ओरेन्टल पीडितलाई मागदाबी गर्न फेरि बाेलाइयाे, अरू ९ सहकारीकाे पनि व्यवस्थापन सुरू

  २०७५ फागुन ९ गते ९:०७     विकासन्युज

 काठमाडौं । ओरेन्टल सहकारीका पीडितहरुलाई फेरि मागदाबी गर्न बोलाइएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त अन्य ९ ओटा समस्याग्रस्त सहकारीको समेत व्यवस्थापन सुरु गर्दै ती पीडितहरुलाई मागदाबी गर्न आग्रह गर्दै ओरेन्टलका छुटेका पीडितलाई फेरि एकपटक दाबी गर्ने मौका दिएको हो ।

त्यसका लागि समितिले १० अाेटै सहकारीका बचतकर्ता, सहकारीका सञ्चालकहरुको अपार्टमेन्टका बुकिङकर्ता, शेयर सदस्य तथा ऋण लगानी गरेका बैंक तथा वित्तीय संस्थाहरुलाई आफुले पाउनुपर्ने रकमको दाबी पेश गर्न आह्वान गरेको हो ।

त्यस्ता पीडितहरुले फागुन १५ गतेदेखि चैत १९ गतेसम्म समितिको कार्यालयमा आफुसँग भएको प्रमाणसहित दाबी पेश गर्न भनेको छ ।

सरकारले गत असारमा स्ट्यान्डर्ड, प्यासिफिक, प्रभु, कोहिनुर हिल्स, कन्जुमर, कुवेर, चार्टर्ड, भेगास र स्ट्यान्डर्ड गरी ९ ओटा बचत तथा ऋण सहकारी संस्थाहरुलाई समस्याग्रस्त घोषणा गरेको थियो । त्यस्तै ओरेन्टल सहकारीलाईलाई भने २०७४ साल कात्तिकमै समस्याग्रस्त घोषणा गरिएको थियो ।

समितिले यसअघि ओरेन्टलको समस्या समाधान सकेर मात्रै अन्य सहकारीको विषयमा प्रवेश गर्ने बताएको थियो तर हाल समितिले सबैको व्यवस्थापन समानान्तर रुपमा अघि बढाउने निर्णय गर्दै पीडितहरुको नाम र दाबी संकलन सुरु गरेको हो ।

ओरेन्टलको समस्या समाधान भएपछि मात्रै अरु सहकारीको व्यवस्थापन सुरु गर्ने भनिए पनि ओरेन्टलको सम्पत्ति लिलामीका सम्बन्धमा देखिएको विवाद तथा कानूनी झन्झटका कारण ढिलाई भएको र अन्य सहकारीहरु पनि ओरेन्टल सहकारीसँगको अन्तरसम्बन्ध देखिएपछि अन्य सहकारीको पनि व्यवस्थापन सुरु गरिएको बताइएको छ ।

समस्याग्रस्त अरु सबै सहकारीहरु पनि ओरेन्टलकै छत्रछायामा रहेको र ओरेन्टलका सञ्चालक नै ती संस्थाको पनि सञ्चालक रहेको समितिका सचिव रेवतीरमण पोखरेलले जानकारी दिए । ‘अरु ९ ओटा सहकारी भनिए पनि तिनीहरुको हिस्सा १० प्रतिशत मात्रै हो, बाँकी ९० प्रतिशत हिस्सा ओरेन्टलकै हुन्छ, त्यसमाथि पनि अरु सहकारीबाट भएका ठगीहरु पनि ओरेन्टलकै सञ्चालकबाट भएको देखिन्छ ।

त्यसैले ओरेन्टलको समस्या समाधान भए बाँकी सहकारीको ९० प्रतिशत व्यवस्थापनको काम सकिन्छ ।’ सचिव पोखरेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.