डा. रामशरण महतको प्रश्नः स्वदेशी लगानीकर्ता नै आतंकित छन्, विदेशी कसरी आउँछन् ?

  २०७५ माघ २० गते ८:१३     विकासन्युज

काठमाडौं । पुर्व अर्थमन्त्री डा.रामशरण महतले पछिल्लो समय लगानीकर्ताहरु आतंकित भएको बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा आधा दर्जन पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका डा. महतले भने,‘लगानी गर्छु भन्ने मान्छेहरु पनि अहिले हच्किएका छन् । लगानी गरेकाहरुपनि उद्योग नै बन्द गर्नुपर्ने हो कि भन्ने अवस्थामा पुगेका छन् ।’

महतले मुलुकमा वैदेशिक लगानी भित्र्याउनको लागि आकर्षणको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘लगानी ल्याउनको लागि देशको स्थिति सुधार्नुपर्छ ।’ उनले सरकारले समयमै र सही ढंगले निर्णय गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिए । उनले भने,‘यसको लागि व्युरोक्रेसीलाई ईफिसेन्ट बनाउनुपर्छ ।’

सरकारले लगानी सम्मेलन गर्न लागेको विषयमा टिप्पणी गर्दै उनले भने,‘अढाई वर्ष अघि प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो । नविन्द्रराज जोशी उद्योगमन्त्री हुनुहुन्थ्यो । त्यतिवेला कि–नोट नै मैले सम्बोधन गरेको थिएँ । त्यतिवेला १४ मिलियन डलरको लगानी गर्छौं भनेर प्रतिबद्धता आएको थियो । लगानीकर्ताहरुले एम.ओ.यूमा हस्ताक्षर गरेर गएका छन् । सरकारले त्यतिवेला प्रतिबद्धता गरेका लगानीकर्ताहरुसँग फलो–अप गर्नुपर्छ । उनीहरु किन आएनन् भनेर सोध्नुपर्छ ।’

उनले नयाँ सम्मेलन गर्छु भनेरमात्रै प्रचार गर्न नहुने धारणा राखे । उनले भने,‘मेरो सरकारलाई अहिलेपनि सुझाव छ–यो प्रचारवाजी कुरामात्रै होईन । भाषणवाजी कुरामात्रै होईन । काम गरेर देखाउनुपर्यो । मेहनत गर्ने वातावरण बनाउनुपर्यो ।’

उनले पछिल्लो समय महँगीको चरम सिमा नाघेको र जताततै भ्रष्टाचार बढेको पनि आरोप लगाए । उनले भने,‘हजारौं विकास निर्माणका आयोजनाहरु बेवारिसे भएका छन् । बुहवर्षमा ठेक्का लागिसकेका आयोजनाहरु बेवारिसे भएका छन् । केन्द्रले सुरु गरेका योजनाहरु केन्द्रले नै सम्पन्न गर्नुपर्दथ्यो । होईन भने प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ । त्यसको लागि आवश्यक बजेटको पनि व्यवस्था गरिनुपर्छ । तर, त्यो केही पनि गरिएको छैन् ।’

त्यस्तै उनले वार्डडबडी भ्रष्टाचार काण्डबारे पनि निश्पक्ष छानबिन हुनुपर्ने माग गरे । उनले भने,‘यसमा दोष कसको छ ? के छ ? भन्ने कुरा संसदीय समितिले बाहिर ल्याएको छ । यो रिपोर्टबारे निश्पक्ष तवरले छानबिन गर्नुपर्यो । अन्त्यमा त अदालत जान्छ । यसमा अविलम्ब निश्पक्ष तवरले छानबिन होस् । हामी यो अडानमा पछि परेका छैनौं ।’

वर्तमान लगानी बढाउँछु र दश वर्षभित्र मध्यम आय भएका राष्ट्र बनाउने र अर्थव्यवस्थालाई पर क्यापिटा ईन्कम दश हजार डलर पुर्याउनेजस्ता सरकारले अनेक अनेक हावादारी लक्ष्यहरु घोषणा गरिरहेको पनि उनले गम्भिर आरोप लगाए । उनले भने,‘प्रधानमन्त्री डाबोस जानुभयो । यो अत्यन्तै राम्रो कुरा हो । त्यसमा असहमित होईन् । तर, मुल कुरो के हो भने देशको अवस्था नै नसुधारिकन खाली भाषणमात्रै गरेर देश तथा विदेश घुमेरमात्रै अथवा लगानी सम्मेलन गरेरमात्रै लगानी आकर्षित हुने कुरो होईन् ।’

देशमा सुशासन छ कि छैन ? भएका नियम, कानुनहरु राम्रोसँग पालना हुन्छन् कि हुँदैनन् ? भ्रष्टाचार समाप्त भएको छ कि छैन ? न्यायपालिका स्वतन्त्र छ कि छैन ? विधिको शासन लागु भएको छ कि छैन ? देशभित्रका लगानीकर्ताहरु के खोज्दैछन् ? भन्ने कुरामा सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ । उनले भने,‘देशभित्रै काम गर्ने वातावरण र लगानीको वातावरण बनाउनुपर्छ । तर, यी सबै कुरामा निराशजनक स्थिति छ।’

विश्व बैंकले प्रत्येक वर्ष प्रकाशित गर्ने ‘डुईङ बिजनेश रिपोर्ट’ मा नेपालको लगानीको वातावरणको अवस्था घटेको पनि उनले सुनाए । महतले भने,‘नेपालको स्टाटस घटेको छ । उता टा«न्सपरेन्सी ईन्टरनेश्नलको रिपोर्टअनुसार नेपालमा भ्रष्टाचार बढेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.