पूँजी वृद्धि योजनामा राष्ट्रिय बीमा संस्थानलाई बम्पर छुट, १० महिने ‘ग्रेस अवधि’ !

  २०७५ फागुन ६ गते १७:०२     नबिन पाेखरेल

काठमाडौं । पुँजी वृद्धिसम्बन्धी बीमा समितिको निर्देशन राष्ट्रिय बीमा संस्थानको लागि लागु नहुने भएको छ । बीमा समितिले बीमा कम्पनीहरुलाई यसै आर्थिक वर्षभित्र पुँजी वृद्धि गरी जीवनबीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पुँजी वृद्धि गर्न पछिल्लोपटक निर्देशन दिएको थियो ।

त्यसअघि समितिले गत आर्थिक वर्षभित्रै पुँजी पुर्याउन भने पनि पछि छ महिनाको समय थप गरेको थियो । तर पुस मसान्तसममा पनि पुँजी पुर्याउन नसकेपछि समितिले कार्ययोजना पेश गरे आगामी असार मसान्तसम्मको अवधिमा पुँजी बढाउन सकिने सुविधा दिएको थियो ।

राष्ट्रिय बीमा संस्थानले भने नयाँ बीमा ऐन संसदमा रहेको र उक्त ऐनअनुसार ऐन लागु भएको बीमा संस्थान कम्पनीमा रुपान्तरण हुनुपर्ने प्रावधान रहेकोले कम्पनीमा जाने समयसम्म आफुहरुले चुक्ता पुँजी बढाउने समयावधि पाउने जनाएको छ । बीमा संस्थानका प्रशासक कविप्रसाद पाठकले यसबारे बीमा समितिसँग मौखिक सहमति भइसकेको बताए । उनले संस्थान कम्पनीमा गएपछि सर्वसाधारणका लागि आईपीओ जारी हुने समेत बताए ।

बीमा समितिले उक्त सहमतिको पुष्टि गरेको छ । समिति स्रोतका अनुसार छुट्टै ऐनका आधारमा सञ्चालनमा रहेको र सो ऐनमा संस्थानको अधिकृत पुँजी न ५० करोड रहेकोले अहिले नै पुँजी २ अर्ब पुर्याउन कानूनी बाधा रहेको अवस्थामा अहिले नै ऐन संशोधन गर्नुभन्दा कम्पनीमा गएपछि पुँजी पुर्याउने छुट दिइएको हो । ‘बीमा संस्थान पूर्ण सरकारी कम्पनी हो, उसको पुँजी पुर्याउने सरकारको प्रतिवद्धता पनि छ, यस्तो अवस्थामा हामीले संस्थानको हकमा त्यो छुट दिएका हौं ।’ बीमा समिति उच्च अधिकारीले विकासन्यूजसँग भने ।

बीमा संस्थानकाे हालकाे पुँजी १८ कराेड छ । २ अर्ब पुँजी पुर्याउन ११ गुणा भन्दा बढी पुँजी बढाउनुपर्ने अवस्था छ । प्रशासक पाठकले स‌ंस्थानकाे २०६६/६७ सालदेखि साधारणसभा नभएकोले पुँजी १८ कराेडमा सीमित भएकाे देखिए पनि स‌ंस्थानले बाेनसबाटै करिब ५५ कराेड पुँजी पुर्याउने र कम्पनीमा गएलगत्तै तोकिएको ताेकिएकाे पुँजी पुर्याउने बताए । त्यसका लागि हकप्रद शेयर जारी गर्ने वा अरु पुँजी वृद्धिका विधि प्रयाेग गर्ने साधारणसभाले निर्णय गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.