अर्थको आदेशमा सेयर निष्काशन नियमावली संशोधन, जलविद्युतको सेयर बिक्री नभए सरकारको नाममा जाने

  २०७५ फागुन ५ गते १७:१२     विकासन्युज

काठमाडौं । सरकारले ल्याउन लागेको “जनाताको जलविद्युत कार्यक्रम” अनुसार आम सर्वसाधारण जनताको लागि ब्यवस्था गरिएको ४९ प्रतिशत स्वःपूँजी संकलनको लागि गरिने शेयर निष्काशन तथा बाँडफाँडलाई व्यवस्थित गर्ने सम्बन्धमा बिशेष कानूनी व्यवस्था गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । यसका लागि आवश्यक नियम तथा कानूनी व्यवस्थाका लागि अर्थ मन्त्रालयले बोर्डलाई निर्देशन दिएपछि बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा दोस्रो संशोधन गरेको हो ।

नेपाल सरकारको कम्तिमा ५१ प्रतिशत शेयर स्वामित्व भएको जलविद्युत कम्पनीले आयोजनाको विस्तृत डिजाइन प्रतिवेदन वा आयोजनाको कुल लागत अनुमान र निर्माण अवधि खुलाई तयार गरिएको आधिकारिक विवरण तयार भई संस्थापकहरुले लिन कबूल गरेको शेयर रकमको कम्तिमा दश प्रतिशत चुक्ता भैसकेको र आयोजना निर्माणका लागि फाइनान्सियल क्लोजर भैसकेको वा सोको लागि आशयपत्र प्राप्त भएको अवस्थामा सरकारबाट स्वीकृत कार्यक्रम बमोजिम सर्वसाधारणबाट पूँजी संकलन गरी जलविद्युत अयोजना निर्माण गर्न शेयर तथा डिबेञ्चर निष्काशन गर्न सक्ने व्यवस्था गरिएको छ ।

धितोपत्र बोर्डका अनुसार उक्त कार्यक्रम अन्तर्गतका जलविद्युत कम्पनीले शेयरको सार्वजनिक निष्काशन गर्दा त्यस्तो शेयर खरिद गर्न चाहने आवेदकले आवेदन साथ शेयरको चुक्ता मूल्यको दश प्रतिशत रकम दाखिल गर्नुपर्ने गरी आवेदन माग गर्न सक्नेछ ।

आवेदन गर्ने आवेदकलाई शेयर बाँडफाँट हुने भएमा कम्पनीको दश प्रतिशत चुक्ता भएको शेयर प्रदान गरिने र उक्त शेयरधनीलाई कम्पनीले नेपाल सरकारले निर्धारित गरेको बार्षिक प्रतिफल प्रदान गर्न सक्नेछ भने यस्तो प्रतिफल शेयरको चुक्ता हुन बाँकी रकममा मिलान गर्न सकिने व्यवस्था समेत गरिएको धितोपत्र बोर्डले जनाएको छ ।

संस्थापकहरुले लिन कबूल गरेको शेयरको शतप्रतिशत रकम भुक्तानी भई आयोजनाको निर्माणको न्यूनतम पचास प्रतिशत भौतिक प्रगति भएपछि कम्पनीले शेयरधनीसँग चुक्ता हुन बाँकी रकम माग गर्न सक्ने र रकम प्राप्त भएपछि निष्काशित शेयरको चुक्ता रकम शतप्रतिशत गरी सम्बन्धित शेयर धनीलाई शेयर जारी गरिने व्यवस्था गरिएको छ ।

शेयरको रकम शतप्रतिशत चुक्ता भए पश्चात त्यस्तो शेयर धितोपत्रको दोश्रो बजारमा कारोबार हुन सक्ने छ । शेयरको चुक्ता हुन बाँकी सम्पूर्ण रकम प्राप्त नभएमा कम्पनीले त्यसरी चुक्ता हुन बाँकी रकम बराबरको शेयर अन्य इच्छुक खरिदकर्तालाई एक महिनाको समय अवधि दिई सार्वजनिक सूचना जारी गरी बिक्री गर्न सक्ने तर सो सम्पूर्ण शेयर बिक्री हुन नसकेमा बिक्री हुन बाँकी रहेको शेयर संस्थापक शेयरधनी वा सरकारको नाममा रहने गरी आवश्यक व्यवस्था गरिएको बोर्डका कार्यकारी निर्देशक परिष्ट नाथ पौड्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.