भारत पाकिस्तानबीच तनाव : भारतीय शेयर बजारमा गिरावट

  २०७५ फागुन १६ गते १०:४४     विकासन्युज

मुम्बई । भारत र पाकिस्तानबीच देखिएको तनावका कारण बुधबार बिहान भारतीय शेयर बजारमा एक्कासी गिरावट आएको छ ।

लगानीकर्ताहरूले सीमाना क्षेत्रमा भएको तनाव लामो नरहने विश्वास गरेका छन् । बुधबार दिउसो पाकिस्तानी विमानले भारत प्रशासित काश्मिरको आकाशमा छिरेको भन्दै भारतीय लडाकू विमानले प्रतिरक्षा गरेपछि पाकिस्तानी विमान फर्केको भारतीय अधिकारीको दावी गरेका छन् ।

तनावका कारण बुधबार बिहान ११ बजे बम्बई स्टक एक्सचेन्ज एस एण्ड पी सेन्सेक्स कारोबारमा ३६ हजार ३६२ अङ्कको हाराहारीमा रहेकोमा मध्यान्न १२ः१५ सम्ममा व्यापक गिरावट देखिएको थियो । मध्यान्हसम्ममा ६१५ अङ्कको भारी गिरावट आई ३५ हजार ७४७ मा भरेको थियो । यद्यपि भारत र पाकिस्तानबीचको तनाव लामो समयसम्म नरहने बिश्लेषकहरूको भनाइसँगै बुधबार अपरान्ह्सम्ममा कारोबारमा सुधार आई ३५ हजार ९०५ अङ्कका साथ कारोबार बन्द भएको छ ।

त्यसैगरी राष्ट्रिय स्टक एक्सचेन्ज निफ्टी ५० मा २९ बुधबार २९ अङ्कले गिरावट आई कारोबार १०,८०७ अङ्कसाथ बन्द भएको छ । बुधबार शेयरमा खास गिरावट आएका प्रमुख कम्पनी तथा फर्महरूमा विप्रो, इन्फ्रेटर, भेन्दाता, भारती पेट्रोलियम कर्पोरेसन लिमिटेड र टाटा मोटर्स देखिएका छन् ।

व्यवसायीहरूले भू–राजनीतिक तनाव थप केही दिन जारी रहेमा स्टक बजारमा पनि अनिश्चितता देखिनसक्ने बताएका छन् । यदि भारत पाकिस्तानको नकारात्मक मनोभाव कायम रहेमा बैंक, वित्तीय संस्थान, आधारभूत संरचना, धातु र गाडी कम्पनीहरूको शेयरमा प्रभाव पर्ने अनुमान गरिएको छ ।

यसैबीच, एशियाली स्टक बजारमा भने बढ्दो भू–राजनीतिक विवादको खतराको प्रभाव मिश्रित देखिएको छ । प्रायः एशियाली बजारले भारत–पाकिस्तान विवादलाई गौण देखेका र अमेरिका–चीन व्यापारमा विवादको निश्कर्षलाई नै हेरेका बजार विश्लेशकहरूको भनाई छ ।

बजार विज्ञहरूले बुधबार भियतनामको राजधानी हनोइमा भइरहेको अमेरिका–उत्तर कोरिया शिखर सम्मेलन र यसले दिने परिणामलाई पनि एशियाली बजार सूचकका रूपमा हेरेका छन् । यदि अमेरिकाले उत्तर कोरियालाई आणविक निशस्त्रीकरण गराउन सफल बनेमा एशियाली बजारमा यसको उल्लेख्य लाभ हुने बताइएको छ । रासस/एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.