ब्राजिलको एक विद्यालयमा गोली चल्दा १० को मृत्यु

  २०७५ फागुन ३० गते १३:२५     विकासन्युज

साओ पाउलो, ब्राजिल । ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोको एउटा विद्यालयमा गोली चल्दा कम्तीमा दश जनाको मृत्यु भएको छ । बुधबार भएको सो घटनामा परी अरु केही घाइते भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

गोली लागेर मृत्यु भएका मध्ये सात जना विद्यार्थी रहेका छन् भने एक जना महिला र दुई जना गोली प्रहार गर्नेमध्येका व्यक्तिहरु रहेको प्रहरीको भनाई छ । स्थानीय समय अनुसार बिहान साढे नौ बजे राउल ब्राजिल पब्लिक स्कुलमा गोली प्रहार भएको हो । प्रारम्भिक विवरणका अनुसार शुरुमा आठ जनाको मृत्यु भएकोमा पछि दश पुगेको हो । मृत्यु हुनेको संख्या अरु पनि बढ्न सक्ने अनुमान गरिएको छ ।

घटनामा परी घाइते भएका १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । घटना थाहा पाउने बित्तिकै अभिभावक र छिमेकीहरु विद्यालयमा पुगेका थिए । उनीहरुमध्ये एक जनाले भने, “यस्तो दर्दनाक घटना त मैले अहिलेसम्म देखेकै थिएन, अत्यन्त दुःखद घटना भयो ।”

साओ पाउलो राज्यका गभर्नर जाओ डोरिआले घटनाका पीडितहरुलाई र उनीहरुका आफन्तलाई सम्बोधन गर्नु अहिलेको प्रमुख प्राथमिकता भएको बताए । रासस÷सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.