रियलस्टेट र सेयरमा लगानी गर्नुभन्दा बैंकमा बचत गर्दा धेरै फाइदा छ-सुमन शर्मा

  २०७५ माघ २७ गते १०:१७     विकासन्युज

सुमन शर्मा, प्रमुख कार्यकारी अधिकृत, माछापुच्छ्रे बैंक लिमिटेड

सुमन शर्माले माछापुच्छ्रे बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी सम्हालेको ७ महिना भएको छ । नेपाल एसबिआई बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक लगायतमा २१ वर्ष काम गरेका शर्माले माछापुच्छ्रे्र बैंक सीईओ भएपछि राम्रो नतिजा देखाईरहेका छन् । बैंकिङ्ग क्षेत्रका विभिन्न फाँटमा अनुभव हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिदै आएका छन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । प्रस्तुत छ शर्मासँग माछापुच्छे्र बैंकको पछिल्लो अवस्था र वित्तीय क्षेत्रमा भईरहेको प्रतिस्पर्धाबारे गरिएको विकास बहस ।


माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा तपाई जिम्मेवारी लिएपछि के–के परिवर्तन भए ?

मैले जिम्मेवारी लिएको ७ महिना भयो । यस अवधिमा धेरै परिवर्तन भएका छन् । बैंकको वित्तीय अवस्थामा धेरै सुधार आएको छ । बैंकका कर्मचारीमा उत्साह बढेको छ । त्यहि उत्साहले नै वित्तीय क्षेत्रले कठिनाई भोगिरहँदा पनि माछापुच्छ्रे बैंकले विगत छ महिनामा धेरै राम्रो गर्न सफल भएको छ ।

वित्तीय सूचकाङ्कमा कति प्रतिशतको वृद्धि छ ?

पुस मसान्तसम्ममा नियामकीय समायोजनपछिको नाफा ८० करोड रुपैयाँ छ । गत वर्ष सोही अवधिमा ३८ करोड रुपैयाँ मात्र थियो । गत वर्षको पहिलो छ महिनाको तुलनामा खुद नाफामा ७० प्रतिशतले वृद्धि भएको छ । फि इन्कम पनि ६० प्रतिशत भन्दा बढीले बृद्धि छ । विदेशी मुद्रा सटही आम्दानीमा १२५ प्रतिशतभन्दा बढी वृद्धि छ । तरलता संकटको बेलामा पनि दोस्रो त्रैमासमा सवा ७ अर्ब निक्षेप वृद्धि गरी ८५ अर्ब पुर्याएका छौं । कर्जा ३ अर्ब ७० करोड बढायाँै र अहिले पौने ७५ अर्ब रुपैयाँ भएको छ । क्यापिटल एडेक्वसी १२ प्रतिशतभन्दा बढी छ । सीसीडी रेसियो ७८ प्रतिशत छ । केही बैंकहरुको सीसीडी सीमा ब्रेक भएको छ । केही बैंकहरुले कर्जा सेल गर्नु परेको छ । तर, हामीले त्यस्तो समस्या भोग्नु परेको छैन ।

यस बैंकका धेरै सूचकाङ्कहरुको वृद्धि औषत बैकिङ सूचककाङ्कहरु भन्दा माथि देखिन्छ । यसो हुनुको मुख्य कारण के–के हुन् ?

बजार राम्रो भएर हामीले राम्रो गरेका होइनाैं । बजारमा चुनौतिहरु हुँदाहुँदै पनि हामीले राम्रो गरेका छौं । यस हुनुमा हाम्रो रणनीतिक निर्णयहरु पनि छन् । कर्मचारीको मोटिभेसन, टिम वर्क, प्रपर मनिटरिङले पनि काम गरेको हुन्छ । समयअनुसार प्रडक्ट तयार गर्नु र त्यसको बजारिकरण गर्न सक्नुले पनि हामीले राम्रो गरेका छौं ।

२८ वटा बैंकमा माछापुच्छ्रे बैंकको पोजिशन कहाँ छ ?

२८ को आधा १४ हुन्छ । नाफाको हिसावले अरु १४ वटा बैंकको भन्दा हामीले बढी नाफा गरेका छौं । माछापुच्छ्रे बैंकको १८ वर्षको इतिहासका आधारमा हेर्दा हामीले जति गर्न सक्नुपर्दथ्यो त्यति गर्न नसकेको देखिन्छ । पछिल्लो ६ महिनाको रिजल्ट र प्रोगेसका आधारमा हामीले धेरै राम्रो गरेका छौं । यसलाई निरन्तरता दिन सकियो हामी छोटो अवधिमा नै माथि पुग्छौं ।

अबको योजना के छन् ?

सिम्पल छ, निक्षेप लिने र कर्जा लगानी गर्ने । पछिल्लो समय वल्र्डमा डिजिटल बैंकिङ र डिजिटाईजेशन बढेको छ । त्यसमा हाम्रो फोकस हुन्छ । अटोमेशनतर्फ हामीले काम गरिरहेका छौं । प्रतिस्पर्धीले थाहा नपाउने गरी हामीले धेरै काम गरिरहेका छौं । मानिसको संलग्नता कम गर्दै आएका छौं । विगत चार वर्षको स्टाफ रेकर्ड र विजनेश हेर्नुभयो भने स्टाफको इफिसिएन्सी निकै बढेको देख्न सक्नुहुन्छ ।

बैकिङ क्षेत्रमा सबैभन्दा ठूलो इस्यू केवाईसी एएमएल अपडेटको छ । यसमा हामीले असाध्यै राम्रो गर्न सफल भएको छौं । तपाईँले नेपाल राष्ट्र बैंकलाई पनि सोध्न सक्नुहुन्छ केवाईसी एएमएलको इस्यूमा राम्रो गर्ने बैंकहरुमा हामी टपमा पर्छौ । केही वर्ष अघिसम्म हामी यस विषयमा निकै कमजोरमा पर्दथ्यौ ।

त्यस्तै, हामीले ग्रामीण क्षेत्रमा बैंकिङ सेवा बिस्तारलाई जोड दिएका छौं । लघुवित्तमा धेरै राम्रो प्रोग्रेस छ । सक्षम र हेफरइन्टरनेशनलसँग मिलेर ग्रामीण क्षेत्रमा काम गरिरहेका छौं । नेपालमा पहिलो पटक किसानलाई क्रेडिट कार्ड सेवा दिएका छौं । पेपरलेस काम गर्ने दिशामा हामीले धेरै काम गरेका छौं । वित्तीय साक्षरता कार्यक्रमको लागि मात्र ८० लाख रुपैयाँ खर्च गरिरहेका छौं । बैंकिङ नबुझेका मानिसहरुलाई बंैकिङ बुझाउने, उनीहरुलाई खाता खोल्न लगाउने, बैंकिङ कारोबार सिकाउने काम गरिरहेका छौं । यसले बैकिङ विजनेशमा पनि राम्रो सपोर्ट भईरहेको छ । ग्राहकको संख्यामा उल्लेख्य वृद्धि भईरहेको छ ।

किसानलाई क्रेडिट कार्ड कति प्रभावकारी भएको छ ?

हामी शुरुवाती चरणमा छौं । यसको रिजल्ट हेर्ने बेला भएको छैन । हामी किसानलाई ऋण दिँदा पनि क्रेडिट कार्डबाट नै दिने हो, भुक्तानी लिँदापनि क्रेडिट कार्डबाट नै हुन्छ । बैंकको ब्रान्चलेस प्रतिनिधिले किसानलाई सपोर्ट गर्नुहुन्छ । हामीलाई विश्वास छ कि यो सेवा प्रभावकारी हुनेछ ।

अब समग्र वित्तीय बजारको बारेमा कुरा गरौं । सीईओ वा सञ्चालकहरुसँग कुरा गर्दा बैंकिङ विजनेश निकै कठिन भएको सुनाउँछन् । प्रतिस्पर्धा निकै कठिन चरणमा पुगेको हो ?

प्रतिस्पर्धा बढेको हो । राष्ट्र बैंकले पनि कडाई गर्दै लगेको छ । स्प्रेडदर ५ प्रतिशतबाट ४.५ प्रतिशतमा झारिएको छ । नाफा बढाउन, विजनेश बढाउन प्रतिस्पर्धा भएको छ । यसले उपभोक्तालाई लाभ भएको छ । बैंकहरुले दिने सेवाको स्तरमा सुधार आएको छ । प्रविधिको प्रयोग बढेको छ ।

हो, बैंकका उच्च व्यवस्थापकहरुलाई अलि बढी दवाव छ । लगातार तीन वर्षदेखि निक्षेप वृद्धि कम छ । तरलताको संकट छ । पुँजी वृद्धिको आधारमा विजनेश वृद्धि र नाफा वृद्धिमा चुनौति छन् । संकटको बेलामा जसले राम्रो गर्छ उही अगाडि बढ्छ ।

प्रतिस्पर्धाले उपभोक्तालाई लाभ पुगेको बताउनु भयो । तर, बैंकहरुले कर्जाको व्याज १३ देखि १८ प्रतिशतसम्म बनाएका छन् । उद्योगी व्यवसायीहरु कालो व्यानरसहित उच्च व्याजदरको विरोधमा सडकमा आएका छन् । समग्रमा उपभोक्ताले लाभ नपाएको देखियो नि ?
जो अहिले कर्जाको व्याजदर बढी भयो भनेर विरोध गरिरहनु भएको छ, उहाँहरु वा उहाँहरुकै परिवारका सदस्यहरु बैंकमा निक्षेप राख्न आउनुभयो भने सबैभन्दा बढी व्याज उहाँहरुलाई नै चाहिन्छ । निक्षेपमा पनि १२/१३ प्रतिशत व्याज खोज्ने अनि कर्जा ९/१० प्रतिशत व्याजमा चाहियो भन्ने कुरा गलत हो ।

कर्जाको ब्याजदर बढी भनेर ऋणीहरु सडकमा आउनु त बैंकिङ व्यवसायको लागि राम्रो संकेत भएन नि ?

यो राम्रो संकेत होइन । त्यसैले त बैंकर्सहरु सचेत भएर निक्षेपका व्याजदर कम गरेको छ । यसको अन्तिम लाभ ऋणीलाई नै हुने हो । आज बंैकर्सहरुबीच निक्षेपको ब्याज १० प्रतिशतभन्दा कम राख्ने सहमति भएको छ । बैंकर्सहरुले यो सहमति किन गर्नु पर्र्यो ? १४ प्रतिशतमा निक्षेप लिएर १८ प्रतिशतमा कर्जा लगानी गरेको भएपनि हुने थियो नि । बैंकर्सहरु जिम्मेवार भए । कर्जाको व्याज १८/१९ प्रतिशत हुँदा समग्रमा उद्योगी व्यवसायीलाई समस्या पर्छ, कर्जाहरु डिफल्ट हुने जोखिम बढ्छ, त्यसले बैंकलाई पनि राम्रो गर्दैन, अर्थतन्त्रलाई पनि राम्रो गर्दैन भनेर त्यो सहमति गर्नु परेको हो ।

बैंकर्सले निक्षेपको व्याज त घटाए तर कर्जाको व्याज दर घटाएनन् । त्यसैले पनि विरोधका आवाज प्रस्फुटित भएका हुन् कि ?

निक्षेपको व्याज घटेपछि बेस रेट घट्छ । बेसरेट घटेपछि कर्जाको ब्याज स्वतः घट्छ । बेसरेटमा २/३ प्रतिशत थप गरेर कर्जा लगानी हुन्छ । त्यसैले निक्षेपको ब्याज घट्नु भनेको २/३ महिनापछि कर्जाको व्याजदर घट्नु नै हो । ख्याल गर्नु पर्ने अर्को कुरापनि छ । बैंकहरुले मुद्दति बचत लिँदा एक वर्षदेखि ५ वर्षसम्मको लिएका छन् । बैकिङ क्षेत्रको कूल निक्षेपको करिव ५० प्रतिशत हिस्सा मुद्दतिको छ । बचत खातामा व्याजदर धेरै घटेको छैन । त्यसैले बेसरेट पनि आजको भोलि नै धेरै तल झर्न सक्दैन ।

नेपालमा खुला बजार अर्थनीतिको अभ्यास भइरहेको छ । खुला बजार नीति भएको देशमा मूल्य र गुणस्तर बजारमा हुने प्रतिस्पर्धाले तय गर्नु पर्ने हो । यस परिवेशमा के बैंकर्सहरुले मिलोमत्तोमा व्याजदर तोक्नु राम्रो हो ?

तपाईँलाई थाहा छ कि गत पुसमा बैैंकहरुले निक्षेपकर्तालाई १३/१४ प्रतिशत व्याज दिन थाले । बैंकर्सहरुबीच नयाँ सहमति नभएको भए निक्षेपको व्याज १५/१६ प्रतिशत हुने वाला थियो । जब निक्षेपको व्याज १५ प्रतिशत नाघ्छ तब कसले जोखिम लिएर व्यवसाय गर्छ ? सबै मान्छे पैसा बैंकमा राखेर बसीबसी ब्याज खान लाग्छन् । यसले अर्थतन्त्रमा नयाँ लगानी रोकिन्छ । उत्पादन वृद्धि, रोजगारी सिर्जना, राजश्व वृद्धि, आम्दानी बृद्धि सबै कुरा रोकिन्छ । मुलुकलाई त्यस्तो जोखिममा जान दिन हुने कि नहुने ? सरकारले पनि बैंकर्सहरुलाई यस्तो जोखिमपूर्ण बाटो त्याग्न भनेको हो । बैंकर्सहरुले पनि संयमता अपनाएका हुन् । बैंकर्स संघले जे निर्णय गरेको छ त्यो सबैको हितमा छ । आज मुद्रस्फिति ४/५ प्रतिशत हुँदा निक्षेपको व्याजदर ९ प्रतिशत हुनु निक्षेकर्ताको पनि हित नै हुन्छ ।

अर्को बजार अर्थनीति भन्दैमा सबै कुरा खुला छैन । क्यापिटल कन्भर्टिविलिटी सुविधा नेपाल सरकारले दिन सकेको छैन । विगतमा दिंदै आएको विदेशी मुद्रा सटही सुविधा सीमा पनि सरकारले कटौति गर्न थालेको छ । आयात निरुत्साहित गर्ने पोलिसी सरकारले लिंदै गएको छ । यी सबै पक्षमा देशको आवश्यकता र बस्तुस्थितिलाई हेरेर नीति लिने हो । त्यहि अनुसारको बजारमा अभ्यास हुने हो ।

कर्जाको माग कस्तो छ ?

कर्जाको माग घट्दो छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कर्जाको माग जति धेरै थियो दोस्रो त्रैमासमा त्यति धेरै माग आएन । तेस्रो त्रैमासमा त कर्जाको माग झनै घटेको छ ।

सरकारी राजश्व बढेकै छ । आयात बढेकै छ । जीडीपी ६ प्रतिशतभन्दा माथि हुने प्रक्षेपण आईएमएफले पनि गरेको छ । तर सेयर बजार, रियलस्टेट बजार, अटो मोवाइल बजारमा संकट देखिन्छ । तपाईले भन्नुभयो कर्जाको माग घट्यो । के अर्थतन्त्रमा मन्दीको संकेत देखिएको हो ?

कुनैपनि सवारीसाधान नेपालमा बन्दैन । सबै आयात हुने बस्तु हुन् । बैदेशिक व्यापार घाटा भई विदेशी मुद्रा संचित अवस्था जोखिमपूर्ण हुँदै गर्दा सरकारले यस क्षेत्रमा जाने कर्जामा कडाई गरेको छ । अटो कर्जा सीमा ६५ प्रतिशतबाट घटाएर ५० प्रतिशत गरेपछि अटोलोनमा कर्जा माग कम भयो ।

सेयर बजारमा पनि कति प्रतिशत प्रतिफल आउँछ भनेर क्यालकुलेशन गरेर लगानी गरिन्छ । अहिले १५÷१६ प्रतिशत व्याजमा कर्जा लिएर सेयर बजारमा लगानीगर्दा लाभ देखिदैन । कम्पनीले १६ प्रतिशत लाभांश दिन्छ, त्यसको सेयर मूल्य ४ सय रुपैयाँ छ भने रियल रिर्टन ४ प्रतिशत मात्र भयो । १६ प्रतिशत व्याजमा कर्जा लिएर ४ प्रतिशत रिटल खान कसैले पनि लगानी गर्दैन । कुनैपनि प्रुडेन्ट इन्भेष्टर्सले अहिले कर्जा लिएर सेयरमा लगानी गर्दैन । बरु भएको पैसा निक्षेपको रुपमा राखेर व्याज खान्छ । भएको सेयरपनि बिक्री गर्न लाग्छ । अहिले भएको त्यहि हो । बजारमा सेयर किन्ने भन्दा बेच्ने बढी भए । आपूर्ति बढी भएपछि सेयरको मूल्य घटेको हो । अर्थमन्त्रीले बोलेकाले सेयर मूल्य घटेको होइन ।

रियलस्टेट क्षेत्रमा व्यक्तिगत कारोबार बढी भएको छ, संस्थागत कम छ । रियलस्टेट विजनेश प्रडक्टिभ हुँदैन । आज काठमाडौं लगायत देशको कुनैपनि सहरी क्षेत्रमा ४ आना जग्गा किनेर घर बनाउँदा २ करोड रुपैयाँ खर्च हुन्छ । त्यस घरबाट मासिक ५० हजार भाडा उठ्न गाह्रो हुन्छ । वर्षमा ६ लाख आउला । दुई करोड लगानीमा ३ प्रतिशत पनि प्रतिफल हुँदैन । तर हिजो दुई करोड बैंकमा राख्नेले आज मासिक दुई लाख, वर्षमा २४/२५ लाख व्याज आम्दानी गरिरहेका छन् । भनेपछि रियलस्टेटमा लगानी गरेर पनि फाइदा छैन । अहिले २ करोडमा किनेको जग्गा भोलि २ करोड ५० लाखमा बिक्री गर्न सक्छु भन्नेले मात्र रियलस्टेटमा लगानी गर्ने हो । तर, सधैं त्यस्तो मूल्य वृद्धि हुँदैन ।

उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी कस्तो छ ?

उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न राष्ट्र बैंकले पनि प्रोत्साहित गरिरहेको छ । यो क्षेत्रमा यति लगानी हुनैपर्छ भनेर सीमा तोकिएको छ । माछापुच्छ«े बैंकको कुरा गर्नुहुन्छ भने हामीले पर्यटन क्षेत्रमा, कृषि क्षेत्रमा, उर्जाको क्षेत्रमा लगानी विस्तार गरिरहेको छौं । यी क्षेत्रमा कर्जाको माग पनि छ । इनोभेटिभ र प्रडक्टिभ सेक्टरमा हामीले कर्जा लगानी गरिरहेका छौं । तर, जमिनको मूल्य वृद्धिले गर्दा उद्योग र कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.