अघि बढ्यो टेलिकमको फोरजी सेवा विस्तार, ६५ लाख जनतामा उच्च गतिको डाटा

२०७५ माघ २० गते १६:१२ विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमको फोरजी/एलटीई सेवा देशभर विस्तार कार्यका लागि सम्झौता सम्पन्न भएको सम्बन्धमा यसैसाथ संलग्न प्रेस विज्ञप्ति प्रकाशन/प्रसारण गरी सहयोग गरिदिनु हुन अनुरोध छ ।

नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि आइतबार सम्झौता सम्पन्न भएको छ । संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको हो ।

फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क-यानको लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता सम्पन्न भएको हो ।

यस सम्बन्धी छुट्टाछुट्टै सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् ।

नेपालभर ६५ लाख क्षमताको फोरजी/एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा ¥यान नेटवर्क तयार गरिने छ । यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ ।

¥यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । सम्झौता पश्चात् एक वर्ष भित्रमा परियोजना सम्पन्न हुने छ ।

नेपाल टेलिकमले मुलुकमै पहिलो पटक मिति २०७३ पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी/एलटीई सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरले सञ्चालन गरी ग्राहकलाई आ-आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुनेछ ।

यसबाट मुलुकभर द्रुत गतिको डाटा तथा अन्य सेवा उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।