काठमाडौंकाे न्यूरोडलाई ‘नमूना व्यापारिक केन्द्र’को रुपमा विकास गर्नुपर्छ : मन्त्री यादव

  २०७५ फागुन ५ गते १५:१२     विकासन्युज

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले काठमाडौंकाे न्यूरोड क्षेत्रलाई नमूना व्यापारिक केन्द्रको रुपमा विकास गर्ने बताएका छन् ।

खिचापोखरी न्यूरोड व्यापार सङ्घको ‘छैटौँ अधिवेशन तथा ११ औँ वार्षिक साधारणसभा’का आयोजित कार्यक्रममा न्यूरोडलाई नयाँ ढङ्गले अगाडि बढाउन जरुरी रहेको भन्दै “समृद्ध नेपाल निर्माणमा न्यूरोडका उद्योगी व्यवसायीको ठूलो भूमिका रहेको जानकारी दिएका छन् ।

न्यूरोडलाई नमूना व्यापारिक केन्द्र निर्माणका लागि उद्योगी व्यवसायीहरु एकजुट हुनुपर्ने उनको भनाइ छ । मन्त्री यादवले सरकारले जनतासँग गरेको वाचा अनुसार काम गर्न नसकेको बताउँदै आगामी दिनमा काम गरेर छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले न्यूरोड ऐतिहासिक व्यापारिकस्थल भएकाले यस क्षेत्रको विकासका लागि महानगरपालिकाले योजना बनाएर अगाडि बढ्न लागेको बताए ।

महानगरपालिकाले न्यूरोड र दरबारमार्ग क्षेत्रमा ‘स्मार्ट पार्किङ’को रुपमा विकास गर्न बोलपत्र आह्वान गरिसकेको प्रमुख शाक्यले भने ।  नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले मुलुकको व्यापार घाटा कम गर्न सरकारले आयातलाई कम गरी निर्यातलाई बढावा दिने वातावरण निर्माणमा लाग्नुपर्ने जानकारी दिए । “दैनिक व्यापार घाटा रु ३ अर्ब ७६ करोड भएकाले यसलाई घटाउन सरकार लागेको उपाध्यक्ष मल्लले बताए ।

आन्तरिक राजश्व कार्यालय न्यूरोडका प्रमुख डा रामप्रसाद मैनालीले न्यूरोड क्षेत्रमा रहेको फुटपाथको व्यापारलाई पनि करको दायरामा ल्याउनुपर्ने जानकारी दिए । खिचापोखरी युवा क्लबका अध्यक्ष राजेश डङ्गोलले धरहरा पुनःनिर्माण र पार्किङले खिचापोखरी क्षेत्रको उद्योग–व्यवसाय समस्यामा परेको बताए । सङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले भन्सार क्षेत्रमा देखिएको न्यून बिजकीकरणको अन्त्यका लागि सरकारलाई पहल गर्न आग्रह गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.