१३२ केभी क्षमताको स्याउले सबस्टेशन सञ्चालनमा, सुदूरपश्चिम प्रदेशमा विद्युत् सहज हुने

  २०७५ फागुन ७ गते १८:४४     विकासन्युज

काठमाडौँ । डडेलधुराको स्याउलेमा १३२ केभी क्षमताको सबस्टेशन सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अमरगढी नगरपालिका–१ दूधकाँडेमा सरकारको लगानीमा निर्माण भएको १३२/३३ केभी सबस्टेशनको उद्घाटन गर्नुभएपछि सुदूरपश्चिम प्रदेशमा निर्माण हुने विद्युत् आयोजनाको विद्युत् वितरण तथा केन्द्रीय प्रसारण प्रणालीमा जोड्नसमेत सहज भएको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् सोही सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पूर्वाधार तयार भएको छ । यसले त्यस क्षेत्रको विद्युत् विकासका लागि सहज वातावरण बनेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

दार्चुलास्थित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको विद्युत् स्याउले सबस्टेशनबाटै डडेलधुरा, बझाङ, दार्जुला, डोटी, वैतडी र अछाममा वितरण हुने गरी व्यवस्था मिलाइएको छ । यसअघि प्राधिकरणले चमेलियाको विद्युत् दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पुर्याई फेरि करीब १०० किलोमिटर ३३ केभी फिडरमार्फत ती जिल्लामा आपूर्ति गर्दै आएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्याउले सबस्टेशन सञ्चालनमा आएपछि सुदूपश्चिमका पहाडी जिल्लाहरुमा विद्युत् प्रवाहको गुणस्तरलाई पनि बढाएको बताए । “स्याउले सबस्टेशन निर्माण हुनुभन्दा पहिला अत्तरिया सबस्टेशनबाट पहाडी जिल्लामा ३३ केभी फिडरमार्फत विद्युत् वितरण गरिन्थ्यो, जसले गर्दा कुनै एक ठाउँमा फल्ट भए पनि सबै जिल्ला अन्धकारमा बस्नुपर्ने बाध्यता थियो”, घिसिङले भने, “सो सबस्टेशनबाट विद्युत् आपूर्ति हुन थालेपछि त्यस्तो अवस्था हटेको छ । त्यस क्षेत्रको विद्युत् प्रवाहको गुणस्तर तथा विश्वसनीयता पनि पहिलाभन्दा मजबुत भएको छ ।”

कूल ३० मेगावाट क्षमताको चमेलिया र नौगाड जलविद्युत् केन्द्रबाट उत्पादन भएको आठ मेगावाट गरी कूल ३८ मेगावाट विद्युत् मध्येबाट स्याउले सबस्टेशनमार्फत करीब १२ लाख उपभोक्तालाई नियमित र भरपर्दो विद्युत् आपूर्ति गरी बाँकी केन्द्रिय प्रणालीमा प्रवाह भइरहेको उनको भनाइ छ ।

सबस्टेशन अहिले आफ्नो क्षमताको करीब ३० प्रतिशत मात्रै सञ्चालनमा आएकाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा खुल्ने उद्योगलाई पर्याप्त मात्रामा विद्युत् आपूर्ति गर्न सकिने प्राधिकरणले जनाएको छ । यसले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विकास तथा आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । अत्तरिया–डडेलधुरा–दीपायल ३३ केभी प्रसारण लाइनमार्फत डडेलधुरा र डोटीको दीपायलमा भएका ३३/११ केभीका सबस्टेशनमार्फत विद्युत्लाई ११ केभीमा परिणत गरी वितरण हुँदै आएको थियो ।

प्राधिकरणले डडेलधुराबाट बैतडी हुँदै दार्चुलासम्म र डडेलधुराबाट दीपायल हुँदै अछामसम्म विद्युत् आपूर्ति गर्दै आएको छ । सबस्टेशनको निर्माण आर्थिक वर्ष ०७२/७३ मा शुरु गरिएको थियो । प्रसारण लाइनको निर्माणका लागि २०७२ पुस ८ मा इस्ट इण्डिया उद्योग/वाइबा इन्फ्राटेक जेभीसँग ठेक्का सम्भौता भएको थियो । कम्पनीले ८ असार २०७५ सालमा निर्माण सकी सबस्टेशन सञ्चालनमा ल्याएको हो । जग्गाको मुआब्जा, नेपाल सरकारको ऋणको ब्याज र आयोजनाको प्रशासिनक खर्चसमेत गरी सबस्टेशन ४५ करोडमा निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.