‘मास प्रिन्टर’ खरिद गर्दै यातायात व्यवस्था विभाग, एकैदिन ८ हजार लाइसेन्स छापिने

  २०७५ फागुन २ गते १८:०३     विकासन्युज


काठमाडौँ । चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले ‘मास प्रिन्टर’ (एकै पटकमा धेरै प्रति छाप्ने उपकरण) खरिद प्रक्रिया अघि बढाएको छ ।

एक दिनमा झण्डै आठ हजारसम्म छाप्न सक्ने ‘प्रिन्टर’ (मुद्रण यन्त्र) खरीदका लागि बोलपत्र आह्वान भइसकेको विभागले जनाएको छ । यही आवभित्र ‘मास प्रिन्टर’ खरीद गरेर सञ्चालनमा आउने विभागका उपनिर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए । विभागले चालक अनुमतिपत्र छपाइकै लागि १० लाख कार्ड मगाइएको उनले जानकारी दिए ।

“यो कार्ड र मास प्रिन्टर दुवै आएपछि सेवाग्राहीले छिट्टै र सजिलै चालक अनुमतिपत्र पाउनुहुनेछ”, उनले भने, “परीक्षा पास भएपछि महिनौँसम्म कुर्नुपर्ने छैन ।” ‘मास प्रिन्टर’ को खरीद मूल्य झण्डै रु पाँच करोड पर्ने उपाध्यायले जानकारी दिनुभयो ।

संविधानले यातायात व्यवस्थाको जिम्मेवारी प्रदेश सरकारलाई दिएको छ । अहिले नै प्रदेश सरकारले ‘प्रिन्टर’ खरीद गरेर चालक अनुमतिपत्र छाप्ने अवस्था नरहेकाले विभागले नै छपाइ गर्ने उनले बताए । उनले भने, “प्रदेश सरकारले आफैँले प्रिन्टर किनेर अनुमतिपत्र छाप्न अझै केही वर्ष लाग्न सक्छ, त्यतिबेलासम्म विभागले नै छपाइ गर्छ ।”

देशभरका यातायात व्यवस्था कार्यालयबाट नयाँ चालक अनुमतिपत्र र नवीकरण गरेर झण्डै चार लाख सेवाग्राहीको चालक अनुमतिपत्र छाप्न बाँकी छ । अहिले सञ्चालनमा रहेको मुद्रण यन्त्रको क्षमता दैनिक तीन हजार रहेको विभागले बताएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.