सार्वजनिक यातायातमा आफुखुशी भाडा वृद्धि, के हेर्दैछ यातायात व्यवस्था विभाग ?

  २०७५ फागुन २५ गते १२:००     विकासन्युज

काठमाडौँ । कम्पनीमा दर्ता भई यातायात व्यवस्था विभागमा पञ्जीकरण भएका केही यातायात समितिले आफूखुशी सार्वजनिक यातायातको भाडा बढाउन थालेका छन् । विभागले भाडा नबढाए पनि व्यवसायीले आफूखुशी बढाएको भनी बढी भाडा लिन थालेका हुन् । बाबा गोकर्णेश्वर र सुन्दरीमाई यातायात कम्पनीका नाममा दर्ता भएका व्यवसायीले यसरी भाडा बढी लिएको यात्रुको गुनासो छ ।

बाबा गोकर्णेश्वर सञ्चालन हुने रत्नपार्क–साँखु, रत्नपार्र्क–दक्षिणकाली मार्गमा अन्य यातायातले भन्दा बढी लिइरहेको यात्रु रामचन्द्र सिम्खडाले बताए । रत्नपार्कबाट थलीसम्म बज्रयोगिनीलगायत अन्य कम्पनीका सवारीले २५ भाडा लिने गरेकामा बाबा गोकर्णेश्वरले ३० लिन्छ । साँखुसम्मको भाडा पनि अन्य सवारीको भन्दा पाँच बढी लिने गरेको उनले बताए ।

यसैगरी सुन्दरीमाई यातायात समितिले भने फागुन ७ गतेदेखि भाडा बढाएको भन्दै आफूखुशी भाडा लिन थालेको छ । यसअघि रत्नपार्क–सुन्दरीजलको भाडा २४ तोकिएकामा फागुन ७ गते बढाएको भन्दै छ बढी अर्थात् ३० असुल्न थालिएको यात्रु सविना घिमिरेले बताइन् ।

विभागले असोज ७ गतेपछि भाडा बढाएको छैन । कम्पनीका कार्यालय प्रमुख उपेन्द्र न्यौपाने भने विभागले असोज ७ गते गरेको भाडा वृद्धिकै आधारमा फागुन ७ गते समायोजन गरिएको दाबी गरे । असोजदेखि फागुन ७ गतेसम्म सुन्दरीमाई यातायातले तोकिएको भाडा २४ भए पनि २५ लिएर यो मार्गमा सवारी चलाउँदै आएको थियो ।

विभागको वेबसाइटमा अहिले पनि असोज ७ गतेपछि भाडा नबढाइएको उल्लेख छ । यस वर्ष असोज ७ गते पनि बडादशैँको अग्रिम भाडा खोल्नुपूर्व व्यवसायीले दिएको दबाबका कारण भाडा वृद्धि भएको थियो । सुन्दरीमाई यातायात कम्पनीले बेलुकी ८ बजेपछि विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई ४५ प्रतिशत छुट पनि नदिएको यात्रु घिमिरेले बताए ।

सवारी तथा यातायात व्यवस्था ऐन र नियमावलीमा सवारीले टिकट दिएर यात्रा गराउनुपर्ने उल्लेख भए पनि यो व्यवस्था अझै कार्यान्वयन हुन सकेको छैन । उपभोक्ता मञ्चका उपाध्यक्ष रोशन पोखरेल ऐनमा भएको यातायात निरीक्षकको व्यवस्था विभागले नगर्दा यातायात क्षेत्रका धेरै समस्या समाधानमा भन्दा जटिल बन्दै गएको बताउँछन् । ऐन बनेको २६ वर्षसम्म पनि कार्यान्वयन नहुँदा यात्रु मर्कामा पर्ने गरेको उनले सुनाए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.