धितोपत्र बोर्डद्धारा कानुनी व्यवसायीसँग छलफल, कानुन संसोधन र नियमन प्रणाली व्यवस्थित गर्ने

  २०७५ माघ २८ गते १७:४०     विकासन्युज

काठमाडौं । धितोपत्र बोड र सर्वोच्च अदालत बार एशोसिएशनबीच नियमन तथा कानूनी व्यवस्था र अदालती अभ्यास विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बोर्डले कानुन संसोधन र नियमन प्रणाली व्यवस्थित गर्न गत माघ २५ गते उक्त कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले धितोपत्र बजारको आकार, क्षेत्र तथा दायरा विस्तार भएका कारण कानून व्यवसायीका लागि एक महत्वपूर्ण विषय भएको बताए । साथै, बजारमा विभिन्न प्रकारका मुद्दा, मामिला आउन सक्ने भएकाले कानून व्यवसायीहरुले अध्ययन तथा अनुभवका आधारमा यस बजारप्रति आफ्नो ज्ञान विस्तार गर्न आवश्यक भएकोले यस प्रकारको अन्तरक्रिया तथा छलफल कार्यक्रम विशेष रहने उनले बताए ।

उनले धितोपत्र बजारका साथै वस्तु विनिमय बजार पनि नयाँ प्रकृतिको विषय भएकाले यसमा लगानी गरी प्रतिफल प्राप्त गर्न ज्ञान तथा कौशलता (नलेज एण्ड स्कील) दुवै आवश्यक हुने हुँदा यस बारेमा सर्वसाधारणलाई प्रशिक्षित गर्नुपर्ने बताए । उनले धितोपत्र बजार केवल लगानी र प्रतिफलको विषय मात्र नभई देशको आर्थिक विकासको संवाहक भएको न्यायाधीश सिन्हाले बताए ।

कार्यक्रमका विशेष अतिथि तथा बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले प्राथमिक बजार देशव्यापी भएको तथा दोस्रो बजार क्रमशः देशव्यापी हुँदै गएको बताए । उनले बजार सहभागीको व्यवसायिक क्षमता अभिवृद्धि गर्दै परस्परमा बाझिएका कानूनहरु मिलाउने, ट्रष्ट ऐन तथा म्युचुअल फण्ड सम्बन्धी ऐनको तर्जुमा, विद्यमान ऐन नियमहरुलाई समय सापेक्ष बनाउने र बजार गतिविधि तथा सेवाहरुलाई उच्च प्रविधियुक्त बनाई स्तरीय एवंम् विश्वसनीय धितोपत्र तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्न चुनौतीपूर्ण भएको बताए ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का कायम मुकायम(कामु) प्रबन्धक निरञ्जन फुँयालले धितोपत्रको दोस्रो बजार विषयमा र अधिवक्ता शिवप्रसाद रिजालले धितोपत्र बोर्ड सम्बन्धी कानूनी व्यवस्थाहरु र अदालती अभ्यासका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारीले बोर्ड र कानून व्यवसायीबीच भएको यस प्रकारको संवादले कानूनी व्यवसायीको भूमिका बढेको साथै थप जिम्मेवारी बनाएको बताएका छन् । उनले कानून प्रवलीकरणमा बोर्डको समेत भूमिका रहेको बताउँदै धितोपत्र बजारमा भए गरेका कानूनी अभ्यासलाइ थप सुदृढीकरण तथा पारदर्शी अदालती प्रक्रियाका लागि कानून व्यवसायी थप सक्रिय भई मार्गनिर्देशक हुन सक्नुपर्ने जनाएका छन् ।

कार्यक्रममा पूर्व न्यायाधिश तथा अधिवक्ता सहित करिब १२० जना सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.