चिनियाँ सामानमाथि करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा

  २०७५ फागुन १३ गते १३:३७     विकासन्युज

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनियाँ सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताए ।

दुई मुलुकबीचको व्यापार सम्झौताका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिखर वार्ता हुने अपेक्षा गरिएको पनि राष्ट्रपति ट्रम्पले जानकारी दिए ।

अर्को दुई साताभित्रै “निकै ठूलो समाचार” आउनेछ, राष्ट्रपति ट्रम्पले भने । वार्तामा थप प्रगति भएमा अमेरिकाको फ्लोरिडास्थित राष्ट्रपति ट्रम्पको मार–ए–लेगो रिसोर्टमा चिनियाँ राष्ट्रपति सीलाई भेट्ने योजना रहेको पनि ट्रम्पले बताए । आइतबार सम्पन्न भएको तर चार दिनदेखि वासिङ्टनमा जारी वार्तामा दुई मुलुकका वरिष्ट अधिकारीहरुले भाग लिए ।

संयुक्तराज्य अमेरिकाले वार्तामा सहमति नभए आगामी मार्च १ तारिखदेखि नै लागू हुनेगरी करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत कर लगाउने राष्ट्रपति ट्रम्पले घोषणा गरिसकेका छन् । तर, राष्ट्रपति ट्रम्पले वार्ता निकै सन्तोषजनक रुपमा अघि बढेकाले मार्च १ तारिखको सीमालाई बढाउन आफू तयार रहेको जानकारी दिए ।

“चीनसँग जारी व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेकामा मलाई खुशी लागेको छ । खासगरी, चीनले बौद्धिक सम्पत्तिको संरक्षण, प्रविधि हस्तान्तरण, कृषि, सेवा, मुद्रा तथा अरु विविध विषय समेतका महत्वपूर्ण संरचनागत मुद्दामा सकारात्मक जवाफ दिएको छ,” ट्रम्पले ट्वीट गर्दै भनेका छन् ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले पनि वार्तामा निकै सकारात्मक प्रगति भएको जनाएको छ । चिनीया व्यापार वार्ता प्रतिनिधिमण्डलको नेतृत्व उपप्रधानमन्त्री लिउ हे ले गरेका हुन् । “वार्ता निकै सकारात्मक रुपमा अघि बढेकाले सम्झौतालाई अन्तिम रुप दिन फ्लोरिडामा शिखर बैठकको तयारीमा लागेका छौं,” ट्रम्पले भने । “अमेरिका र चीनका लागि निकै सन्तोषजनक सप्ताहान्त ।” रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.