बजेट पारित नभएपछि स्पेनका नयाँ प्रधानमन्त्री पेड्रोद्वारा निर्वाचनको घोषणा

  २०७५ फागुन ५ गते ११:२७     विकासन्युज

मड्रिड । स्पेनको संसदबाट बजेट पारित नभएपछि शुक्रबार नयाँ निर्वाचनको लागि मिति घोषणा गरिएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी अप्रिल २८ तारिखका दिन निर्वाचन गर्ने गरी शुक्रबार मिति घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । क्याटलोनिया सम्वन्धी विवाद र त्यसबाट संकट उत्पन्न भइरहेकै बेला संसदले बजेट प्रस्ताव अस्वीकृत गरेपछि निर्वाचन घोषणा गरेको हो ।

स्पेनमा गत चार बर्षको अवधिमा अहिले तेस्रो पटक निर्वाचनको मिति घोषणा भएको जनाइएको छ । “दुई विकल्पहरूमध्ये बजेट विना केही नगरी बस्ने वा स्पेनी नागरिकहरूलाई नै फैसलाको जिम्मा दिनेमध्ये मैले दोस्रो रोजेँ,” प्रधानमन्त्री सान्चेजले भने। नयाँ प्रधानमन्त्रीका रुपमा ४६ बर्षीय सान्चेजले आठ महिना अगाडि मात्रै जिम्मेवारी सम्हाल्दै तत्कालिन प्रधानमन्त्रीलाई अविश्वासको मतको प्रस्ताव राखेर पराजित गरी नाटकीय तरिकाले प्रधानमन्त्री बनेको जनाएका छन् ।

संसदमा क्याटलोनिया पृथकतावादीहरूको तर्फबाट १७ सांसद रहेका छन् । प्रधानमन्त्रीको बजेट प्रस्तावको विपक्षमा मत जाहेर गरेपछि बजेट प्रस्ताव अस्विकृत भएको हो । यसअघि प्रधानमन्त्रीको निर्वाचनका बेलामा सान्चेजलाई नै मतदान गरेका थिए । त्यस बाहेक सोसलिष्ट पार्टी, तत्कालिन विपक्षी पार्टी पोडेमोस र बास्कजस्ता क्षेत्रीय पार्टीहरुले पनि सान्चेजलाई मतदान गरेका थिए ।

स्पेनका समाजवादी नेता सान्चेज तत्कालिन प्रधानमन्त्री मारियानो राहोएलाई विस्थापित गरेर प्रधानमन्त्री बनेका हुन् । विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राहोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री भएको समाचारमा जनाइएको छ । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.