणा राख्दै सांसद चौधरीले यो कामलाई समयमै अगाडि बढाएको भए अहिले हतारोमा काम गर्नु पर्दैनथ्यो भने । बैठकमा सांसद चौधरीले सो विधेयकमा संसोधन गर्नु पर्ने कुराहरु लिखित रुपमा प्रस्तुत गरेका थिए ।

समितिका सभापति बिमलप्रसाद श्रीवास्तवको अध्यक्षतामा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ का बारेमा शुक्रबार बैठक बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.