बिपी कोइराला अस्पतालको चैतदेखि आफ्नै फार्मेसी सञ्चालनमा आउँदै, औषधिकाे मूल्य ६०% सस्ताे हुने

  २०७५ फागुन १९ गते १६:१५     विकासन्युज

चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउँदो चैत्र अन्तिम सातादेखि आफ्नै  फार्मेसी सञ्चालनमा ल्याउने भएको छ ।क्यान्सरका बिरामीलाई प्रयोग हुने औषधि महँगो हुने भएकाले अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा आएपछि बिरामी लाभान्वित हुने जनाइएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार चैत अन्तिम सातादेखि फार्मेसी सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । फार्मेसीमा काम गर्ने १० जना कर्मचारी नियुक्त भइसकेको बताउँदै उनले तीन ठाउँमा फार्मेसी सञ्चालन हुने जानकारी दिएका छन्। चौबिसै घण्टा फार्मेसी सञ्चालन गरिनेछ ।

सञ्चालक समितिले औषधि खरिदका लागि बोलपत्र स्वीकृत गरिसकेको छ । निर्देशक आचार्यका अनुसार अस्पतालको आफ्नै फार्मेसी भएपछि ६० प्रतिशतसम्म सस्तोमा औषधि बिरामीले पाउने छन् । अस्पतालमा हाल रहेको साझाको फार्मेसीले औषधि बिक्री गर्दै आएको छ ।

अस्पतालमा आउने बिरामीले भित्र रहेका फार्मेसीबाट एक वर्षमा २० करोड हाराहारीको केमो मात्र खरीद गर्ने गरेको उनको भनाइ छ । महँगो केमोबाट हाल बिरामी ठगिएको गुनासो आउने गरेका छन् । आफ्नै फार्मेसी भएसँगै यो समस्या हल हुने विश्वास अस्पतालले लिएको निर्देशक आचार्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.