बीमा समितिले एक्चुरीको सूची तयार पार्ने, ४५ दिन भित्र आवेदन दिन आग्रह

  २०७५ माघ १७ गते १७:०१     विकासन्युज

काठमाडौँ । बीमा समितिले बीमांकक (एक्चुरी) को सूची तयार पार्ने भएको छ । समितिले विश्वव्यापीरूपमा सूचना प्रकाशित गरी बीमांककको सूचीमा सहभागी हुन आग्रह गरेको हो ।

नेपालमा बीमा व्यवसाय शुरु भएको लामो इतिहास भएपनि नेपालभित्र बीमांकक नभएपछि स्वदेशमा नै दक्ष जनशक्ति उपलब्ध गराउने नभए मात्रै विदेशी कम्पनीलाई सहभागी गराउने लक्ष्यका साथ उक्त सूचना सार्वजनिक गरिएको हो ।

समितिले केही दिन पहिले सार्वजनिक सूचना प्रकाशित गरी ४५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । समितिले कम्पनी र नियमनकारी निकायबीच आवश्यक समन्वय, बीमा व्यवसायको विश्वसनीयताका लागि पनि उक्त प्रयास गरिएको जनाएको छ ।

नेपालमा जीवन बीमा र निर्जीवन बीमा गरी कूल ३९ कम्पनी कार्यरत छन् । एक बीमा कम्पनीको मूल्याङ्कनसहितको लेखापरीक्षणका लागि न्यूनतम रु चार लाख देखि चार लाख ५० हजारसम्म खर्च हुने गरेको छ ।

यस्तै बीमा समितिले केही समय पहिलेदेखि लागू गरेको ‘एनएफआरएस’का लागि समेत सोही परिमाणमा रकम खर्च हुने गरेको छ । समितिले बीमाकंकको उपाधि हासिल गरेकालाई सूचीमा सहभागी हुन आग्रह गरेको हो ।

नेपालका अधिकाशं बीमा कम्पनीको लेखापरीक्षण नेपालमा नभई छिमेकी देश भारतमा हुने गरेको छ । राष्ट्रिय पूँजी विदेश गइरहेको पाइएपछि समितिले स्वदेशमा नै काम गराउने लक्ष्यसहित सूची तयार पार्न लागेको हो ।

समितिले बीमाकंकको नाम, नम्बर र ठेगानासमेत सूचीमा समावेश गर्ने भएकाले बीमा कम्पनीले सहजै उनीहरूलाई सम्पर्क गर्न सक्नेछन् । जानकारहरूका अनुसार नेपालमा बीमाकंकको उपाधि हासिल गरेकाको सङ्ख्या असाध्यै न्यून छ । जसका कारण ठूलो धनराशि विदेशिइरहेको छ । बीमा समितिले बीमाकंकको सम्पूर्ण विवरणलाई अध्ययन गरेर सार्वजनिक गर्ने जनाएको छ ।

युनाइटेड इन्स्योरेन्स कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बीमा कम्पनीको लेखापरीक्षण गराउन स्वदेशमा नै जनशक्ति खोजी गर्ने प्रयासलाई स्वागत गरेका छन् । समयमा नै ‘एक्चुरियल’ लेखापरीक्षण हुन नसक्दा बीमा कम्पनीले तोकेको समयमा साधारणसभा गर्नसमेत पाएका छैनन् ।

पछिल्लो पटक ‘एनएफआरएस’ लागू भएका कारण पनि समस्या परेको छ । समितिले भारत, बेलायत, अष्टे«लियाका पाँच कम्पनीलाई बीमाकंकको काम गर्ने गरी सूचीमा राखेको छ । नेपाल स्टक एक्सचेञ्जमा विभिन्न सात जीवन बीमा कम्पनी र १५ निर्जीवन बीमा कम्पनी सूचीकृत छन् । केही कम्पनी भने सूचीकृत भएका छैनन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.