भृकुटीमण्डपमा १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु, ५ दिनमा १५ करोडको कारोबार हुने महासंघको अपेक्षा

  २०७५ फागुन २४ गते १६:५१     विकासन्युज


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ को शुक्रबार राजधानीमा एक समारोहका बीच उद्घाटन गरेकी छिन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमा आयोजनामा गरेको महोत्सवको उद्घाटन समारोहमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरूको मुलुकको आर्थिक समृद्घिका लागि ठूलो योगदान रहेको बताए ।

समृद्घिको मुख्य आधार नै साना उद्योग भएको भन्दै उनले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताए ।  उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको नारालाई पूरा गर्नका लागि यस्ता उद्योगहरुको प्रवद्र्घन, विकासमा ध्यान दिनुपर्ने आवश्यकता औैंल्याए ।

आर्थिक समृृद्घिको अभियानमा कुनै पार्टी या समुह नभनेर सबैलाई समेटेर अगाडि बढ्ने भन्दै मन्त्री यादवले भने–‘मुलुकमा ८०–९० वर्षदेखिको राजनीतिक व्यवस्था परिवर्तको आन्दोलन सकिएको छ, अबको आन्दोलन भनेको आर्थिक समृद्घिका लागि हो ।’
नेपालमा भएको कच्चा पदार्थ र कृषिजन्य उत्पादनको व्यवसायीकरण गर्नुपर्नेमा जोड दिंदै उनले भने– ‘कृषिप्रधान मुलुक जहाँ ५० प्रतिशत जनशक्ति कृषिमा लागेका छन् । तर सारा कृषिजन्य उत्पादन आयात गरेर खान्छौं ।’

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५८ सालबाट नेपाल घरेलु तथा साना उद्योग महासंघले शुरु गरेको औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै यसपटक १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योेग महोत्सव र तेश्रो प्रांगारिक कृषि मेला–२०७५ को नामबाट सञ्चालन भएको बताए ।

मुलकले अहिले वार्षिक १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार घाटा व्यहोरिरहेको भन्दै उनले भने– ‘एकातिर हामी दैनिक उपभोग्य बस्तुका सामान समेत विदेशबाट आयात गरिरहेका छौं भने अर्कोतिर हाम्रा निर्यातयोग्य उत्पादन समेत निर्यात गर्न सकिरहेका छैनौं । निर्यातले मात्र हाम्रो व्यापार घाटा पुर्ति गर्नसक्ने अवस्थामा हामी छैनौं, तथापी स्वदेशी उत्पादनको उपयोगबाट मात्र हामीले यसलाई कम गर्न सक्छौं । त्यसैले हामीले यस मेलाको मूल उद्देश्य “मेहनत सिर्जना, उत्पादन र वस्तु मेरै” नेपालको र “नेपाली वस्तु प्रयोग गरौं नेपाली भएकोमा गर्व गरौं” भन्ने नारा मार्फत प्रकट गरेका छौं ।’

समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अभियानका रुपमा सञ्चालन गर्ने उद्घोष गरेको वर्तमान सरकारको कार्य मुलुकको समृद्धीतर्फ केन्द्रीत हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको मेला संयोजक तथा महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए ।

महोत्सवको सह-आयोजक अर्गानिक एसोसियसन अफ नेपाल रहेको छ । नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौं महानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगकोे सहकार्यमा यस प्रदर्शनी आयोजना गरिएको हो ।

पाँच दिनसम्म चल्ने मेलामा २०५ वटा स्टल रहेका, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी रहेको, चीन, भारत र वंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेका छन्, पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.