नारायणगढ-मुग्लिन सडकमा ४ पुल बन्दै, ५० % काम सकियो

  २०७५ फागुन ४ गते १२:३७     विकासन्युज

भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन चार पुलको ५० प्रतिशत काम सकिएको छ । सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण धमाधम भइरहेको छ ।

‘समग्रमा पुल निर्माणको काम ५० प्रतिशत सकिएको छ”, खनालले भने, “जलवीरेमा भने निर्माण प्रगति ३४ प्रतिशत र अन्य पुलको ७० प्रतिशत माथि छ  ।” जलवीरे पुल निर्माणको ठेक्का रौताहा कन्स्ट्रक्सनले पाएको हो । अन्य तीन पुल निर्माणको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ । जलवीरे पुल ८० मिटर लामो छ । मौरीपुल ३०, खानीपुल ३० र दासढुङ्गा पुल २० मिटर लम्बाइ तथा चौडाइ भने सबैको ११ मिटर हुनेछ ।

“लामा कन्स्ट्रक्सनले जिम्मा पाएको चार पुल निर्माणको काम वैशाखभित्रै सम्पन्न हुन्छ भने रौताहा कन्स्ट्रक्सनले जिम्मा लिएको जलवीरे पुल निर्माणमा समय लाग्ने देखिएको” उनले बताए । जलविरे पुलको डिजाइन परिवर्तन, अप्ठ्यारो ठाउँ र फरक प्रकृतिको पुल भएका कारण पनि ढिलाइ भइरहेको छ । हाल पुल भइरहेका ठाउँ नजिकैबाट नयाँ पुल निर्माण गरिएकाले सवारी आवागमनमा पुलले कुनै बाधा पुर्याएको छैन ।

जलवीरे पुल १४ करोडमा ठेक्का दिइएको हो भने अन्य तीन पुलको कूल निर्माण लागत १३ करोड छ । सडकखण्डमा अझै १४ पुल निर्माणको काम भने अघि बढ्न सकेको छैन । १८ पुलमध्ये चार वटाको मात्र निर्माण जारी रहेको र बाँकी १४ पुल निर्माणको काम छिट्टै शुरु हुने आयोजना प्रमुख रोहित विसुरालले जानकारी दिए ।

सात ठाउँमा भौगर्भिक अध्ययन
नारायणगढ मुग्लिन सडकखण्डको विभिन्न क्षेत्रमा भासिएको सडकको भौर्गर्भिक अध्ययन शुरु गरिएको छ । भासिएको र जोखिमपूर्ण गरी सात ठाउँमा भौगर्भिक अध्ययन गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयका इञ्जिनीयर खनालले जानकारी दिनुभयो । सडक भासिएको खण्ड २६ किलोमिटरमा र १७ किलोमिटर क्षेत्रमा सर्वे भइरहेको छ ।

भासिएको सडकखण्डमा अहिले एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ । टोलीले एक महीनाभित्र अध्ययनसहित डिजाइनको प्रतिवेदन दिनेछ । आयोजनाका प्रमुख विसुरालले प्राविधिक टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि मात्रै निर्माणको काम अघि बढ्ने बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.