उपभोक्ताको लगानीद्धारा तनहुँको म्याग्दे गाउँपालिकामा नाला निर्माण

  २०७५ फागुन ७ गते १४:२९     विकासन्युज

काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका–७ मा उपभोक्ताको शतप्रतिशत लगानीमा पक्की नाला निर्माण शुरु भएको छ । मिन माध्यमिक विद्यालय पछाडिको तर्फको द्वारेखोला पुल्चोकदेखि तिलाटार हुँदै रानीश्वाँरासम्मको १ किमी पक्की नाला उपभोक्ताकै शत प्रतिशत लगानीमा शुरु भएको हो ।

गण्डकी प्रदेश सरकारले उक्त सडक कालोपत्रे गर्न रु ५० लाख विनियोजन गरेकामा एकतर्फी पक्की नाला निर्माण नगरी सडक कालोपत्रे गर्न नमिल्ने भएपछि स्थानीय जनताले आफैँ रकम उठाएर पक्की नाला निर्माण शुरु गरेको उपभोक्ता समितिका अध्यक्ष विष्णु वाग्लेले जानकारी दिए ।

नाला निर्माणको लागि स्थानीय उपभोक्ताले रु १५ लाख सङ्कलन गरेका छन् । एक सय घरधुरी रहेको उक्त सडकखण्डमा हरेक घरधुरीले नाला निर्माणको लागि रकम उपलब्ध गराएका छन् । प्रत्येक घरले न्यूनतम रु १० हजारदेखि अधिकतम रु २५ हजारसम्म रकम उपलब्ध गराएको उपभोक्ता समितिका सल्लाहकार डिलबहादुर नेपालीले जानकारी गराएका छन् । । चैत महीनाभित्रमा नाला निर्माण सम्पन्न हुने त्यसपछि सडक कालोपत्रे शुरु गरिने जानकारी दिएका छन् ।

प्रदेश सरकारको रकमले सडक कालोपत्रे गर्न पनि नपुग्ने भएको र पक्की नाला निर्माण नभई सडक कालोपत्रे गर्न नमिल्ने प्राविधिकको सुझाव पछि स्थानीय उपभोक्ताले नै रकम सङ्कलन गरेर नाला निर्माण शुरु गरेका हुन् । नाला निर्माणका लागि तथा सामान ढुवानी गर्ने, अनुगमन गर्ने, पानी हाल्ने लगायतका काममा स्थानीय आफैँ खटिएको सल्लाहाकार नेपालीले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.