सार्क देशका रोजगारदातालाई नेपालमा लगानी गर्न ढकालकाे आग्रह

  २०७५ माघ २८ गते १८:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सार्क देशका रोजगारदाता एवं लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । सोमबारदेखि नयाँ दिल्लीमा शुरु भएको दक्षिण एसियाली रोजगारदाता मञ्चको आठौँ बैठकलाई सम्बोधन गर्दै ढकालले नेपालमा लगानी गर्न उचित रहेको भन्दै लगानीकर्तालाई उक्त आग्रह गरेका हुन् ।

रोजगारदाता परिषदका सभापति ढकालले नेपालका लगानीका मुख्य क्षेत्रहरु कृषि, पर्यटन, उर्जा, सेवा क्षेत्र लगायतका क्षेत्रमा लगानीका लागि आग्रह गरेका हुन् । उनले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानुनहरु निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिक बीचको सम्बन्ध राम्रो भएको तथा हाल मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकोले लगानीको वातावरण बनेको जानकारी गराएका छन् ।

ढकालले नेपाल सरकारले आगामी महिना गर्न लागेको लगानीसम्मेलनमा सहभागी भई नेपालमा तिनको अध्ययन र पहिचान गर्न सार्क क्षेत्रका लगानीकर्ताहरुलाई आमन्त्रण गरेका छन् ।

श्रमिकका समस्याका विषयलाई सम्बोधन गर्नेगरी श्रमसम्बन्धी कानुन निर्माण भएका, देशमा राजनीतिक स्थिरता देखिएको र वैदेशिक लगानीका लागि लगानीमैत्री वातावरण निर्माणमा सरकार लागिपरेकोले नेपालमा सम्भावना रहेका कैयौँ क्षेत्रहरुमा लगानी गरी पारस्पारिक आर्थिक लाभ लिन सार्क क्षेत्रका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । उनले नेपाल सरकारद्धारा हालै जारी गरिएका श्रम तथा सामाजिक सुरक्षासम्बन्धी कानुनको कार्यान्वयनका साथै श्रम बजारको विस्तार एवं प्रादेशिक रुपमा श्रमिकहरुको क्षमता अभिबृद्धि गरी मुलुकमा औद्योगिक विकास र प्रवद्र्धनमा जोड दिएका छन् ।

सार्क देशहरुमा आर्थिक, सामाजिक, सांस्कृतिकका साथै लगानीका क्षेत्रहरुमा पनि साझा खालका अवसर र चुनौतीहरु रहेका छन् । ढकालले रोजगारदाताहरुको साझा मञ्चमार्फत सार्क क्षेत्रमा लगानी प्रवद्र्धन गर्न, आर्थिक हितका साझा मुद्धाहरुमा मिलेर काम गर्न, पर्यटन, उर्जा, सेवा क्षेत्रलगायतमा लगानीका सम्भावनाहरुको पहिचान गरी द्विपक्षीय एवं बहुपक्षीय रुपमा लाभलिने गरी पारस्परिक सहयोगको वातावरण निर्माण गर्न पनि सबैसँग अनुरोध गरेका छन् ।
दक्षिण एसियाली रोजगारदाता मञ्चको बैठक तीन दिनसम्म चल्ने छ । यस बैठकमा नेपाललगायत सार्क राष्ट्रका रोजगारदाताहरुको सहभागिता रहेको छ । बैठक फागुन १ गतेसम्म चल्नेछ ।

उक्त कार्यक्रममा सार्क देशका उद्योग बाणिज्य संघ, महासंघ तथा चेम्बर अफ कमर्स लगायतमा आबद्ध रोजगारदाताहरु सम्मिलित यस मञ्चमार्फत रोजगारदाताहरुले आफ्ना क्षेत्रका समस्या, सम्भावना र चुनौतीहरुको खोजी गरी तिनको समाधानका उपायहरुका बारेमा छलफल हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.