बंगलादेशी विमान अपहरणको प्रयास गर्ने व्यक्ति ‘प्रधानमन्त्रीसँग कुरा गर्न चाहन्थे’

  २०७५ फागुन १३ गते १२:१८     विकासन्युज


काठमाडौँ । आइतवार साँझ बंगलादेशको सरकारी वायुसेवा कम्पनीद्वारा सञ्चालित एउटा यात्रुवाहक विमान अपहरणको प्रयास भएको समाचार आयो । विमान अपहरण गर्ने खोज्ने एक व्यक्तिलाई पछि गोली हानेर मारिदिएको सेनाले पुष्टि गरेको छ ।

एक सय ४२ जना यात्रु र चालक दलका छ सदस्यसहित राजधानी ढाकाबाट दुबई उडेको सो विमानलाई चटगाउँमा आकस्मिक रूपमा ओरालिएको थियो । आफूसँग पेस्तोल भएको दाबी गर्ने एक युवकले व्यक्तिले विमान अपहरण गर्ने प्रयास गरेको बताइएको छ ।

आत्मसमर्पण गर्न नमानेपछि ती व्यक्तिलाई सेनाले विमानभित्रै गोली हान्यो । पछि उनको मृत्यु भयो । ती सन्दिग्धले किन विमान अपहरणको प्रयास गरे त्यो चाहिँ स्पष्ट भइसकेको छैन ।

को हुन् उनी ?
पच्चीस वर्षको उमेर भएको ठानिएका ती व्यक्ति बंगलादेशी नागरिक हुन् । पहिला उनी मानसिक रोगी भएको ठानिएको थियो । उनको नाम मेहदी भएको बताइएको छ। उनले शङ्कास्पद गतिविधि गर्दै विमान अपहरण गर्न खोजेको सङ्केत दिएपछि विमानका कर्मचारीहरू चनाखो भएको अधिकारीहरूले बताएको समाचारसंस्था रोएटर्सले उल्लेख गरेको छ।

त्यसपछि विमानलाई तुरुन्तै शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालियो र सुरक्षाकर्मीले त्यसलाई घेरा हाले । आकस्मिक अवतरण गरेपछि सुरक्षाकर्मीहरू विमानभित्र छिरेका थिए र विमानमा भएका सबैलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।

सोही विमानमा यात्रा गरिरहेका सांसद मोइनउद्दिन खान बादलले सञ्चारकर्मीलाई बताएअनुसार एक यात्रुले हतियार देखाउँदै विमान अपहरण गर्न खोजेका थिए । ती व्यक्तिले प्रधानमन्त्री शेख हसिना र आफ्नी पत्नीसँग आफ्नो कुरा गराउन विमान चालकलाई भनेका थिए ।

बीबीसी बंगलामा प्रकाशित एउटा विवरणका अनुसार उनले विमानचालकको टाउकोमा पेस्तोल ताक्दै पत्नीसँग खटपट भएको र त्यसबारे प्रधानमन्त्रीसँग कुरा गर्न खोजेको बताएका थिए । मेजर जनरल मोतिउ रहमानले भने,–हामीले उनलाई पक्राउ गर्न वा आत्मसमर्पण गराउन खोज्यौँ। तर उनले मानेनन् र हामीले गोली हान्यौँ । ती सन्दिग्ध व्यक्तिको शरीरबाट एउटा पेस्तोल फेला परेको सेनाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.