२५ मेगावाट क्षमताका दुई आयोजनासँग विद्युत् खरिद सम्झौता

  २०७५ फागुन ६ गते ११:४५     विकासन्युज

काठमाडौँ । सरकारले ल्याएको सहज नीतिका कारण पछिल्ला दिनमा नेपाल विद्युत् प्राधिकरण र निजी प्रवद्र्धकले धमाधम विद्युत् खरीद सम्झौता गर्दै आएका छन् । त्यसैक्रममा मात्रै प्राधिकरणले २५ मेगावाट क्षमताका दुई वटा आयोजनासँग विद्युत् खरीद सम्झौता गरेको छ ।

प्राधिकरणका अनुसार ताप्लेजुङको काबेली खोलामा निर्माण हुने १२ मेगावाट क्षमताको सुपर काबेली र १३ दशमलब ५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ आयोजनाको प्रवद्र्धकसँग उक्त सम्झौता गरिएको हो ।

सुपर काबेलीको प्रवद्र्धकमा हिल्टन हाइड्रो इनर्जी र सुपर काबेली ‘ए’को प्रवद्र्धकमा स्नो रिभर कम्पनी रहेका छन् । सम्झौतामा प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र दुवै आयोजनाको प्रवद्र्धकका तर्फबाट सञ्चालक मोहनविक्रम कार्कीले हस्ताक्षर गरे ।

दुवै आयोजनाबाट उत्पादन हुने विद्युत् हिउँदको समयमा प्रतियुनिट आठ रुपैयाँ ८० पैसा र वर्षाको समयमा चार रुपैयाँ ८० पैसामा प्राधिकरणले खरीद गर्नेछ ।

सुपर काबेलीको लागत दुई अर्ब ५६ करोड र सुपर काबेली ‘ए’को लागत दुई अर्ब ७५ करोड रहेको छ । दुवै आयोजनाबाट उत्पादन हुने विद्युत् १३२ केभी क्षमताको काबेली प्रसारण लाइनमार्फत अमरपुर सबस्टेसनमा जोडिनेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.