राष्ट्रियसभाको बैठकमा कर्मचारी समायोजन विधेयक पारित

  २०७५ फागुन ८ गते १५:१९     विकासन्युज

काठमाडौँ । राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक राष्ट्रियसभाको बैठकले पारित गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त प्रस्ताव प्रस्तुत गरेका थियो ।

बैठकले नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’लाई समेत सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यस्त ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ समेत दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । बैठकमा ती दुवै प्रस्तावलाई कानूनमन्त्रीका तर्फबाट सामान्य प्रशासनमन्त्री पण्डितले प्रस्तुत गरे। बैठकको शुरुमा राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लेखा परीक्षण विधेयक, २०७५’ र ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’लाई टेबुल गरेका थिए ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५’, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘निवृत्तभरण कोष विधेयक, २०७५’ तथा प्रतिनिधिसभाबाटै सन्देशसहित प्राप्त ‘राहदानी विधेयक, २०७५’का सम्बन्धमा समितिका प्रतिवेदन सभासमक्ष प्रस्तुत गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.