बीमाको प्रिमियम अब अनलाइनबाटै, मेट–लाइफको प्रिमियम इसेवाबाट तिर्न सकिने

  २०७५ फागुन २६ गते १९:५९     विकासन्युज

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवा मार्फत अबदेखि अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी, मेट–लाइफको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ । इसेवा मार्फत पहिलो पटक जीवन बीमाको प्रिमियम भुक्तानी गर्न सकिने सेवा सुरू भएको हो । इसेवाबाट विभिन्न ८ वटा निर्जिवन बीमा कम्पनीको पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ । पहिलो पटक जीवन बीमा कम्पनीले अनलाइन मार्फत प्रिमियम भुक्तानी लिन सुरू गरेको हो ।

अनलाइन प्रिमियम भुक्तानी सम्बन्धि सम्झौतापत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र मेटलाइफको तर्फबाट भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरेका छन् । जीवन बीमाको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवा फोन पे प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुभस सापकोटाले भने ‘ हाम्रो सहकार्यले हाल जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर अथवा एजेन्टसम्म पुग्नुपर्ने बाध्यतालाई अन्त्य गरिदिएको छ, अबदेखि बिमितहरूले घरमै बसेर सजिलै प्रिमियम भुक्तानी गर्न सक्नुहुनेछ । ’

यस्तै मेटलाइफ नेपालका भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले भने , ‘हामी हाम्रा ग्राहक महानुभावलाई अनलाईनबाट प्रिमियम भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा एकदमै हर्षित छौँ । ग्राहकको प्रतिक्रिया अनुरुप हामीले इसेवा संगको सहकार्यमा यो सेवा सुचारु गरेका हौँ । ग्राहक केन्द्रित कम्पनीको रूपमा, हामी सधैं हाम्रो ग्राहकहरूको अनुभव सुधार गर्न लागिपरेका छौं र हामी थप डिजिटाइजिङ तिर जाँदैछौं साथै हाम्रो ग्राहकहरूको सुविधाको लागि हाम्रो प्रक्रियालाई सरल बनाउनेछौं ।

देशभर ४५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेका छन् । इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब १० लाख माथि पुगिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

यस्तै १ सय ५० वर्ष पुरानो अमेरिकन लाइफ इन्स्सोरेन्स् कम्पनीको शाखाका रूपमा नेपालमा मेटलाइफले सन् २००१ देखि सेवा दिँदै आएको छ । विश्वका ४० देशमा अमेरिकन लाइफ इन्स्योरेन्स्का शाखा रहेका छन् । नेपाली बीमा बजारमा आग्रणी मानिने मेटलाइफले हरेक समय नयाँ र सर्वसाधारणका लागि उपयोगी जीवन बीमा योजना सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.