ब्याजदर विवाद: अर्थमन्त्री कडा, गभर्नर मौन; बैंकरले भने-‘तत्काल घटाउन सक्दैनौं’

  २०७५ फागुन ५ गते १३:०५     विकासन्युज

काठमाडौं । बैंकहरुले ऋणमा लिँदै आएको ब्याजदर घटाउने सम्बन्धमा अर्थमन्त्री डा. युवराज खतिवडा कडा देखिँदा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल मौन देखिएका छन् । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना भने बैंकहरुसँग तत्काल ब्याजदर घटाउनसक्ने कुनै उपाय नभएको भन्दै आफुहरुले केही गर्नसक्ने बताएका छन् ।

आइतबार नेशनल बैंकिङ इन्सिच्युडद्वारा दशौं बार्षिकोत्सवको अवसरमा आयोजित ‘दि डेलिब्रेसन फर नेक्स्ट डिकेड’ कार्यक्रलाई सबैभन्दा पहिले सम्बोधन गरेका अर्थमन्त्री खतिवडाले आगामी दशकमा बैंक तथा वित्तीय संस्थाहरु प्रविधि र सेवाका हिसाबले निकै अघि बढ्ने र त्यसका लागि तयार रहन आग्रह गर्दै बैंकहरुले हाल ‘विजिनेस कम्युनिटी’ले बैंकहरुको ब्याजदर बढी भएको र यसले व्यवसाय गर्ने वातावरण बिगारेको भन्दै आन्दोलनमा उत्रिएको भन्दै त्यस्तो माग सम्बोधन गर्न आग्रह गरे । उनले त्यसमा अटेरी गरे सरकारले हस्तक्षेप गर्नसक्ने चेतावनी समेत दिए ।

तर अर्थमन्त्री खतिवडापछि बोलेका डा. चिरञ्जीवी नेपाल भने ब्याजदरको सन्दर्भमा मौन रहे । करिब ८ मिनेट लामो मन्तव्यका क्रममा डा. नेपाल बैंकहरुको शाखा, संख्या र प्राविधिक विकासबो सन्दर्भमा केन्द्रित रहँदा ब्याजदरको विषयमा भो कुनै प्रतिक्रिया जनाएनन् । उनले हाल ७०३ ओटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरु पुगिसकेको र देशभर बैंक तथा वित्तीय संस्थाका ७ हजार भन्दा बढी शाखा पुगेको भन्दै नेपालका बैंक तथा वित्तीय संस्थाले जनतासम्म पहुँच पुर्याएकोले अब आधुनिक सेवा, व्यवसायिक प्रभावकारिता र सुरक्षाका सन्दर्भमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।

तर नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने तत्काल बैंक तथा वित्तीय संस्थाहरुले अहिलेको भन्दा ब्याजदर कम गर्नै नसक्ने अबस्थामा रहेको स्पष्ठ पारेका छन् । ‘गाउँगाउँमा शाखाको विस्तार गर्दा बैंकहरुको अपरेटिङ र कम्प्लाइन्स कस्ट अत्यन्त धेरै भएको छ । आन्तरिक बचतले ऋणको माग धान्न नसकेकोले निक्षेपमा ब्याजदर उच्च छ । यसले गर्दा हामीले केही गर्ने अवस्था छैन । ‘क्रेटिड कम्युनिटी’हरु बैंकका कारणले नै ब्याजदर धेरै भएको सोच्नुहुन्छ, तर त्यसो होइन । हाम्रो बेसरेट नै औसत १० प्रतिशत छ, यस्तो अवस्थामा त्योभन्दा कममा ऋण दिन सकिँदैन ।’ अध्यक्ष ढुङ्गानाले भने ।

उनले बैंकहरुले हरेक वर्ष स्प्रेडदर घटाउँदै लगेको र अर्को वर्ष सम्भवतः यो ४ प्रतिशत पुग्ने भन्दै अबको २/३ बर्षमा भने बैंकहरुको प्रभावकारिता बढ्ने र तरलता समेत सहज हुनसक्ने भन्दै त्यसपछि भने ब्याजदर घटाउनसक्ने दाबी गरे । ढुङ्गानाले अहिले बैंकहरु शाखा विस्तारको प्रतिस्पर्धामा रहेको भन्दै एक दशकपछि त्यो संख्या आधा कम गर्नुपर्ने वाध्यता आईपर्ने दाबी समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.