केन्यामा १५७ यात्रु बोकेको जहाज दुर्घटनाग्रस्त, बोइङ ७३७ म्याक्सको सुरक्षामाथि प्रश्नचिन्ह

  २०७५ फागुन २७ गते १२:४६     विकासन्युज


वासिङ्टन । छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ । दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो । अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको सुरक्षा बारेमा अहिले सर्वत्र प्रश्न उठाउन थालिएको छ ।

बोइङको महत्वपूर्ण बजार रहेको चीनले ७३७ म्याक्स ८ मोडेलका विमानहरु सोमबारदेखि नउडाउने निर्णय गरेको छ । चीनको यस कदमका कारण अरु देशले पनि यस्तै निर्णय गर्न सक्नेछन् । आइतबार इथियोपियन एयरलाइन्सको ७३७ म्याक्स विमान दुर्घटना हुँदा विमानमा सवार सबै १५७ जना यात्रु र चालक दलका सदस्यहरुको मृत्यु भएको थियो । गत अक्टोबरमा लायन एयरले सञ्चालन गरिरहेको यही मोडेलको बोइङ दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो ।

पछिल्लो दुर्घटनाका बारेमा महत्वपूर्ण सूचना दिने भनेकै फ्लाइट डाटा र ककपिटमा भएका कुराकानी सङ्ग्रह गर्ने दुईवटा ब्लाक बक्स हुन् । यी दुई उपकरणमा सङ्ग्रह हुने सूचनाको विश्लेषणबाट विमानको प्राविधिक समस्या, पाइलटको गल्ती वा अरु कारणहरु पत्ता लाग्न सक्दछ । “पाइलटले कठिनाई अनुभव गरेको र फर्कन चाहेको बताएका थिए । उनलाई फर्कने आदेश दिइएको थियो,” इथियोपियन एयरलाइन्सका प्रमुख कार्यकारी टिवोल्डो गेब्रेमारियमले आदिस अबाबामा पत्रकारहरुलाई बताए ।

विमान उडानका बखत इथियोपियाली राजधानीको मौसम राम्रो थियो । टिल ग्रुपका हवाई विज्ञ रिचार्ड आबुलाफियाले भने, “दुबै दुर्घटनाग्रस्त जहाज एकै मोडेलका हुन् । लायन एयर झैं इथियोपियन एयरलाइन्सको विमान पनि उड्नासाथ दुर्घटना भएको देखिन्छ र पाइलटले पनि प्राविधिक समस्या आएको खबर गर्नासाथ दुबै विमान दुर्घटनाग्रस्त भएका छन् । दुबैमा एकै प्रकृतिको समस्या देखियो ।”

चिनियाँ नागरिक उड्डयन अधिकारीहरुले पनि दुबै ज्यानमारा दुर्घटनाबीच समानता देखिएको बताएका छन् । विमानको सुरक्षामा निश्चिन्त नहुँदासम्म यी मोडेलका विमान उडान रोक्ने निर्णय भएको उनीहरुले बताए । बोइङले ७३७ म्याक्स मोडेलका ७६ वटा विमान चिनीया एयरलाइन्सलाई बिक्री गरिसकेको छ भने अरु १०४ वटा विमानका लागि आदेश दिइसकेको छ ।

लायन एयर दुर्घटनाग्रस्त भएयता ७३७ म्याक्सप्रति उड्डयन क्षेत्रमा चासो र शंकाका दृष्टिले हेर्न थालिएको छ । मे २०१७ मा बोइङले ७३७ म्याक्स विमानको परीक्षण उडान समेत स्थगित गरेको थियो । यस जहाजको इन्जिन फ्रान्सको सफ्रान एयरक्राफ्ट इन्जिन्स र जीई एयिएसनको संयुक्त साझेदारीमा निर्माण गरिएको सीएफएम इन्टरनेसनल नामको कम्पनीले बनाएको हो ।

जनवरीको अन्त्यतिर बोइङले दुई इन्जिनयुक्त न्यारो–बडीका ३५० थान विमान बिक्री गरेको थियो जबकी बोइङसँग पाँच हजार ११ थान जहाजको माग आएको थियो । पछिल्लो दुर्घटना बोइङ कम्पनीका लागि ठूलो क्षति हो । कम्पनीले बोइङ ७३७ म्याक्सलाई पछिल्लो पुस्ताको उत्कृष्ट विमान भन्दै दाबी गरिरहेको थियो । यस सिरिजको जहाज करिब १० हजार उत्पादन भइसकेका छन् ।

“अर्को दशकमा बोइङका लागि म्याक्स निकै महत्वपूर्ण कार्यक्रम हो । सन् २०३२ सम्म कम्पनीका उत्पादनको करिब ६४ प्रतिशत हिस्सा यही मोडेलको हुनेछ,” बजार विश्लेषक मिसेल मार्लुजीले बताए । “विश्वको यातायात र व्यापारका लागि यो अत्यावश्यक साधन हो ।”

बोइङले इथियोपियन एयरलाइन्स दुर्घटनाबाट आफूहरु अति दुःखी भएको जनाएको छ । अनुसन्धानकर्ताहरुलाई बोइङका प्राविधिकहरुले पूर्ण सहयोग गर्ने पनि बोइङको भनाई छ ।

विज्ञहरुले पछिल्ला दुई घटनाले बोइङको बजार प्रभावित हुन सक्ने बताएका छन् । तर कम्पनीलाई हुन सक्ने क्षति सीमित मात्र हुनेछ किनभने यसको प्रतिस्पर्धी हाल एयरबस कम्पनीमात्र रहेको छ । बोइङको प्रतिष्ठा र अस्तित्वसँगै जोडिएकाले कम्पनीले सबै किसिमका प्राविधिक समस्या सुल्झाउन भरमग्दूर प्रयत्न पनि गर्नेछ ।

इन्डोनेसियामा अक्टोबर २९ मा भएको दुर्घटनापछि नै हवाई उड्डयन क्षेत्रका विज्ञहरुले विमानका बारेमा पर्याप्त सूचना सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका थिए ।

बोइङ ७३७ म्याक्स तत्काल नउडाउनु-चिनियाँ अधिकारी
चीनले आन्तरिक एयरलाइन्स कम्पनीहरुलाई बोइङ ७३७ म्याक्स ८ मोडेलका विमानहरुको व्यापारिक, व्यावसायिक उडान तत्काल स्थगन गर्न निर्देशन दिएको छ । यही मोडेलका दुई वटा विमान छ महिनाको अन्तरालमा उड्नासाथ दुर्घटनाग्रस्त भएपछि चीनले यो कदम चालेको हो । दुबै दुर्घटनामा एकै किसिमका समस्या देखिएको भन्दै चीनको नागरिक उड्डयन प्रशासनले अर्को आदेश नहुँदासम्म सबै ७३७ म्याक्स ८ मोडेलका विमानहरु नउडाउन निर्देशन दिएको छ ।

प्रशासनले जारी गरेको एक वक्तव्यमा उडान सुरक्षामा भरपर्दो र सुनिश्चितता भएपछि मात्र उडान पुनः शुभारम्भ हुने उल्लेख गरेको छ । वक्तव्यमा उड्डयन प्रशासनले अमेरिकी सङ्घीय नागरिक उड्डयन प्रशासन र बोइङसँग परामर्श गरिने बताइएको छ । बोइङ र कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोमाक) ले चीनको झाउसानमा स्थापना गरेको प्लान्टमा ७३७ म्याक्स विमानको भित्री साजसज्जा गर्ने गरिएको छ ।

यो कारखानाबाट गत डिसेम्बरमा एयर चाइनाका लागि ७३७ म्याक्स जहाज बिक्री गरिएको थियो । यो विमान अमेरिकाको वासिङ्टनको रेन्टोनमा एसेम्बल गरिन्छ र भित्री साजसज्जाका लागि झाउसान ल्याउने गरिन्छ ।

इथियोपियन एयरलाइन्सद्वारा ७३७ म्याक्सका उडान स्थगित
इथियोपियन एयरलाइन्सले बोइङ ७३७ म्याक्स मोडेको विमान दुर्घटनाग्रस्त भएसँगै यस मोडेलका अरु विमान तत्काल नउडाउने निर्णय गरेको छ । “इटी ३०२ को दुखदायी दुर्घटनासँगै इथियोपियन एयरलाइन्सका सबै बी-७३७-८ म्याक्स विमानहरुको उडान अर्को सूचना जारी नहुँदासम्म स्थगन गरिएको छ,” एयरलाइन्सका तर्फबाट जारी ट्वीटमा भनिएको छ । इथियोपियन एयरलाइन्स इथियोपियाको राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी हो । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.