एक हजार ५४८ सवारीकाे पाङ्गामा ट्राफिककाे ताल्चा, जरिवाना १००० रूपैयाँ

  २०७५ फागुन २७ गते ९:५६     विकासन्युज

काठमाडौं ।ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा ताल्चा) लगाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न उक्त सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाएको बताए । “बाटोमा जथाभावी पार्किङ गरेर हिँड्ने सवारी साधनलाई कारवाहीस्वरुप ह्वील लक लगाएर कारबाही गरेका हौँ”, उनले भने ।

मङ्सिर ८ गतेदेखि शुरु गरिएको उक्त अभियानमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई ‘ह्वील लक’ लगाएर कारवाही गरिँदै आएको हो । महाशाखाले सडकलाई अवरोध पुर्याउने गरेर जथाभावी रुपमा पार्किङ गर्ने सवारी साधनलाई ह्वील लकसँगै रु ५०० देखि एक हजारसम्म जरिवना गर्दै आएको छ ।

ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्ने गरेको छ ।

महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्ने व्यवस्थासमेत गरेको छ ।

यस्तै महाशाखाले लेन अनुशासन कारवाही, मादकपदार्थ सेवन (मापसे) कारवाही, सिसीटिभी कारवाही, गोप्रो बडिवान क्यामरालगायतका कारवाही गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.