टेस्लाले चीनमा विद्युतीय कार उत्पादन कारखाना निर्माण गर्ने, ५२ करोड डलर ऋण प्राप्त

  २०७५ फागुन २४ गते १३:४९     विकासन्युज

शाङ्घाई । विश्वविख्यात विद्युतीय कार निर्माता कम्पनी टेस्लाले चीनमा विद्युतीय कार निर्माणका लागि कारखाना खोल्न चिनियाँ बैंकबाट ५२ करोड डलर ऋण प्राप्त गरेको छ । यो कारखाना शाङ्घाई नजिक निर्माण गरिने कम्पनीले जनाएको छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित उक्त कम्पनीले चीनमा कारखाना निर्माण गर्ने बताए पनि पुँजी जुटाउन बेइजिङसँग वार्ता गरिरहेको थियो । टेस्ला कम्पनी विश्वकै सबैभन्दा ठूलो विद्युतीय कार निर्माता हो । चीनको कारखानामा टेस्लाले मोडेल ३ का सेडान कारहरु उत्पादन गर्नेछ । प्रारम्भमा यहाँबाट सातामा ३ हजार कार उत्पादन हुनेछन् भने वार्षिक पाँच लाख थान कार उत्पादन गर्ने लक्ष्य कम्पनीको छ । कार उत्पादन यसै वर्षको अन्त्यदेखि हुनेछ ।

टेस्लाका प्रमुख कार्यकारी एलन मस्क गत जनवरीमा चीनको भ्रमण गरेका थिए । चीनमा रहँदा उहाँले कार उत्पादन कारखाना स्थापना र सञ्चालनका लागि स्थानीय चिनीया बैंकहरुसँग पूँजीका लागि छलफल गरेका थिए । टेस्लाले चिनियाँ औद्योगिक तथा बाणिज्य बैंक, चाइनिज कन्स्ट्रक्सन बैंक, कृषि बैंक र शाङ्घाई पुदोङ विकास बैंकबाट ५२ करोड १० लाख ऋण रकम प्राप्त गरेको छ ।

टेस्लाको उक्त घोषणासँगै न्यूयोर्क शेयर बजारमा दुई प्रतिशतभन्दा बढीले सेयर कारोबार भएको छ । चीन विश्वकै सबैभन्दा ठूलो कार बजार हो र वर्षौंदेखि कारको बिक्री निरन्तर बढ्दो छ । तर सन् २०१८ मा २।८ प्रतिशतले कार बिक्री घटेको चिनीया अधिकारीहरुले जनाएका छन् ।

विद्युतीय कारको बिक्रीमा भने निरन्तर सुधार आएको छ । गत वर्ष विद्युतीय सवारी साधनको बिक्रीमा ६२ प्रतिशतले वृद्धि भएको छ ।चीनमा विद्युतीय कार उत्पादनमा बीएआईसी, बीवाईडी र जोट्ये पनि अग्रणी स्थानमा छन् । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.