कम ग्रेड ल्याउनेलाई शिक्षा शास्त्र पढाएर शैक्षिक गुणस्तर बढ्दैन : शिशिर खनाल (टिच फर नेपाल)

  २०७५ माघ १९ गते १८:१५     विकासन्युज

शिशिर खनाल : प्रमुख कार्यकारी अधिकृत, टिच फर नेपाल

शैक्षिक सुधारका लागि सिकाई पद्धतिमा परिवर्तन ल्याउनु पर्ने आवश्यकता महसुस गरी शुरु भएको संस्था हो ‘टिच फर नेपाल’ । सोही संस्थाका एक अभियन्ता हुन् शिशिर खनाल । तनहुँमा जन्मिएको उनले केही बर्ष गाउँमै पढेर जागिरे बुवाको पिछा लागेर विभिन्न ठाउँमा पढ्ने मौका पाएका थिए । कक्षा ७ सम्म सर्लाहीमा अध्ययन गरेर काठमाडौमा एसएलसी सिध्याएपछी प्लस टु त्रिचन्द्र कलेजबाट पूरा गरेका थिए । उनी उच्च शिक्षाको लागि अमेरिका गए र केही समय त्यहाँ काम गरे । फर्केर नेपालको गाउँहरुमा काम गर्ने क्रममा गुणस्तरीय शिक्षालाई गहिरो रुपमा बुझ्ने मौका पाए र टिच फर नेपालको सुरुवात गरे । उनै शिशिर खनालसँग टिच फर नेपालको अभियान कस्तो हो ? अहिले के गरिरहेको छ ? र समग्र शैक्षिक क्षेत्रको बारेमा विकास न्यूजका लागि डोमी शेर्पाले गर्नु भएको कुराकानी:

‘टिच फर नेपाल’ कस्तो अभियान हो ?
’टिच फर नेपाल’ शैक्षिक र सामाजिक न्यायको लागि युवाहरुबीचको अभियान हो । नेपालमा सामुदायिक विद्यालय र निजी विद्यालयको नतिजामा ठूलो भिन्नता देखिएको छ । यो केवल डिग्रीको भिन्नता मात्र नभएर सामाजिक तथा आर्थिक अवस्थाको परिमाण पनि हो । जसमा तुलनात्मक रुपमा आर्थिक स्थिति कमजोर भएका परिवार तथा बालिकाहरु प्रायः सरकारी स्कुलमा गएका देखिन्छ यसको अर्थ नेपालमा अझैपनि सामाजिक विभेद रहेको छ । यी दुई शिक्षा प्रणालीको फरक नतिजा हुने बित्तिकै यसले ब्यक्तीको जीवनभरी असर गर्छ, यसकारण मानिसहरुमा एक प्रकारको विभेद सिर्जना हुन्छ ।

कोही मान्छे छोरा वा छोरी भएर जन्मियोस्, गाउँमा जन्मियोस् कि शहरमा जन्मियोस्, धनी भएर जन्मियोस् अथवा गरीब भएर जन्मियोस् भन्ने कुराले उनको शिक्षामा फरक नपारोस् भने हाम्रो मुख्य उदेश्य हो । हाम्रो मूलधारणा सार्वजनिक शिक्षा बलियो हुनपर्छ र त्यसको लागि योगदान गर्न सक्ने युवाहरुको जमात तयार गर्ने हो ।

‘टिच फर नेपाल’ को नेतृत्वमा को को हुनुहुन्छ ?
हाम्रो नेतृत्व परिषदमा नेपालमा नाम चलेका ब्यक्तित्वहरु जस्तै केदारभक्त माथेमा, गगन थापा, मनप्रसाद वाग्ले, शेखर गोल्छा, अनिलकेशरी शाह लगायत सामेल हुनुहुन्छ । उहाँहरुको नेतृत्वमा हाम्रो कार्यकारी कक्षमा २५ जनाको फुलटाइम टिम छ, त्यसले दिनहुँ गरिने तालिम दिने, अप्लिकेसन लिने जस्ता काम गर्छौँ ।

एकदमै राम्रो नम्बर ल्याएर पास गर्यो भने उसलाई कसैले पनि शिक्षक बन भनेर भन्दैनन्, सबैले उसलाई अन्य बिषय पढ भनेर सल्लाह दिन्छन्, तर एजुकेसन पढ भनेर कसैले पनि भन्दैनन् ।

तपाईलाई ‘टिच फर नेपाल’ मा लागेर भविष्यमा केही गर्नुपर्छ भन्ने सोचको विकास कहिले, कुन मोडमा आएर उत्पन्न भयो ?

सामुदायिक विकासलाई मध्यनजर गर्दै अमेरिकाबाट नै नेपालमा केही गर्नुपर्छ भन्ने सोचका साथ म नेपाल आएको थिएँ । महात्मा गान्धीको फिलोसोफीबाट म एकदमै प्रभावित भएको थिएँ । एउटा गान्धीय वार्डमा काम गर्ने क्रममा गाउँ गाउँमा भएको शिक्षाको अवस्थालाई मूल्याङ्कन गर्दै जाँदा गुणस्तरीय शिक्षाको समस्या देखियो । राम्रा शिक्षकहरुको अभावको बारेमा विभिन्न गाउँका स्थानीयवासीहरुको कुरा सुनेपछि अब शिक्षामा नै केही गर्नुपर्छ भन्ने सोचको विकास भई ’टिच फर नेपाल’ को स्थापना भएको हो । वि.स २०६८/०६९ बाट शिक्षाको विषयमा मैले गम्भीर रुपमा सोच्न थालेँ, त्यसपछि २०६९ को दशैँपछि हामीले ’टिच फर नेपाल’ को पहिलो ब्याच खटाउनको लागि तालिम दिई २०७० को बैशाखदेखी विद्यालयमा पठाई काम शुरु गरेको हौं ।

नेपालमा शिक्षाको महत्व र शिक्षाको स्थिति कस्तो रहेको छ ?
शिक्षा दुई प्रकारको हुन्छ, औपचारिक र अनौपचारिक । अनौपचारिक शिक्षा त हामी जीवनमा निरन्तर रुपमा सिकिरहेका हुन्छौँ । औपचारिक शिक्षाको कुरा गर्न पर्दा नेपालमा यसको सुरुवात २००७ साल पछिमात्र नागरिकको पहुँचमा पुगेको हो । त्यस अगाडि दरबार स्कुल तथा केही संस्कृति पढाउने विद्यालयहरुमा मात्र शिक्षा दिने गरिन्थ्यिो । हाम्रोमा बिशेष गरी नागरिकको पहुँचमा शिक्षा बल्ल २००७ सालको क्रान्ति पछि मात्र पुगेको हो । २०४६ सालको जनअन्दोलन पछी मात्र शिक्षा क्षेत्रको बिकास राम्रोसँग भएको देखिन्छ । पछिल्लो १५–२० बर्षको रेकर्ड हेर्यो भने चाँही बिकासशील देशको सन्दर्भमा नेपालमा शिक्षाको पहुँच राम्रो देखिन्छ । ५ देखी ६ बर्ष उमेरको झ्ण्डै ९७ प्रतिशत बालबालिका विद्यालय पुगेको सरकारको तथ्यांकले देखाउँछ । त्यो हिसाबले हाम्रो साक्षरताको दर धेरै रहेको छ । त्यस्तै, वयस्क साक्षरता ८० प्रतिशत देखिएको छ । साक्षरताको प्रतिशत राम्रो भएतापनि समस्या भने १०० जनाले कक्षा १ मा भर्ना भए भने त्यो पछी १० कक्षामा पुग्दा १० प्रतिशत भएर गएको देखिन्छ । यसले २ तिहाई विद्यार्थी कक्षा १० सम्म नपुगेको देखिन्छ । नेपालको परिवेशमा सरकारी भन्दा निजी स्कुलमा पढ्नेले राम्रो शिक्षा पाएको देखिन्छ ।Image result for teach for nepal

शिक्षण पेशा प्रतिको मानिसहरुको धारणा अझै पनि राम्रो देखिदैन, यसको कारण के होला ?
शिक्षण पेशालाई अझैपनि समाजमा उच्च स्तरीय पेशाको रुपमा नलिनु दुई वटा कारण छन् । तथ्याङ्क हेर्दै गर्दा सरकारी स्कुल र निजी स्कुलको विद्यार्थीमा गणित, विज्ञान र अंग्रेजी जस्तो बिषयमा एकदमै बढी भिन्नता देखियो । पब्लिक स्कुलबाट एसएलसी फेल हुने ९० प्रतिशत विद्यार्थी यी बिषयहरुमा कमजोर देखिए । किन त सामाजिक, नेपाली, स्वास्थ्य÷जनसंख्यामा चाहीँ केटाकेटीहरु पास हुने तर अन्य बिषयमा चाँही फेल हुने कारणको अध्ययन गर्यौं ।

हामी कहाँ एसएलसीपछि नै हाम्रो करियरको लागि बाटो छुट्टिने गर्छ । एकदमै राम्रो नम्बर ल्याएर पास गर्यो भने उसलाई कसैले पनि शिक्षक बन भनेर भन्दैनन्, सबैले उसलाई अन्य बिषय पढ भनेर सल्लाह दिन्छन्, तर एजुकेसन पढ भनेर कसैले पनि भन्दैनन् । पछिल्लो समय ग्रेड कति ल्यायो भने के पढ्न पाउने भन्दा सबैभन्दा कम ल्यायो भने मात्र शिक्षा संकाय पढ्न पाउने भनिएको छ । हाम्रो संस्कारले पनि शिक्षा सम्मानजनक पेशा हो र त्यस पेशाप्रति राम्रो मानिसहरुलाई तान्न पर्छ भनेर भन्दैन भने अर्कोतर्फ सरकारी नीतिले पनि त्यो भन्दैन । जब हाम्रो समाज र सरकारको नीति दुवैले शिक्षक सम्मानजनक पेशा हो भनेर भनिरहेको छैन । यसले गर्दा कमजोर विद्यार्थीहरु शिक्षक बन्ने भए, राम्रो पढ्ने मान्छे अन्य पेशामा संलग्न हुने भए ।

सही प्लेटफर्म हुँदा नेपाली युवाहरुमा आफैँले केही गरेर देशको बिकासमा सहयोग पुर्याउँ भन्ने एकदमै ठूलो ईच्छा छ । त्यो ईच्छालाई संगठित गरेर प्लेटफर्म दिने काम टिच फर नेपालले गर्दै आएको छ ।

कस्तो ब्यक्तीले टिच फर नेपालको लागि अप्लाई गर्छन् र तपाईंहरु आफ्नो फेलो कसरी छान्नु हुन्छ ?
हाम्रोमा अप्लाई गर्ने मानिसहरु ठूलो संख्यामा रहेका छन् । शिक्षाशास्त्र पढेकाहरु मात्र नभएर हरेक विधाका मानिसहरुले टिच फर नेपालमा काम गर्नको लागि आवेदन दिने गरेका छन् । हामीले हेर्ने भनेको शैक्षिक योग्यता, उहाँहरुको हाम्रो अभियानप्रतिको बुझाई र प्रतिबद्धता हो, किनभने धेरैलाई यो पनि लाग्न सक्छ कि यो ६ महिना गरेपनि हुन्छ वा १ बर्ष गरे पनि हुन्छ । यो गलत हो, हाम्रोमा २ बर्षको फुल टाईम कमिटमेन्ट चाहिन्छ चाहिन्छ, त्यो बाहेक उहाँहरुको समाजप्रतिको बुझाई र पढाइ बाहेक अन्य कुराको संलग्नतालाई हेरेर हामी आफ्नो अभियानमा सामेल गराउँछौ ।

विद्यार्थीमा बिकास हुने त छँदै छ, तर फेलोमा चाँही यो कार्यक्रमले कसरी सहयोग गर्छ ?
हामीले उहाँहरुलाई पहिलो ६ हप्ता ट्रेनिङ दिएर मात्र गाउँमा पढाउन पठाउँछौ । त्यसपछी उहाँहरु हरेक महिना भेटेर क्लस्टरमा आफ्नो समस्या र ईनोभेसनहरु सेयर गर्नुहुन्छ । हरेक तीन महिनाको एकचोटी हामी उहाँहरुलाई ४ दिने ट्रेनिङ पनि दिने गरेका छौँ । उहाँहरुले कक्षाकोठा र समाजमा देखेको समस्या र त्यसलाई कसरी हल गर्ने साथसाथै नेपालको ऐतिहासिक कुराहरु कसरी बुझ्ने र एउटा शिक्षकको अभियन्ताको रुपमा हामी उनीहरुलाई दुई बर्षसम्म मात्र नभएर दुई बर्ष पछी पनि काम गर्नुपर्छ है भनेर बुझाईरका हुन्छौँ । हामीले समाजको समस्याहरुलाई हेर्ने दृष्टिकोणमा उहाँहरुलाई मद्त पुर्याउँछौँ ।

हरेक बर्ष कति युवाहरुले अप्लाई गर्नुहुन्छ ?
यो बिस्तारै बढ्ने क्रममा छ । सबैभन्दा पहिलो बर्ष ५०० जनाले अप्लाई गर्नुभएको थियो भने अहिले १७६० जनाले अप्लाई गर्नुभएको छ । हामीले पहिलो साल ३० जना लियौं, पछिल्लो बर्ष ६० जना र यसवर्ष नि ६० जना नै लिनेछौँ ।

नेपालली युवाहरु के पोजिटीभिटीतर्फ अघि बढेका हुन् ?
पक्कैपनि यसमा त कुनै दुईमत नै छैन । सही प्लेटफार्म हुँदा नेपाली युवाहरुमा आफैँले केही गरेर देशको बिकासमा सहयोग पुर्याउँ भन्ने एकदमै ठूलो ईच्छा छ । त्यो ईच्छालाई संगठित गरेर प्लेटफर्म दिने काम टिच फर नेपालले गर्दै आएको छ । तर, अब हामीसँग पनि न्युनतम श्रोत र नीति नियमको कारणले बढाउन सकिरहेका छैनौँ । किनभने पढाउनु सजिलो कुरा होईन । त्यसैले जती युवाहरु लिन चाहिरहेका छौँ, त्यती हामीले लिन सकिरहेका छैनौँ । तर स्पष्ट रूपमा नेपालमा मात्र नभएर विदेशमा बसेका नेपाली युवाहरुपनि अहिले टिच फर नेपालको फेलोको रुपमा गाउँघरमा कार्यरत छन् । जहाँ भएपनि नेपालको समृद्धि र बिकासमा योगदान गरिरहेका छन् ।

राम्रा शिक्षकहरुको अभावको बारेमा विभिन्न गाउँका स्थानीयवासीहरुको कुरा सुनेपछि अब शिक्षामा नै केही गर्नुपर्छ भन्ने सोचको विकास भई ‘टिच फर नेपाल’ को स्थापना भएको हो ।

फेलोहरु कुन कुन जिल्लामा कार्यरत छन् त ?
हामी सबैभन्दा पहिला ललितपुर, सिन्धुपाल्चोक र धनुषामा कार्यरत थियौँ । अहिले हामीले थपा तीन जिल्ला पर्सा, लम्जुङ र दाङमा काम गरिरहेका छौँ ।

फन्डिङको व्यवस्था कसरी गर्नुहुन्छ ?
यो कार्यक्रम सञ्चालन गर्नको लागि नेपाली ब्यक्तीहरुले हाम्रो मन्थली गिभिङ क्याम्पियन महिनाको पाँचसय, हजार, दुई हजार, ५ हजार दिने गर्नुहुन्छ । अर्को श्रोत भनेको हामी जुन समुदाय, स्थानीय सरकार विद्यालयसँग काम गर्छौ, वहाँहरुपनि हाम्रो श्रोत हुनुहुन्छ । तेस्रो नेपालको कर्पोरेट सेक्टर रहेको छ । यसमा झन्डै ११ वटा कम्पनीहरुले हामीलाई सहयोग पुर्याउँदै आउनुभएको छ । चौथो चाँही नेपाल, बाहिर भएका नेपाली साथीहरु र केही विदेशी साथीहरुले पनि ५–१० डलर सहयोग गर्नुहुन्छ । पाँचौ चाहीँ अन्तराष्ट्रिय संघसस्थामा जहाँ चाहीँ अप्लाई ग्राण्टहरु खुलेको थाहा भएपछी हामीले हाम्रो कार्यक्रमलाई सहयोग गर्नु भनी ग्रान्टहरु लेखेर अप्लाई गर्छौँ । तर मेजोरोटी फन्ड चाँही नेपालबाट उठाउँछौ ।

के छन् समस्या ?
हाम्रो च्यालेज भनेको हाम्रो कामको प्रभाव देखेर सबैतर्फबाट हाम्रो संख्या बढाउन माग भईरहेको छ, जुन हामीले खोज्छौँ पनि । तर, त्यती सक्षम युवाहरु पाईरहेका छैनौँ । अप्लिकेसन भोलुम धेरै देखिन्छ, तर हामीले खोजेको गुणस्तर कम देखिन्छ । त्यसैले हामीले जति समुदायमा काम गर्न खोजेका छौँ, त्यो भने गर्न सकिरहेका छैनौं ।

केही समय अगाडि ‘टिच फर नेपाल’ एउटै नाम जस्तो देखिने ’टिच नेपाल’ भन्ने संस्थासँग नाम जुध्न गएर समस्यामा परेको थियो । टिच फर नेपाली र टिच नेपाल दुई भिन्न संस्था हुन् । ‘फर’ भन्ने शब्दले यी दुई भिन्न संस्था हुन् भन्ने स्पस्टसँग देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.