अन्तर्राष्ट्रिय उडानमा अब ३ निजी कम्पनी, श्री एयरलाईन्सले ७४ सिट क्षमताको २ जहाज फागुनमा ल्याउने

  २०७५ माघ २७ गते १२:१०     खेमराज श्रेष्ठ

काठमाडौं । श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएको छ । २ वटा निजी जहाज कम्पनीले अन्तर्राष्ट्रिय उडान गरिरहेकोमा अब श्री एयरलाइन्स पनि थपिएको हो ।

हाल आन्तरिक उडान गरिरहेको श्री एयरलाइन्सलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अन्तर्राष्ट्रिय चार्टर स्वीकृती प्रदान गरको हो । एयरलाई फिक्स विङस् पंखा जडित जहाज मार्फत उडान अनुमति दिइएको मन्त्रालयले जनाएको छ ।

कम्पनीले अन्तिम स्वीकृतिका लागि नागरिक उड्ययन प्राधिकरणमा निवेदन दिएको छ । निवेदनमा क्यानले मागेको मापदण्ड पुरा गरेपछि एयरले अन्तिम स्वीकृति पाउने कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले बताए । यो प्रक्रियाको लागि करिब ३ महिना लाग्नेछ ।

मानन्धरका अनुसार क्यानको मापदण्ड पुरा गर्न सकिए ३ महिनाभित्र अनुमति प्राप्त हुनेछ । तर मन्त्रालयले अनुमति दिइसकेपछि क्यानमा धेरै समय नरोकिने सुचना अधिकारी त्रिलोचन पौडेलले बताए । ‘मन्त्रालयले स्वीकृति दिइसकेको छ हामीले अब मापदण्ड पुगे नपुगेको मात्र हेर्ने हो’ पौडेलले विकासन्युजसँग भने- ‘क्यानमा धेरै समय लाग्दैन ।’

मन्त्रालयले एयरलाई हवाई सम्झौता नभएको देशमा पनि जहाज चार्टर गर्न पाउने गरी स्वीकृति प्रदान गरको हो । यसबाट हवाई सम्झौता भएका मुलुकहरुसँग नियमित उडान गर्न पाउनेछ भने जुनसुकै देशमा जहाज चार्टर गर्न पाउनेछ ।

२० वर्षदेखि हेलिकप्टर सेवा प्रदान गर्दै आइरहेको कम्पनीलाई चार्टर गर्ने गरी अन्तराष्ट्रिय इजाजत पाएको हो । अहिले बुद्ध एयर र हिमालयन एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।

कम्पनीले अहिले २ वटा नयाँ जहाज थप्ने तयारी गरिहेको छ । जहाज फागुन महिनाको अन्त्यसम्म आइपुग्ने प्रबन्धक मानन्धरले जानकारी दिए । ७४ सिट क्षमताको २ वटा जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ, फागुनमा जहाज आएपछि सोहि जहाजले अन्तर्राष्ट्रिय चार्टर गर्न पाउनेछ । विमान खरिदको काम अघि अन्तिम चरणमा पुगेको एयरलाइन्स प्रमुख सुधिर मित्तलले बताए । उनका अनुसार विमान खरिदको लागि कम्पनीले डेढ अर्ब रुपैंया भन्दा बढी खर्च गर्नेछ ।

४ वटा जहाजले आन्तरिक उडान गरिरहेको एयरलाइन्सको २ वटा जहाज काठमाडौं आएपछि जहाज संख्या ६ पुग्नेछ । सुरुमा दुबै जहाज नेपालभित्रका उडानमा प्रयोग गर्ने कम्पनीको तयारी रहेको छ भने वैकल्पिक रुपमा सोहि जहाजलाई अन्तर्राष्ट्रिय उडानमा प्रयोग गर्नेछ ।

हाल एयरलाइन्सले भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगञ्ज लगायत स्थानमा हवाई सेवा उपलब्ध गराइरहेको छ । नयाँ जहाज ल्याएपछि पोखरा र भरतपुरमा उडान सेवा विस्तार गर्ने कम्पनीको तयारी छ ।

कम्पनीले विदेशमा पनि हेलिकप्टर सेवा सञ्चालन गरिरहेको छ । कम्पनीसँग हाल ८ वटा हेलिकप्टर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.