भूकम्प पीडित भन्छन्-हाकिम साप आउँछन्, अबस्था बुझेर जान्छन्, समस्या उस्तै

  २०७५ चैत १ गते १२:३०     राजाराम न्यौपाने


काठमाडौँ । भूकम्प गएको ४ वर्ष पुग्नै लागेपनि सिन्धुपाल्चोक जिल्लाका पीडितहरुको पीडा भने अझैपनि उस्तै छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सहितको टोली बेलाबेलामा आफूहरुको गुनासो सुन्न आउँछन्, तर समस्या डायरीमा टिपेर लगेपनि समस्या समाधान नभएको पीडितहरु बताउँछन् ।

२०७२ साल वैशाख १२ गते गएको भूकम्पका कारण धेरै क्षति हुनेमा सिन्धुपाल्चोक जिल्लामा पनि पर्छ । भूकम्पकाका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा मात्रै १३ हजारभन्दा बढी घरहरू क्षति भएका थिए ।

मेलम्ची नगरपालिका अन्तर्गतका सबै वडाहरुमा भूकम्पले क्षति पुर्याएको थियो । घटनको ४ वर्ष पुग्न लागेपनि अझै स्थानीयवासीन्दा अरूको जग्गामा बस्न बाध्य छन् । ९ सय जनाको गुनासो स्थानीय तहमा दर्ता भएका छन्, तर ती गुनासोको संबोधन अझैपनि हुन नसक्दा स्थानीयवासी दुःखी छन् ।

स्थानीयवासीको गुनासा सुन्न हालै सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा १ को इन्द्रेश्वरी माध्यमिक विद्यालयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजनिक सुनुवाइ आयोजना गरेको थियो ।

सो कार्यक्रममा पीडितहरूले प्राधिकरणका प्रमुख कार्यकारी कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग आफ्ना प्रश्न राखेका थिए । धेरैले आफु भूकम्प पीडित हुँदा पनि लाभग्राहीको सूचिमा नाम नपरेको र किस्ता नपाएको लगायतका विषयमा प्रश्न गरेका थिए ।

केही पीडितहरुले यसअघि पनि प्राधिकरणका तत्कालीन सिइओ युवराज भुसाललाई पनि यसैगरी गुनासो सुनाएका थिए, तर आफूहरुका गुनासो डायरीमा टिपेर लगेकोपनि संबोधन हुन नसकेको बताए ।

सार्वजनिक सुनुवाईमा सिईओ ज्ञवालीलाई प्रश्न सोध्ने एक स्थानीयवासी/भूकम्प पीडित हुन गोमा पाण्डे । उनले भनिन्–‘भूकम्पले घर ढल्यो, पतिलाई पनि लग्यो । घर बनाउन नसकेर छाप्रो बनाएर बस्नु परेको र हुरिबतास र पानी आएका बेला बाँचिदैन जस्तो लाग्छ ।’

अर्का पीडित भीमबाहादुर सार्कीले उनको घर रहेको बस्ती भूकम्पपछि बस्न योग्य नरहेको बताए । जमिन कतै चिरा परेको छ, कतै पहिरोले लगेको छ । करिब २९ घर विस्थापित हुँदा ककेरा टोलको एक बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था थियो । त्यसैका लागि घडेरी किन्न दुई लाख दिने भनिए पनि आफूहरूले नपाएको उनको गुनासो थियो । उनी भन्छन्-‘साहुले मन्जुरी दिएको छ जग्गामा बस्न । तर, जग्गा पास गरेको छैन, घर बनाउन सकिएको पनि छैन ।’

सरकारले भूकम्पबाट विस्थापितहरूलाई दिने भनेको राहत रकम दिए जग्गा आफ्नो नाममा गरेर घर बनाउन पाउने पीडितहरुको भनाई रहेको छ । दुई किस्तामा लिएको पैसाले आफूहरूले अरूको जग्गामा घर निर्माण गरे पनि जग्गा आफूहरूको स्वामित्वमा नआएकाले बिचल्लीमा परेको पीडितहरुको गुनासो छ ।

‘साहुसँग मञ्जुरी लिएर घर बनाइयो । सरकारले जोखिममा परेका बस्तीलाई थप अनुदान दिने भनेर घर बनाउन सुरु गरियो । सरकारले बोलेको कुरा पुरा गर्नुपर्यो । जग्गा हाम्रो नाममा आओस्’–सार्वजनिक सुनुवाई कार्यक्रममा पीडितहरुले भने । स्थानीयवासीहरुको गुनासो सुनिसकेपछि सिइओ ज्ञवालीले भने–‘पीडितहरुको गुनासो संबोधन छिट्टै हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.