स्कूलहरुले दशैं र तिहारको बीचमा बिदा गर्नैपर्ने, वर्षैपिच्छे किताब फेर्न पनि रोक

  २०७५ फागुन ३० गते ८:३४     विकासन्युज

काठमाडौं । विद्यालयहरुले अब दशैं र तिहारको बीचको अवधिमा विद्यार्थीहरुलाई अनिवार्य रुपमा बिदा दिनुपर्ने भएको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागअन्तर्गत शिक्षा समितिले दशैं र तिहारको बीचमा रहने १२ दिनको अवधिमा आफू मातहतका विद्यालयहरुलाई अनिवार्य रुपमा बिदा दिने व्यवस्था गर्न भनेको हो । सो अवधिको बिदासहित विद्यालयहरुले जम्मा ४५ दिनसम्म बिदा दिन पाउनेछन् । जसमा जाडो बिदा बढीमा २४ दिन र गर्मी बिदा तोकिएको भन्दा बढी दिन बिदा नहुने गरी जाडो बिदासँग मिलान गरी दिन सकिने विभागले जनाएको हो । जसअनुसार विद्यालयहरुले २४ दिन जाडो बिदा दिए बाँकी ८ दिन मात्र गर्मी बिदा दिन पाउँछन् । महानगरले आफू अन्तर्गतका विद्यालयहरुलाई वर्षको २२० दिन विद्यालय खोल्न र कम्तिमा १९६ दिन  अविनार्य रुपमा कक्षा सञ्चालन गर्न पनि भनेको छ ।

किताब बेच्न र फेर्न रोक
विभागले विद्यालयहरुलाई आफ्नो विद्यालय हाताभित्र किताब, स्कूल ड्रेस, स्टेशनरी सामान र सन्दर्भ सामाग्रहरु बेच्न वा आफूले चाहेको पसलबाट किताब किन्न समेत रोक लगाएको छ । विद्यालयहरुले आफूले पढाउन चाहेको पुस्तकको सूची र पश्लिकेसनको नाम समेत अभिभावकले देखिने गरी टाँस्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै विद्यालयहरुले एकपटक लागू गरेको पाठ्यपुस्तक कम्तीमा ३ बर्षसम्म फेर्न नपाउने व्यवस्था गरिएको छ ।

हालसम्म विद्यालयहरुले आफ्नो अनुकूलका प्रकाशनको किताब आफैं बेच्ने वा अभिभावकहरुलाई कुनै पुस्तक पसलको नाम दिएर त्यही पसलमा सबै किताब पाउने भन्दै किताब र पब्लिकेशनको नाम नदिने गर्दै आएका थिए ।

वर्षमा ४ ओटा परीक्षा अनिवार्य

विभागले सबै विद्यालयहरुले अनिवार्य रुपमा वर्षमा ४ पटक परीक्षा लिनैपर्ने व्यवस्था गरेको छ जसअनुसार पहिलो परीक्षा असार १३ गतेदेखि २२ गतेसम्म, दोस्रो असोज १ गतेदेखि १० गतेसम्म, तेस्रो पुस ४ गतेदेखि १४ गतेसम्म र चौथो चैत १३ गतेदेखि २१ गतेसम्म परीक्षा लिनुपर्ने गरी तोकिएको छ । तर त्यसरी परीक्षा लिँदा परीक्षा शुल्क लिन पाउने कि नपाउने र पाउने भए कतिसम्म लिन पाउने भन्ने व्यवस्था भने विभागले गरेको छैन ।

स्कूलको नाम नेपालीमा, राष्ट्रिय गान अनिवार्य

विद्यालयहरुलाई आफ्नो विद्यालयको होर्डिङ बोर्डमा अनिवार्य रुपमा नेपालीमा समेत नाम लेख्न, विद्यालय सञ्चालन हुनुअघि अनिवार्य रुपमा राष्ट्रिय गान बजाउन र कक्षा सुरु हुनुअघि अनिवार्य रुपमा कक्षागत गीत समेत बजाउन समेत निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.