डेरी उद्योग विदेशी लगानी खुला नगर्न व्यवसायीकाे माग

  २०७५ फागुन १९ गते १६:१५     विकासन्युज

काठमाडाैं । संघीय संसदमा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक’मा डेरी उद्याेगमा विदेशी लगानी खुला गर्न लागेकाे भन्दै डेरी उद्योगीहरुले आपत्ति जनाएका छन् । सरकारले डेरी उद्योगको क्षेत्रमा विदेशी लगानी भित्र्याएर नेपाली डेरी उद्योग र किसानलाई समाप्त पार्न खोजेको आरोप लगाउँदै डेरीको क्षेत्रमा आउने विदेशी लगानीलाई रोक्न आग्रह गरेका छन् ।

नेपाल डेरी एशोसिएशन र डेरी उद्योग संघले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डेरी उद्योगी सुमित केडियाले सरकारले आफूहरुलाई उठीवास गराउन चाहेको आरोप लगाए । उनले भने,’राज्यले विदेशी लगानी भित्र्याएपछि बाध्य भएर कारोवार छाडेर वैदेशिक रोजगारमा जानुपर्छ या कुनै उद्योगमा काम गर्नुपर्छ ।’

‘डेरी क्षेत्रमा ३० अर्बको लगानी छ । वार्षिक एक अर्ब रूपैयाँ भन्दा बढी कर तिरिरहेका छौं । गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराई रहेका छौं । बजारकाे आवश्यकता पूरा गरिरहेका छौं भने यहाँ किन चाहियो विदेशी कम्पनी ?’ उनले प्रश्न गरे ।

‘विदेश लगानी त्यो क्षेत्रमा भित्र्याउनु पर्छ जहाँ लगानी छैन, उद्योग छैन, काम गर्ने मान्छे छैन, उत्पादन छैन, डेरी क्षेत्र त आफैमा सक्षम हुँदा हुँदै पनि राज्यले विदेशी कम्पनी ल्याउन लागेको छ’ भन्दै उनले सरकारप्रति असन्तुष्टि व्यक्त गरे ।

नेपाल दुध विकास संस्थान (डिडिसी) का महाप्रबन्धक इश्वरीराज न्यौपानेले विदेशी लगानीले नेपालका किसान र उद्योगी धारासायी बनाउने बताए ।

डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले नेपालीका डेरी उद्योग सक्षम भइसकेको कुरा सरकारले स्वयं स्वीकार गरिसकेको भएपनि विदेशी लगानी भित्र्याउन खाेजेर गलत काम गरेकाे बताए ।

नेपालमा हाल झण्डै एकहजार ८५० डेरी उद्योग सञ्चालन रहेको बताउँदै उनले सबै उद्योग आ-आफ्नाे क्षेत्रमा सफल रहेको दावी गरे । देशको कुल गृह्रास्थ उत्पादनमा कृषिले मात्र २९ प्रतिशत योगदान दिइरहेको छ त्यसमा दुध क्षेत्रले नौ प्रतिशत योगदान दिइरहेको बताउँदै उनले यसलाई धारासायी हुनबाट बचाउन सबैको कर्तव्य रहेको बताए ।

दुध क्षेत्रमा ३० अर्ब लगानी रहेको र २० हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको उल्लेख गर्दै उनले यस क्षेत्रबाट दैनिक तीन करोड रुपैयाँ शहरबाट गाउँमा गइरहेको बताए । भारतमा उत्पादन भएको दुध त्यहाँ खपत नभइरहेको अवस्थामा आमुलमार्फत नेपाल ल्याएर बेच्ने षड्यन्त्र भइरहेको बताउँदै उनले भारतले अफ्रिकी तथा सार्क देशलाई केन्द्रविन्दु बनाएर भारतले आफ्नो दुध खपत गरिरहेको बताए ।

एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले विभिन्न बहानामा आमुल जस्ता अन्तराष्ट्रिय कम्पनी भित्र्याउने काम भइरहेको आरोप लगाए । ‘यो क्षेत्रमा पाँच लाख भन्दा बढी किसान लागेका छन् । यदि विदेशी लगानी आयो भने ती सबै किसानको हालत के हुने हो ?  त्यसको बारेमा कसैले सोचेका छन् ? उनले प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.