५ वर्षभित्र उत्कृष्ट कम्पनी बन्ने लक्ष्य सहित महालक्ष्मीका ३ नयाँ बीमा योजना

  २०७५ माघ २४ गते १६:५६     विकासन्युज


काठमाडौ । महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडले नयाँ बीमा योजना सार्वजनिक गरेको छ । १९ औं बीमा कम्पनीका रुपमा महालक्ष्मीले यही माघ २७ गते बसन्त पञ्चमीका दिनदेखि सेवा शुभारम्भ गर्ने विहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) रमेशकुमार भट्टराईले नयाँ बीमा योजना सहित सेवा शुभारम्भका बारेमा जानकारी दिएका हुन् ।

कम्पनीले महालक्ष्मी डबल सावधिक बीमा, महालक्ष्मी लगानी फिर्ता म्यादी बीमा तथा महालक्ष्मी सावधिक बीमा गरी ३ किमिमका बीमा योजनाहरु सार्वजनिक गरेको छ । योजना बिक्रीका लागि कम्पनीले बीमा समितिबाट स्वीकृती समेत लिइसकेको छ । पत्रकार सम्मेलनमा सिइओ भट्टराई भने-‘हामीले ल्याएका बीमाका योजनाहरु नेपाली बीमा बजारमा विल्कुलै नयाँ छन् , किनकी महालक्ष्मीले सार्वजनिक गरेको जस्तो अफर अहिलेसम्म कुनै कम्पनीले दिएका छैनन । ’

कान्छो कम्पनीका रुपमा आफूहरु आएकाले अवसर र चुनौती दुवैको सामना गर्नुपर्ने अवस्था रहेको उनले बताए । महालक्ष्मी डबल सावधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधी समाप्ती पछि बीमाङ्कको दोब्बर रकम भुक्तानी गर्ने ग्यारेन्टी गरिएको छ ।

यस्तै, लगानी फिर्ता म्यादी बीमा योजना अन्तर्गत बीमा शुल्क भुक्तानी पश्चात तोकिएको अवधिमा कुनै घटना भएमा एक मुष्ट बीमाङ्क रकम भुक्तानी पाउने र घटना नभएमा अवधि समाप्तपछि जम्मा गरेको बीमा शुल्क जस्ताको त्यस्तै पाइने छ । साथै, तेस्रो महालक्ष्मी सावधिक बीमा योजनामा भने न्यूनतम बीमा शुल्क सुरक्षा पाईने, बचत हुने र कम्पनीको नाफामा समेत सरिक हुन पाईने अवसरहरु रहेका छन् ।

कम्पनीले माघ मनिा भित्रै काठमाडौ, वीरगंज र पोखराबाट कारोबार गर्ने शुरु गर्ने पत्रकार सम्मेलनमा बताइयो । फागुनको दोस्रो साता इटहरी, सुर्खेत, धनगढी र कोहलपूरबाट कारोबार सञ्चालनमा ल्याउने प्रयास भईरहेको कम्पनीले जनाएको छ । साथै, सातै प्रदेशमा कार्यालयहरु एकसाथ औपचारिक रुपमा उद्घाटन गरिने छ ।

कम्पनीले बीमा समितिबाट १३ वटा शाखा कार्यालय सञ्चालको स्वीकृती लिएको छ । कम्पनीको चुक्ता पूँजी २०० करोड रुपैयाँ रहेको छ । संस्थापकहरुबाट १४० करोड रुपैयाँ चुक्ता भईसकेको छ भने ६० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याईएको छ । आगामी असार मसान्तसम्ममा करिब ५० करोड बीमा शुल्क संकलन गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

कम्पनी सञ्चालन भएको २ बर्ष भित्र १० वटा नयाँ बीमा कम्पनीहरु मध्ये पहिलो हुने र आगामी ५ बर्ष भित्र सम्पूर्ण बीमा कम्पनी मध्येमा उत्कृष्ट रहने लक्ष्य रहेको सिइओ भट्राईले पत्रकार सम्मेलनमा बताए । कम्पनीको सञ्चालक समितिको अध्यक्ष मनोरञ्जनरमण शर्मा र सञ्चालकहरु उमेशलाल श्रेष्ठ, मोहनराज जोशी र सुरेश सापकोटा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.