ठमेलको सार्वजनिक जग्गा हडप्ने छायाँँ सेन्टर र शक्तिकेन्द्रको कनेक्सन, काे काे मुछिएका छन् विवादमा ?

  २०७५ माघ २७ गते १६:०६     विकासन्युज

काठमाडौं । केही समय पहिले मात्रै सञ्चालनमा आएको काठमाडौँको ठमेलमा अवस्थित छायाँँ सेन्टर विवादमा फसेको छ । छायाँ सेन्टरलाई उसका साहु जीहरुले मिनी ठमेलको नाम दिएका छन् । सबै सेवा र सुविधाको केन्दै पनि भनेका छन् । त्यो उनीहरुको दावी हुन सक्छ तर ठमेलको सार्वजनिक जग्गा र हिटी समेत मिचेको आरोप पनि सोही सेन्टरमाथि लागेको छ ।

छायाँँ सेन्टर किन विवादमा आएको छ ? कुनै पनि ठाउँमा हुने विकास निर्माणले स्थानीय तहमा ठूलो परिवर्तन ल्याउँछ र स्थानीयबासीले लाभ पाउँछन् । तर, ठमेलभित्र बनेको मिनि ठमेलप्रति स्थानीयबासी किन आक्रोशित भएको छन् ? ठमेलको सार्वजनिक जग्गा कसरी निजी स्वामित्वमा गयो र त्यसमा व्यवसायिक भवन बन्यो ? यस कार्यमा शक्ति केन्द्रहरुको सम्बन्ध कस्तो छ ? यो रिर्पोट यसैमा केन्द्रीत भएको छ ।
नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा रामशशरण महतले शक्तिको दुरुपयोग गरी विवादास्पद व्यापारीलाई फाइदा हुने गरी गराएको निर्णयका कारण यतिखेर नेपालको पर्यटकीय केन्द्र ठमेलमा चरम विवाद परेको तथ्यहरुले देखाएको छ ।

डा महतले आफ्ना छोरा रक्षकलाई त्यसको शेयर दिलाएका छन् । राजनीतिमा कहिले काँही नचलेको हावा र नहल्लेको पातले काम गर्छ भन्ने कुरा राम्रोसँग थाहा पाएका डा महतले छोराको नाममा शेयर किनेर पानी माथिको ओभानो बनेको देखिन्छ ।

सो सेन्टरमा ४३ जना लगानीकर्ता रहेका छन् । पृथ्वीबहादुर पाण्डेको नाममा सबैभन्दा बढी लगानी देखिन्छ । उनको नाममा ७ करोड ७८ लाख ३४ हजार ६०० शेयर छ । यस्तै श्रीमती प्रतिमा पाँडेको नाममा १ करोड २२ लाख ४४ हजार ४०० लगानी छ । पृथ्वीका छोरा सिवान्तका नाममा १९ लाख ७२ हजार बराबरको शेयर र उनका दिवगंत दाज्यू जर्नेलपवन बहादुर पाँडेको परिवारको नाममा ८ लाख ५७ हजार २०० बराबरको शेयर देखिन्छ । पाण्डे र महत परिवार पारिवारिक नाता सम्बन्ध पनि जोडिएको छ । त्यसका कारण यसमा डा महतको विशेष अनुराग रहेको छ ।

यस्तै दिपक शेरचनका दाजु भाईले पनि कम्प्लेक्समा लगानी गरेका छन् । छायाँँ सेन्टरका निर्देशक दिपकले ४ करोड ७३ लाख ७१ हजार र किरणमान शेरचनको नाममा ६८ लाख २ हजार बराबरको शेयर रहेको छ । मिजास भट्टचनले ३ करोड ५४ लाख १९ हजार र मनोहर प्रसाद शेरचनले १ करोड ६० लाख ४३ हजार लगानी गरेको छायाँ सेन्टरबाट प्राप्त गोप्य विवरणमा उल्लेख छ ।

सेन्टरका प्रवन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठको ४ करोड ७३ लाख ७१ हजार लगानी गरेका छन् । सेन्टरका प्रवन्ध निर्देशक तथा चर्चित बैंकर तथा चार्टर एकाउन्टेन्ट श्रेष्ठ कम्पनीका ठूला लगानीकर्ता हुन् । त्यस्तै, छायाँँ सेन्टरमा सौरभ ज्योतिको कम्पनी स्याकार ट्रेडिङ कम्पनी र एम्बेस्डर होटल र क्लब हिमालयका मालिक एवम् पोखराको फेवा ताल समेत अतिक्रमण गरेका कर्ण शाक्यका आफन्त योगेन्द्र शाक्यले पनि लगानी रहेको छ ।

नेपाली सेनाका पूर्व प्रमुख प्रज्वल शमशेर जवरा र उनका श्रीमती सिन्धु राणा समेतको पचास पचास लाख लगानी गरिएको छ । ठमेलको हाल छायाँ सेन्टर रहेको स्थानलाई स्थानीय नेवारहरुले कमलपोखरीको नाम दिएका थिए । सो क्षेत्रको विवाद उत्कर्षमा हुँदा अर्थमन्त्री रहेका डा. रामशरण महतको छोरा तथा पृथ्वीबहादुर पाण्डेका दाईका ज्वाईं अमेरिकी नागरिक रक्षक महतको नाममा ५० लाख र रामशरणकी बुहारी पारुल पाँडे महतको नाममा ८ लाख ५७ हजार २०० बराबरको सुरुवाती सेयर लगानी गरेको पाइएको छ । यो लगानी २०७३ साउन २३ गते सम्मको हो । त्यत्तिबेला डा महत शक्ति र सत्ताको नजिकमा नै थिए । उनले छायाँ सेन्टरको शेयर आफ्ना छोराको नाममा राखेको विवरणबाट देखिन्छ ।

प्रमुख रुपमा विभिन्न ४ प्रमुख बैंकको कर्जा लागनी रहेको छ । त्यो सबै व्यवस्था उनै डा. महतले मिलाएका हुन् । उनी अर्थमन्त्री भएकै बखत त्यस्तो व्यवस्था मिलाइएको हो । राष्ट्रिय बाणिज्य बैंक, एभरेष्ट बैंक, नेपाल बैंक प्रभु बैंकले समेत लगानी गरेका छन् ।
राजनीतिक शक्ति र प्रभावको प्रयोग गरेर डा महतले सार्वजनिक जग्गा मिचेर व्यापारिक संस्था खडा गराएका छन् । तर उनलाई कानूनी कारवाही गर्ने र कानूनको दायरामा ल्याउने काम भने हुन सकेको छैन ।

१५ तले ‘छायाँ सेन्टरमा १ सय ६८ कोठा छन् । ५ अर्ब लगानीमा बनेको भवन एकै ठाउँमा सबै सुविधा भएको ‘मिनी ठमेल’ बनाउने लक्ष्य राखिएको छ । सो सेन्टरलाई डा महतले समेत महत्वाकाक्षी परियोजना भन्दै आएका छन् । सेन्टरमा ५ तारे होटल, सिनेमा हल लगायतका संरचना तयार गरिएको छ ।

विसं २०७१ सालबाट कम्पलेक्स बनाउन सुरु गरिएको थियो । सो सेन्टरको बारेमा संसदीय समितिहरुमा समेत नेपाली काँग्रेसका सांसदहरुले सुरुमा नेकपाका नेता तथा कार्यकर्तालाई ठोक्ने मेसो मिल्यो भन्दै उत्साहित भएका थिए । तर पछि सो सेन्टरमा डा महतको लगानी रहेको थाहा पाएपछि उनीहरु चुप लागे । काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्र केसीले छायाँ सेन्टरको विषयमा छानबनि गर्नुप¥यो भन्दै संसद्को सार्वजनिक लेखा समितिमा कुरा राखेका थिए । तर सोही समितिमा रहेका काँग्रेस नेता बालकृष्ण खाँडले राजेन्द्र जी यसबारेमा थप छलफल गरौला भन्दै केसीको भनाइ नै रोकेका थिए । कारण त्यही थियो डा महतको बाबु छोराको नाममा रहेको लगानी ।
यस्तै पोखरी र हिटी समेत मिचिएको विषयमा संसद्को कृषि, प्राकृतिक स्रोत साधन समितिले समेत छानबिन गर्ने बताएपनि त्यो त्यत्तिकै रोकिएको छ ।

कूल १५ रोपनी क्षेत्रफलमा फैलिएको छ भवन । त्यसमध्ये १२ रोपनी जग्गा कुनै बेला सिंह सार्थबाहु गुठीको नामको पोखरी रहेको थियो । मालपोत कार्यालयको रेकर्ड हेर्ने हो भने जग्गा अहिले पनि सार्वजनिक पोखरी कायम छ । तर पूर्व अर्थमन्त्री डा महतले शक्तिको प्रयोग सो सार्वजनिक जग्गालाई मिलाइदिएको जानकारहरुको भनाइ छ । मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीलाई उनै महतले प्रभावमा पारेको बताइन्छ ।

विसं २०४४ सालमा सरकारले निर्णय गरेर यो पोखरीलाई सार्वजनिक गरेको थियो । त्योभन्दा अगाडि यसको स्वामित्व राणा परिवारको नाममा थियो । जग्गाको मोही भएको भन्दै केशरशमशेरका छोरा केयूर शमशेरले जग्गा हडपेका थिए । विसं २०३३ सालमा सहरी क्षेत्रको नापी भएको थियो । नापी हुँदा उक्त पोखरी कित्ता नम्बर १६७ मा परेको हो । उक्त कित्ताको क्षेत्रफल १२ रोपनी १३ आना २ पैसा २ दाम रहेको मालपोत कार्यालयको रेकर्डमा छ । विसं २०३९ जेठ २४ को भूमिसुधार मन्त्रालयको जग्गाधनी पुर्जामा पनि उक्त कित्ता पोखरी नै रहेको उल्लेख छ । तत्कालीन पूर्जामा जग्गाधनी सिंह सार्थबाहु गुठी लेखिएको छ । गुठी संस्थानमा रहेको २०४२ सालको फिल्डबुकमा पनि पोखरी नै उल्लेख छ । यस्तै २०४४ मंसिर २३ गते सरकारले निर्णय गरेर उक्त पोखरी सरकारको नाममा दर्ता गरेको थियो । त्यसयताका जग्गाधनी स्रेस्तामा पनि पोखरी नै उल्लेख छ । जग्गाधनीको नाम ‘श्री ५ को सरकार’ उल्लेख छ ।

‘गुठीजन्य सार्वजनिक जग्गामा मोही लाग्न नसक्ने, व्यक्तिगत नाममा दर्ता नगर्न नसक्ने व्यवस्था रहेको छ । ‘व्यक्तिको नाममा दर्ता भए पनि बदर हुन सक्ने व्यवस्था गुठी संस्थान ऐन २०३३ को दफा २ (ग), २५ (४) र २७ (ख) मा उल्लेख छ ।’ तर सोही ऐनको अर्को प्रावधानलाई टेकेर डा महत सहितले छायाँ सेन्टर बनाउने बेलामा नै सरकारी जमिन र गुठीलाई समेत मिलाएको जानकारहरु बताउँछन् । त्यसअघि नै २०४७ सालमा त्यही गुठी जग्गालाई गुठी लगत तथा तहसिल कार्यालयले रैतानी गरियो । तहसिल कार्यालयले गरेको रैतानीलाई गुठी संस्थानको केन्द्रीय कार्यालयले रद्द गरिदियो । रैतानी गर्न नमिल्ने भएकाले रैतानी रकम फिर्ता लिन आउन केन्द्रीय कार्यालयले पत्राचार गरेको थियो । पोखरी रैतानी गर्ने कर्मचारीलाई गुठी संस्थान केन्द्रीय कार्यालयले विभागीय कारबाहीसमेत गरेको थियो । ‘रैतानी रद्द गरेपछि पोखरी फेरि सार्थबाहु गुठीकै नाममा आएको थियो ।

गुठीको उक्त निर्णयविरुद्ध अम्बिका राणा अदालत गएकी थिइन । अदालतले रैतानी सदर गरिदियो । ‘गुठी संस्थान ऐन २०३३ अनुसार देवस्थल रहेका वा देवीदेवताका स्थल, पर्व, पूजाजात्रासँग सम्बन्धित धार्मिक एवं सार्वजनिक पर्ति जग्गा कुनै पनि व्यक्तिको नाममा दर्ता गरिने छैन भनिएपनि अदालतमा समेत चलखेल भएको थियो ।

विसं २०६२ सालमा गुठियार र अम्बिका राणाबीच अर्काे सम्झौता गरियो । । सम्झौताअनुसार राणाले गुठीका सबै पर्व परम्परा सञ्चालन गर्न रु १ करोड ५० लाख दिने र गुठियारले हकदाबी छाड्ने सहमति भएको थियो । चलखेल त्यही नेर भयो ।

मिलापत्र भएको एक वर्षपछि राणाले सुरेशाय हाउजिङलाई उक्त जग्गा बेचिन । पोखरीको साविक कित्ता १६७ बाट कित्ताकाट भएर १६१६, १६१७, १६१८ भएको छ । २०६४ सालमा सुरेशाय हाउजिङले कित्ता नम्बर २४१२ र शंकर शाहले कित्ता नम्बर १६१६ र १६१७ को पोखरी प्रतिमा पाण्डेलाई बेचेको देखिन्छ । इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको नेतृत्वमा उनैको आमा छायाँँदेवीको नाममा खोलिएको संस्था हो छायाँँ सेन्टर । (देशविकास साप्ताहिकबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.