डा. महतको आरोप-ओली सरकार ‘कुरामा नम्बर वान, काममा जिरो’

  २०७५ फागुन ३ गते १३:४७     विकासन्युज


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले यो एक वर्षमा सरकारले जनतालाई पुरै निराश तुल्याएको आरोप लगाएका हुन् । उनले भने,‘सरकारले सुखी नेपाली र समृद्ध नेपाल भनेर अत्यन्तै राम्रो नारा ल्यायो । तर, यो एक वर्षमा जनता पुरै निराश भए । देश समृद्ध भयो त ? भएन ।’

साक्षात्कारमा बोल्दै उनले मुल्यवृद्धि आकाशिएको, व्यापार घाटा बढेको र लगानी घटेको दृष्टान्त पेश गरे । उनले भने,‘अहिले ५० प्रतिशत लगानी घट्यो । कर बढिरहेको छ । बैंकको व्याजदर बढिरहेको छ ।’

त्यस्तै, उनले संस्थागत भ्रष्टाचार बढिरहेको पनि आरोप लगाए । महतले ‘ईज अफ डुईङ बिजनेश’ पनि राम्रो नभएको टिप्पणी गरे । महतले भने,‘सुशासनको त कुरै नगरौं । सुनकाण्ड त्यो अब पृष्ठभूमिमा गैसक्यो । चिनी काण्ड त्यस्तै । वाईडबडी काण्ड अब अख्तियारले हेर्ने भनिएको छ, हामी सुक्ष्म रुपमा हेरिरहेका छौं ।’

मेलम्ची खानेपानी आयोजना अनिश्चित् बनेको पनि उनको आरोप छ । उनले थपे,‘उता बुढीगण्डकीको कथापनि त्यस्तै छ । एनसेलको कर छलीमा अदालतले कर उठाउन भनेको छ, हामी हेरिरहेका छौं ।’महतले सरकारले सुशासन कायम गर्न नसकेको गम्भिर आरोप लगाए । उनले भने,‘समृद्धि त अहिले सत्तामा बस्नेहरुको लागि मात्रै आएको होला । तर, जनताले समृद्धिको कुनै अनुभुति गर्न पाएका छैनन् ।’

परराष्ट्र नीतिमा पनि वर्तमान सरकार पूरै असफल भएको उनको आरोप छ । उनले भने,‘काठमाडौंमा विम्स्टेक शिखर सम्मेलन हुँदा भारतसँग संयुक्त सैन्य अभ्यास गर्ने र हामी भाग लिन्छौं भनेर सरकारले भन्यो, तर पछि भाग लिनबाट पछाडि हट्यो । हाम्रो परराष्ट्र नीतिको त्यस्तो हालत छ ।’

एशिया प्यासिफिक समिटमा पनि सरकार नै संरक्षक बनेको र प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनसम्म होटेलमै बसेको भन्दै महतले आलोचना गरे ।

भेनेजुयला प्रकरणमा सरकारले जारी गरेको विज्ञप्तीबारे टिप्पणी गर्दै उनले भने,‘भेनेजुयलालाई यो सरकारले रोलमोडल बनाउन खोजेको हो ?, भेनेजुयलामा लाखौं गुणा मुल्यवृद्धि छ । लाखौं मान्छेहरु देश छोडेर भागेका छन् । अब त्यो देशलाई हाम्रो रोलमोडल बनाउन खोजेको हो ?’
महतले अहिले नेपालको परराष्ट्र र आर्थिक दुवै नीति पुरै असफल भएको दाबी गरे । उनले भने,‘नेप्से हेर्नुहुन्छ भने लगानी घटेको छ । मुद्राको तरलता कम भएको छ । ब्याज बढेको छ । कुनै पनि मोर्चामा यो सरकार सफल भएको छैन् ।’ उनले सरकारको एक वर्षलाई आफूहरुले समीक्षा गर्दा ‘कुरामा नम्बर वान, काममा जिरो’ को रुपमा समिक्षा गरेको सुनाए ।

हरेक दृष्टिकोणमा यो सरकार उल्टो दिशामा हिँडेकोले आफूहरुले खबरदारी गर्नुपरेको पनि महतले बताए । फरक प्रसँगमा उनले हालै सरकारले सार्वजनिक गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत रोजगार नभएमा बेरोजगार भक्ता दिने भनेर गरिएको व्यवस्थाको भने कडा आलोचना गरे ।

उनले भने,‘यो बेरोजगार भक्तालाई सरकारले कार्यकर्ता भक्ताको रुपमा रुपान्तरण गर्दैछ ।’ महतले सरकारले पैसा दिनुको साटो काम दिने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.