कमलादीको सिसा टावरलाई अनुमति, निर्माणको बाटो खुल्यो

  २०७५ माघ २९ गते ९:१२     खेमराज श्रेष्ठ

काठमाडौं । काठमाडौंको कमलादीमा बन्ने सिसा टावरको काम अघि बढेको छ । नेपालमा पहिलो पटक बन्न लागेको सिसा टावरलाई उपत्यका विकास प्राधिकरणले स्वीकृति दिएको हो । १०० मिटर अग्लो हुने टावरलाई सोमबारको बैठकबाटै स्वीकृति दिएको आयुक्त भाइकाजी तिवारीले बताए ।

‘हाम्रो भवन निर्माण आचार सहिता अनुसार नै टावरको मापदण्ड भएकोले स्वीकृती दिएका हौं’, आयुक्त तिवारीले विकासन्युसँग भने । वन्डर्स नेपाल प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको टावरको अन्तिम स्वीकृतको लागि हवाई विभागमा आवेदन दिइएको छ । हवाई विभागले पनि १५ दिनभित्र स्वीकृति पाउने लिमिटेडका एक सदस्य सञ्जिव रोकाले बताए । विभागले हवाइ लाइटलाई असर गर्छ गर्दैन भनेर अध्ययन गर्नेछ ।

रोकाका अनुसार टावर निर्माण गर्नका लागि कम्पनीले ठेकेदार कम्पनी खोजी भैरहेको छ । टावर बनाउनका लागि इटालियन, चिनियाँ जर्मनी, बेलायती कम्पनीहरुसँग कम्पनीले छलफल गरिरहेको छ । ‘हामीले गरेका अध्ययनमा चिनियाँ कम्पनी सस्तो र प्राविधिक रुपमा अब्बल रहेकोले चिनियाँ कम्पनीलाई नै काम दिने तयारी भै रहेको छ’- सदस्य रोकाले भने, ‘तिन वर्षभित्र टावर बनाइ सक्ने छौं ।’

यस्तो बन्नेछ टावर

१०० मिटर अग्लो टावरमा एकै पटक ५०० जनाले छतबाट उपत्यका अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ । निजी लगानीमा राजधानीको कमलादीमा २ अर्ब लागतमा करिब २५ तल्ला बराबरको सिसाको स्काईवाल्क टावर निर्माण हुने हुनेछ । टावर निर्माणका लागि लिमिटेडले सरकारसंग कमलादीको १३.२ रोपनी २३ वर्षका लागि जग्गा भाडामा लिइसकेको छ ।

टावर दक्षिण एशियामै पहिलो पटक निर्माण हुने कम्पनीले दाबी गरेको छ । टावरमा अध्यक्ष आकर्षण पोखरेल लगायत विभिन्न देशमा रहेका नेपालीहरुको लगानी रहनेछ । सिसाको टावर सञ्चालनमा आएको ५ वर्षमा कर्जा भुत्तानी सक्ने छ । त्यसपछि लगानीकर्तालाई न्युनतम ३० देखि ७० प्रतिशत लाभांश दिने जानकारी दिएको छ ।

कम्पनीले टावर निर्माणका लागि ३ वर्ष अघिदेखि विभिन्न १० स्थानमा अध्ययन गर्दै आएको थियो । राष्ट्रकै गौरवशाली योजनामध्येको एक योजनामा सम्पुर्ण विकास प्रेमी नेपालीहरुलाई यो योजना निर्माण पश्चात सगरमाथा र बुद्धको स्काईवाल्क टावरले पनि नेपालको परिचय थप फराकिलो बनाउने कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताए ।

पोखरेलका अनुसार टावर निर्माणमा स्ट्रगेस क्यानाडा, इभर प्रोस्पर चीन र समर ग्रुप नेपाल परामर्श साझेदार रहेका छन् । टावरको माथिल्लो भागमा ३ मिटर बाक्ले सिसा प्रयोग हुनेछ । सिसाको टावरमा पार्किङ, हेल्थ क्लव, रेष्टुरेण्ट, स्वीमिङ पूल, एयर रेष्टुरेन्ट, पसल र एयर क्वल सञ्चालन हुनेछ ।

भिडियाे

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.