जन्म दिनमा माधव नेपाललाई युवाहरुको ‘सरप्राइज’

  २०७५ फागुन २३ गते २२:५४     विकासन्युज

काठमाडौं । बिहिबार पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालको ६७ औं जन्म दिन । फोन, एसएमएस र भेट मार्फत उनलाई जन्मदिनको शुभकामना निरन्तर आईरहेकै थियो । नेता नेपाल नियमित झै बिहिबार पनि बिहानै देखि पार्टी काममै व्यस्त थिए ।

स्वर्गिय भरतमोहन अधिकारी तथा रबिन्द्र अधिकारीको श्रद्धाञ्जली समारोहमा सहभागी भएर उनी निजी निवास कोटेश्वरमा आराम गरिरहेका थिए । आफ्नो आँगनमा एकाएक कार्यकर्ताको चहल पहल बढेको खबर पाएपछि उनी आश्चर्यमा परेका रहेछन् । अकस्मात कार्यकर्ताहरुको भीड लागेपछि बुझ्न भनेर उनी जब आँगनमा आए तब युवाहरुले उनलाई सरप्राइज दिए । त्यो सरप्राइज थियो जन्म दिनको अवसरमा नेता नेपालका लागि केक काट्ने व्यवस्था ।

उनका लागि त्यो सरप्राइजको जोहो गरेका थिए अखिल, युवा संघ र चौतारीका कार्यकर्ताहरुले । नेता नेपाललाई सरप्राइज केक उपहार दिन युवा संघका उपाध्यक्ष हस्त शाही, क्रान्ति बुर्लाकोटी, स्थायी कमिटी सदस्य मिन गौतमसहितको एउटा टोली केक बोकेर पुगेको थियो भने अनेरास्ववियुका सचिव सुदेश पराजुली, वसिम आलम, युवा नेता जीवन राई लगायतको टोली अर्काे केक बोकेर पुगेको थियो ।

नेता नेपाललाई शुभकामना दिन उनको निजी निवासमा सांसद प्रेम आलेमगर, युवा नेता सोभित ढकाल, उपेन्द्र पौडेलसहित सैयौं कार्यकर्ता जम्मा भएका थिए । जन्म दिनको शुभकामनासहित केक बोकेर आएका कार्यकर्तालाई नेता नेपाल भन्दै थिए–यो त मेरो लागि तपाईहरुको तर्फबाट सरप्राइज नै भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.