उपत्यका सहित देशैभर हिमपातः आइतबारदेखि मौसममा सुधार

  २०७५ माघ २६ गते १४:१३     विकासन्युज

काठमाडौँ । लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा हिमपात गराएको हो । उपत्यकाका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँसहित देशैभर वर्षा भएको छ । केही स्थानमा भारी वर्षा तथा अधिकांश स्थानमा सामान्यदेखि हल्का वर्षा भएको छ । काठमाडौँमा २१.५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी भैरहवामा ५९, सिमरामा ४७, पोखरामा ३५, दाङमा १६, वीरेन्द्रनगरमा १३, जुम्लामा ११, डडेलधुरामा ६, विराटनगरमा ५ र धनकुटामा ४ मिलिमिटर वर्षा भएको छ । उपत्यकामा आज बिहान ९ बजेसम्म वर्षा भए पनि अहिले केही स्थानमा आकास खुला भएको छ । कतिपय स्थानमा माम लागे पनि धेरैजसो स्थानमा बदली देखिन्छ । बदली र वर्षाले उपत्यकामा बढी चिसो महशुस गरिएको छ ।

आज काठमाडौँको न्यूनतम ६ र अधिकतम तापक्रम १६.९ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्रिमा झरेको छ । सबैभन्दा बढी विराटनगरको न्यूनतम तापक्रम १४ डिग्रिसेल्सियस रहेको छ ।

पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर बन्दै गएकाले भोलि आइतबारदेखि मौसममा सुधार आउने महाशाखाका मौसमविद शान्ति कँडेलले बताए । “अहिले पश्चिमका केही क्षेत्र र मध्यका तराई भेगमा मौसममा सुधार हुँदै आएको छ । पूर्वी क्षेत्रमा साँझतिर हल्का वर्षा हुने देखिन्छ, बाँकी भेगमा छिटफुट वर्षा भए पनि आइतबारदेखि मौसममा सुधार आउछ,”–उनले भने ।

यसैबीच महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी बुलेटिन निकालेर बदली र वर्षाका साथै हिमपातको सम्भावना औंल्याएको छ । आज देशको पूर्वी र मध्य भेगमा सामान्य बदली रही पश्चिमी भेगमा आंशिक बदली रहने छ भने मध्य र पूर्वी भेगका केही तथा पश्चिमी भेगका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । साथै हिमाली क्षेत्रमा मध्यम हिमपात हुनेछ ।

रातको समयमा पनि पूर्वी भेगमा सामान्य बदली र थोरै स्थान तथा मध्य र पश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २८ गते सोमबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । पहाडी भेगमा सामान्य बदली रहेपनि बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

दामनमा चर्को हिमपातः हिउँ खेल्दै रमाउँदै पर्यटक
दामन । मकवानपुरको थाहा नगरपालिकास्थित दामन तथा सिमभञ्ज्याङ क्षेत्रमा आज चर्को हिमपात भएको छ । राजधानी काठमाडौँलगायतका क्षेत्रमा तीन दिनदेखि लगातार परिरहेको पानीसँगै त्यस क्षेत्रमा शुक्रबार रातिदेखि चर्को हिमपात शुरु भएको हो ।

आज बिहान ६ बजेदेखि झन बाक्लो हिमपात भएको छ । आजको हिमपात अहिलेसम्मकै बढी हिमपात भएको स्थानीयले बताएका छन् । यतिबेलासम्म झण्डै आधाफुट बाक्लो हिउँ सडक तथा खुला क्षेत्रमा जम्मा भइसकेको छ । दामन तथा आसपासका घरका छाना, रुख, बिरुवा, भिरालो जमीन, खोँच, सडक सबै हिउँले सेताम्य बनेको छ ।

बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कष्टकर बनेपछि त्यहाँ पुगेका पर्यटक भने हिउँसँग खुब रमाएका छन् । “यतिधेरै हिउँ मैले यहाँ पहिलोपटक देखेको हुँ”, स्थानीय विजय कार्कीले भने, “हिउँ परेपछि यहाँ खेलेर रमाउने पर्यटक धेरै आउँछन् ।” कोही हिउँ मानव बनाएर उसैसँग सेल्फी लिइरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकअर्कालाई हिर्काउँदै रमाउँदै गरेका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै हिउँ वर्षाको अनुभव सङ्गालिरहेका छन् ।

हिउँ परेपछि सडकमा आवतजावत गर्ने लामो दूरीका यात्रु बोक्ने सवारीसाधनमा भने कमी आएको छ तर हिउँसँग खेल्न र रमाउने पर्यटक भने बढ्दै गएका छन् । हिउँ तथा वर्षात्का कारण यतिबेला यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत्को अभावमा पर्यटक तथा स्थानीयले मोबाइल चार्ज गर्नेलगायतका अन्य काममा अवरोध पुगेको छ ।

दामन तथा सिमभञ्ज्याङ घुम्न आएका पर्यटक बिहानैदेखि हिउँमा खेल्दै फोटो खिच्दै रमाएका छन् । काठमाडौँबाट पहिलोपटक दामनमा हिउँ खेल्न पुग्नुभएका पवन थापाले हिउँको वर्षा भएको पहिलोपटक देखेको बताए । फुसफुस झर्दै गरेको हिउँको अनुभव उनले आफ्ना साथीभाइसँग फोन र सामाजिक सञ्जालबाट साटे । “कसरी हिउँ पर्ने रहेछ भन्ने पहिलोपटक देखेँ”, उनले भने, “हिउँसँग खेल्दा निकै रमाइलो लाग्यो ।” उनका अनुसार शुक्रबार राति असिना पानी प¥यो त्यसपछि लगातार हिउँ पर्न थाल्यो ।

विशेष कार्यक्रमका लागि दामन पुगेको सर्जिकल एशोसिएशनसँग आबद्ध १८ जनाले पनि हिउँ खेले । कामका लागि आएको भए पनि हिउँ परेपछि काममा ढिलाइ भएको मौकालाई टोलीले हिउँसँग खेलेर रमाइलो गरेको टोलीका रमण कायस्थले बताए । होटलको कोठाबाट बाहिर निस्कदै हिउँसँग खेल्दै कामको तयारीमा टोलीका सदस्य जुटेका थिए ।

एभरेष्ट पानोरोमालगायतका होटल तथा रिसोर्टमा पर्यटक जम्मा हुने क्रम बिहानैदेखि थपिँदै गएको छ । अघिल्लो दिन आइपुगेकाले भने रातिदेखि नै हिउँसँग रमाइलो साटेका थिए । त्यस क्षेत्रमा हिउँ परेपछि आसपासका चित्लाङ, टिस्टुङ, बज्रबाराहीलगायतका क्षेत्रमा चिसो बढ्दै गएको छ ।

दामनमा हिउँ खेल्न काठमाडौँबाट नौबिसे हुँदै त्रिभुवन राजपथबाट करीब तीन घण्टामा दामन पुगिन्छ । त्यस्तै वीरगञ्ज, हेटौैंडा, चितवनबाट समेत सहजै दामन पुगेर हिउँ खेल्न सकिने पुगेका पर्यटकहरु बताउँछन् । त्यस क्षेत्रबाट आज बिहानैदेखि हिउँ खेल्नका लागि आउने पर्यटकले होटल ‘बुकिङ’ फोनबाट गरिरहेको स्थानीय होटल सञ्चालकहरुले जानकारी दिए ।

राजधानीबाट त्रिभुवन राजपथबाट ७५ किलोमिटरको दूरीमा रहेको दामन पुगी हिउँसँग रमाउन सक्नेछन् । त्यसैगरी चन्द्रागिरिबाट चित्लाङको कच्ची बाटोबाट पनि साना सवारीसाधनमा दामन पुगेर हिउँ खेल्न सकिन्छ । राजधानीको दक्षिणकाली, फाखेल हुँदै कुलेखानीको बाटो मार्खुभञ्ज्याङ हुँदै दामन पुगेर पनि हिउँको मज्जा लिन सकिने स्थानीय बताउँछन् ।

दामन तथा सिमभञ्ज्याङ क्षेत्रबाट हिमश्रृङ्खलाको अनुपम दृश्य देख्न सकिन्छ । जसमा लोभिने पर्यटकहरु अधिक हुन्छन् । यहाँबाट गणेश, मनास्लु, अन्नपूर्ण, लाङ्टाङ, गौरीशङ्करलगायतका हिमाल तथा हिलश्रृङ्खलाको अनुपम दृश्यावलोकन पर्यटकहरुले गरिरहेका छन् ।

समुन्द्री सतहबाट दुई हजार ४८८ मिटर अग्लो उचाइमा रहेको दामनस्थित भिउ टावरबाट हिमश्रृखलासँगै वरपरका मनोरम दृश्यावलोकन गर्न पर्यटकहरु तछाडमछाड गरिरहेका छन् । पर्यटकीय क्षेत्रका रुपमा चर्चित यस क्षेत्रलाई ग्रामीण पर्यटनको अवधारणामा विकास गरिंदै आएको छ ।

हिन्दू र तथा बौद्धमार्गीको वासस्थान रहेको यहाँको प्रसिद्ध मन्दिर ऋषेश्वरमा वर्षेनी ठूलो मेला लाग्दा धार्मिक पर्यटकहरु आउने गर्छन् । हिउँ परेपछि आएर रमाइलो गर्ने पर्यटकले स्थानीयले निर्माण गरेका होमस्टेमा बसेर ग्रामीण पर्यटनको मज्जा लिन सक्नेछन् ।

हिमपातले कर्णालीको जनजीवन अस्तव्यस्त
कर्णाली प्रदेशअन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ ।
गत पुस र माघको अहिलेसम्म लगातार पाँचौ पटकसम्म भारी हिमपात भएको हो । चौथो पटक परेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ पर्न थालेपछि कर्णालीको जनजीवन अस्तव्यस्त भएको छ ।

केही सयम अगाडि रोकिएको हिमपात पुनः बुधबारदेखि शुरुभएर डोल्पा सदरमुकाम दुनै, हुम्लाको सिमीकोट, जुम्लाको खलङ्गा, मुगुको गमगडी बजार सेताम्य भएका छन् भने आसपासका डाँडापाखा तथा जङ्गल पनि हिउँले ढाकिएका छन् । कर्णाली सदरमुकामदेखि उत्तरी क्षेत्रमा पर्ने उच्च हिमाली भूभागमा तीनदेखि चार फिटसम्म हिउँ जमेको छ ।

लगातार परेको हिमपातका कारण उपल्लो डोल्पामा चारदेखि पाँच फिटसम्म हिँउ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताए ।

हिमपातका कारण सञ्चारका साधन अवरुद्ध भएपछि उपल्लो डोल्पामा पर्ने धो, साल्दाङ, भिजेर, छाका, मुकोट, फोक्सुन्डोलगायत बस्ती सदरमुकामबाट सम्पर्कविहीन भएको उनको भनाइ थियो । सदरमुकाम दुनै, जुफाल, त्रिपुराकोटमा दुई फिटसम्म हिउँ जमेको र हिमपात अझै जारी रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

बाक्लो हिउँ जमेका कारण हिमपहिरोको जोखिम उत्तिकै बढेको छ । शुक्रबार दिउँसो मात्रै हिमपहिरो खसेर थुनिएको सुलीगाड खोला विस्तारै सञ्चालन भएको शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।

हिमपातका कारण आवतजावत गर्न कठिन भएकाले अन्य स्थानभन्दा उपल्लो डोल्पावासीमा समस्या बल्झिएको छ ।
त्यस्तै रुकुम, जाजरकोटका पश्चिमी क्षेत्रमा समेत भारी हिमपात भएको छ भने हिउँले त्यहाँको जनजीवन पनि कष्टकर बनेको छ । अघिल्ला वर्षहरुमा पुस माघमा मुस्किलले एक दुई पटक हिमपात हुने गरे पनि यस वर्ष लागातारको हिमपातले स्थानीयवासी त्रस्त भएको त्रिपुरासुन्दरी नगरपालिका–१ का दुर्गाप्रसाद देवकोटाले बताए ।

“हिजो राति शुरु भएको हिमपात अहिले पनि जारी छ, भिरालो जमीनमा बस्ती भएकाले ढुङ्गा तथा पहिरो खस्छ कि भन्ने डरले गाउँवासी नै डराएका छन” उनले भने ।

पटक–पटकको हिमपातले लगाइएको अन्नबाली उत्पादनका लागि राम्रो हुने भए पनि बड्दो चिसोका कारण दैनिक हुने कामकाजसमेत ठप्प हुनाका साथै घरआँगनमै बाक्लो हिउँ जमेकाले भित्र÷बाहिर गर्न, धारा–पँधेरो पुगेर पानी ल्याउन र शौचालय जानसमेत समस्या भएको देवकोटाको भनाइ थियो ।

वर्षात्सँगैको हिमपातका कारण गाईवस्तु चर्ने डाँडाकाँडा हिँउले छोपिएको र हिउँदको समयका लागि भण्डारण गरेर राखिएका घाँसपातसमेत सकिएको ठूलीभेरी नगरपालिका निवासी अमर कठायतले बताउनुभयो । शुक्रबार रातिदेखि शुरु भएको हिमपात अहिलेसम्म रोकिएको छैन । लगातारको हिमपातका कारण कर्णालीको तापक्रम शुन्यभन्दा कम भएकाले डोल्पालीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।

कर्णालीका चारै विमानस्थल बन्द
शुक्रबार रातिदेखि शुरु भएको हिमपातका कारण कर्णालीका चार वटै विमानस्थल बन्द भएका छन् । पहिलेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ थपिएपछि विमानस्थल बन्द भएका हुन् ।

हुम्लाको हिल्सा, मुगुको ताल्चा, जुम्लाको खलङ्गा विमानस्थलको धावनमार्गमै बाक्लो हिउँ जमेका कारण आज नेपालगञ्जदेखि कुनै पनि उडान हुन नसक्ने समिट एयर नेपालगञ्ज शाखाले जनाएको छ ।

लगातारको हिमपातका कारण धावनमार्गमै बाक्लो हिउँ जमेको छ । विमानस्थल अवरुद्ध भएपछि आन्तरिक उडान ठप्प भएका छन् । हिउँ जमेका कारण जुफाल विमानस्थल पनि अवरुद्ध छ ।

विमानस्थलको धावनमार्गमा दुई फिट हिउँ जमेपछि एकसातासम्म हवाई उडान ठप्प हुनसक्ने अनुमान गरिएको नागरिक उड्डयन प्राधिकरण जुफाल शाखाले गरेकोे छ । हिमपातका कारण दुई दिनदेखि नेपालगञ्जबाट कुनै पनि उडान हुनसकेको छैन ।

जुफाल विमानस्थल अवरुद्ध भएपछि यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ । “डोल्पा जानका लागि तीन दिनदेखि नेपालगञ्ज विमानस्थलमै जहाज कुरिरहेका छौँ, हिउँले अवरुद्ध भएको विमानस्थल नखुलेका कारण डोल्पा जान पाएका छैँनौँ”, नेपालगञ्जमा जहाज कुरिरहनुभएका रमानन्द उपाध्यायले भन्नुभयो । “आज फेरि हिउँ परेकाले एक सातासम्म जान नपाइने अवस्था छ, तीन दिनअघि लिएको टिकट फिर्ता गरेर पैदल जाने तयारी गर्दैछौँ”, उनले भने ।

लगातारको हिमपातका कारण कर्णालीका विमानस्थल अवरुद्ध भएको र जिल्ला बाहिर आवतजावत गर्ने आन्तरिक बाटाघाटासमेत बन्द भएकाले कर्णाली मौसमी नाकाबन्दीजस्तै भएको छ ।

हिमपातले कर्णालीमा पानीको बहाव घट्यो

हुम्ला । लगातार हिमपात भएपछि जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिकाको तुम्कोटस्थित कर्णाली नदीमा पानीको बहाव घटेको छ ।

नाम्खा गाउँपालिका-६ लिमीबाट कर्णालीमा पानीको बहाव घटेको प्रहरी नायब उपरीक्षक रबिनकुमार श्रेष्ठले जानकारी दिए । “के कति कारणले पानीको बहाव घटेको हो, कुनै जानकारी छैन”, उनले भने । उनले यसबारे मुचु-६ तुम्कोटस्थित प्रहरी चौकीमा कार्यरत प्रहरीसँग जानकारी लिने काम भइरहेको बताए । “बाक्लो हिमपातका कारण पानीको बहाव घटेको हुनसक्छ”, श्रेष्ठले भने ।

हावाहुरीले छात्रवासको छाना उडायो
जिल्लामा बिहीबार रातिदेखि चलेको हावाहुरीले सिमकोटस्थित सहारा समूहको छात्रवासको छानो उडाएको छ । छात्रवासमा ५७ फरक क्षमता भएका बालबालिका बसोबास गर्दै आएका छन् । हावाहुरीले १२ कोठे भवनको छाना उडाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हिउँ पन्छाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । यस्तै हावाहुरीले मानसरोवर माविको छानोसमेत उडाएको प्रधानाध्यापक अमरबहादुर शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.